बोयर बोकाको माग बढ्दो, पाठापाठी नजन्मिँदै बैना

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

पहिलोपटक अफ्रिकाबाट बोयर जातका बाख्रा तथा बोकापालन सुरु गरेको सुनौला बाख्रा फार्म मन्थलीले किसानको मागअनुसारको बाख्रा तथा बोका पु¥याउन सकेको छैन । बोयर जातका बाख्रा तथा बोकाको माग अत्यधिक आउन थालपछि फार्मले माग पूरा गर्न नसकेको हो ।

किसानहरूले बाख्रा नब्याउँदै बाख्राको पेटमा भएको पाठापाठीको समेत बैना गर्ने गरेका छन् । बोयर जातका बाख्रा उन्नत र बढी तौलको हुने भएकाले रामेछापका पशुपालक किसानको रोजाइमा परेको हो । 

बाख्रापालक किसानहरूको आय–आर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले सुनौला बाख्रा फार्मले अफ्रिकाबाट बाख्रा खरिद गरी जिल्लामा बाख्रा फार्म सञ्चालन गरेको हो । बोयर जातका बोकाबाट लोकल बाख्रामा क्रस गराएर जन्मने पाठापाठीको माग अत्यधिक मात्रामा रहेको सुनौला बाख्रा फार्मका प्रोप्राइटर साधुराम ढुंगेलले जानकारी दिए । 

उनले भने, ‘बोयर जातका बाख्रा र बोकाको जिल्लामा अत्यधिक मात्रामा माग रहेको छ । जिल्लाबाहेक ओखलढुंगा, दोलखा, काभ्रे, सिन्धुली, सोलु, सिन्धुपाल्चोक र भक्तपुरलगायतका ३५ वटा जिल्लामा फार्मबाट उत्पादित बोका तथा बाख्राहरू बिक्री–वितरण गरिसकेका छौँ ।’ 

सुझावित समाचार