अग्रिम भुक्तानी दिएर भारतबाट किनेको १० लाख डोज खोप अझै अनिश्चित

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाल सरकारले दिल्लीस्थित सेरम इन्स्टिच्युट इन्डियालाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत रकम अग्रिम भुक्तानी दिएकोमा अहिलेसम्म नेपालले १० लाख डोज खोप ल्याइसकेको छ । सेरमबाट १० लाख डोज सरकारले प्राप्त गर्न बाँकी छ ।

सरकारले सेरमलाई झन्डै एक अर्ब भुक्तानी गरिसकेको छ । तर, अमेरिकाबाट कच्चा पदार्थ नआएका कारण खोप उत्पादन बन्द भएको भन्दै सेरमले नेपाल, बंगलादेशलगायतका देशलाई खोप दिन सकेको छैन । 

खोप नआएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २७ चैतमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग टेलिफोन संवाद गरेर दोस्रो चरणको खोपका लागि सहजीकरण र सहयोग गरिदिन आग्रह गरेका थिए । भारतबाट खरिद भएको खोप नआए दोस्रो चरणको खोप कार्यक्रम नै प्रभावित हुने र नेपाललाई अत्यन्त अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि आग्रह गरेका थिए ।

भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई खोप उपलब्ध गराइदिने आश्वासन दिएका थिए । त्यसपछि वैशाख १५ सम्म खोप आउने अपेक्षा नेपालको थियो । तर, सेरमबाट खोप आउने अझै निश्चित नभएको सरकारी अधिकारीहरू बताउछँन् । 

भारतले नेपाललाई ८ माघमा अनुदानका रूपमा दिएको १० लाख डोज कोभिसिल्ड खोप अग्रमोर्चामा खटिएकाहरूलाई लगाएको थियो । त्यसपछि सरकारले खरिद गरेर १० लाख डोज खोप ल्याएको थियो ।

भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई एक लाख डोज खोप पनि हस्तान्तरण भइसकेको छ । भारतबाट नेपालले अहिलेसम्म जम्मा ११ लाख डोज खोप अनुदानमा पाएको छ । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइसकेको छ । खोपको अभावमा खोप अभियान नै प्रभावित भएको छ ।

See More On

सुझावित समाचार