कांग्रेस नेताहरूलाई भेटेर ओलीले भने, ‘लोकतन्त्रका लागि सँगै लडेका हौँ, सहकार्य गरेर जाऔँ’

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली एमाले नेताहरूसहित दिउँसो साढे ४ बजे देउवानिवास बुढानीलकण्ठ पुगेका थिए । 

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, जवाफमा कांग्रेस नेताहरूले विश्वासको मत दिन नसक्ने स्पष्ट जवाफ दिएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । 

‘लोकतन्त्रका लागि सँगै लडेका हौँ, मलाई विश्वासको मत दिनुहोस्, सहकार्य गरेर अगाडि जाऔँ,’ भेटमा प्रधानमन्त्री ओलीले भनेको उद्धृत गर्दै डा. महतले सञ्चारकर्मीहरूसँग भने, ‘तर, हामीले उहाँको प्रस्तावलाई स्पष्ट अस्वीकार ग¥यौँ । तपाईंले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहनुभएको छ । हामी तपार्इंलाई विश्वासको मत दिन सक्दैनौँ भनेर स्पष्ट भन्यौँ ।’ 

भेटमा कोरोना महामारी र त्यसका कारण मुलुकमा निम्तिएको संकटका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको डा. महतले बताए । 

भेटका लागि प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत बुढानीलकण्ठ पुगेका थिए । 

नेताहरूबीच डेढ घन्टा छलफल भएको थियो । तर, भेटपछि प्रधानमन्त्री ओलीसहित एमाले नेताहरू भने विनाप्रतिक्रिया बाहिरिए ।

भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायत सहभागी थिए । 

प्रधानमन्त्री ओलीले विशेष अधिवेशनमार्फत २७ वैशाखमा विश्वासको मत लिँदै छन् । कांग्रेसले भने ओलीलाई विश्वासको मतमा असफल बनाउने निर्णय गरिसकेको छ ।

मंगलबार मात्रै कांग्रेसका शीर्ष नेताहरूको बैठकले ओलीलाई विश्वासको मत नदिने, विश्वास मतमा असफल बनाउनका लागि अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो । 

सुझावित समाचार