शेरबहादुर देउवा भन्छन्– लुम्बिनी घटना निन्दनीय, नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न चेतावनीसहित अपिल

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको घटना संविधानको ठाडो उल्लंघन, बलमिच्याइँ र घोर अलोकतान्त्रिक प्रवृत्तिको भएको भन्दै निन्दा र भत्र्सना गरेका छन् । देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गरेर केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर रहेको बताएका छन् । 

उनले भनेका छन्, ‘नेकपा एमालेले प्रदेश सभामा प्रस्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनीतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन । नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रस्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मूल्य–मान्यताविपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ । संविधानबमोजिम संसद्मा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मूल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो । केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ । बलमिच्याइँले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारु गरेर संसद्को बहुमतअनुरूप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपिल गर्दछु ।’

सुझावित समाचार