आज सास फेर्न गार्हो बनाउने हरेक रोगको उपचारमा अक्सिजन प्रयोग गरिन्छ, तर स्थिति सधैँ यस्तो थिएन
कोरोना महामारीको दोस्रो लहरबाट भारतमा बेहालको स्थिति उत्पन्न भएको छ । चिकित्सकीय अक्सिजनमा अचानक देखिएको अभावले पनि भारतको स्थिति थप विकराल बनेको हो । हाइपोक्सिया गराउने जुनसुकै रोगको उपचारको सबैभन्दा सजिलो माध्यम अक्सिजन नै हो । बिरामीले सास फेर्न संघर्ष गरिरहेको समयमा अक्सिजनको नियमित आपूर्तिले चमत्कारपूर्ण काम गर्छ । हाल चिकित्सक क्षेत्रमा व्यापक प्रयोग हुने अक्सिजनलाई चिकित्सा क्षेत्रले स्विकार्न निकै लामो समय लागेको थियो । दुई सय वर्षको आनाकानीपछि बल्ल चिकित्सा क्षेत्रले अक्सिजनलाई पूर्ण रूपमा अँगाल्यो । अक्सिजनको इतिहास सन् १७७० को दशकबाट सुरु हुन्छ । स्विडिस फर्मासिस्ट कार्ल स्किल र ब्रिटिस वैज्ञानिक जोसेफ प्रिस्टेले अलग रूपमा अक्सिजनलाई अन्य ग्यासबाट अलग्याउन सफल भएका थिए । तर, अक्सिजनको पहिचानको मुख्य श्रेय भने प्रिस्टेले मात्र पाए ।
नयाँ ग्यासले बलिरहेको मैनबत्तीलाई थप चहकिलो पारेको देखेपछि प्रिस्टले अक्सिजन केही रोगको उपचारमा उपयोगी हुन सक्ने अनुमान गरेका थिए । तर, उनले अक्सिजनबाट जोखिम हुन सक्ने विचार पनि व्यक्त गरे । नयाँ ग्यासको बिरामीमा पर्ने असरको परीक्षण गर्न प्रिस्टले, केही इन्जिनियर र वैज्ञानिक मिलेर बिरमिङ्हममा न्युमाटिक इन्स्टिच्युसन स्थापना गरे । यो समूहले अक्सिजनको प्रयोग कुन निश्चित रोगको उपचारमा सहयोग पुर्याउने भन्ने यकिन गर्ने उद्देश्य लिएको थियो । तर, तिनको खोजबाट कही निष्कर्ष निक्लिएन । तथापि, परीक्षणका लागि उनीहरूले बनाएका धेरै उपकरण आज पनि प्रयोगमा आइरहेका छन् ।
न्युमाटिक इन्स्टिच्युसन बन्द भयो, तर अर्धज्ञानकै आधारमा रोग निको पार्ने दाबी गर्नेहरूले अक्सिजनले धेरै रोग निको पार्ने दाबी गरिरहे । तिनले बिरामीलाई अक्सिजन भनेर दिने चिजमा अक्सिजन त्यति सघन नहुने भएकाले त्यो खुला हावाबराबर नै हुन्थ्यो । झारफुक र अन्य जाली उपचारमा व्यापक प्रयोग हुन थालेपछि उन्नाइसौँ शताब्दीको अन्त्यतिर अक्सिजनको नाम यस्तै चिकित्साको पर्यायवाची हुन पुग्यो ।
सन् १७७० मा पहिचान भएको अक्सिजनको चिकित्सक फाइदा सुरुदेखिनै चर्चामा थियो, तर चिकित्सकीय समुदायले यसलाई झन्डै दुई शताब्दीसम्म प्रयोग गर्न हिचकिचायो । ५० वर्षअघिसम्म धेरै डाक्टर अक्सिजनले बिरामीलाई हानि गर्ने सोच्थे ।
सन् १८९० मा डा. अल्फ्रेड ब्लोड्गेट नामक चिकित्सककहाँ एक न्युमोनियाकी बिरामी जचाउन आएकी थिइन् । अल्फ्रेडले ती बिरामीको स्थिति निकै खराब रहेको र उनलाई हल्का सजिलो बनाउन मात्र सकिने सोचेका थिए । त्यही उद्देश्यले उनले बिरामीलाई अक्सिजनको क्यानिस्टर जोडेर ग्यास खोलेर छाडिदिए । यो कुनै बिरामीमा निरन्तर अक्सिजन प्रयोग भएको सम्भवतः पहिलो घटना हुन सक्छ । अल्फ्रेडले बिरामी महिलाको श्वास–प्रश्वास सामान्य अवस्थामा फर्किएको पाए । त्यसपछि उनले अक्सिजनले जीवन जोगाउन सक्ने भन्दै एक आलेख लेखे ।
अल्फ्रेडको आलेखपछि अक्सिजनका प्रयोग सम्बन्धमा अन्य अनुसन्धानदाताले पनि प्रयोग सुरु गरे । तर, धेरै प्रयोगमा अक्सिजन फोक्सोमार्फत दिइएन । केहीले छाला छेडेर अक्सिजन दिए, केहीले पिसाब नलीबाट र केहीले पेटसम्म पुग्ने गरी । स्कटिस वैज्ञानिक जोन स्कट हाल्डेनले यी सबै विधिलाई बकवास साबित गर्दै अक्सिजन उपयोगी हुन सक्ने विधिबारे प्रकाश पारे । उनको अनुसन्धानले अक्सिजन फोक्सोबाट दिनुपर्ने र सकारात्मक प्रभावका लागि उच्च गाढा मात्रा निरन्तर दिनुपर्ने देखायो । सन् १९१७ मा हाल्डेनले ‘थेरापेटिक एड्मिनिस्ट्रेसन अफ अक्सिजन’ नामको ऐतिहासिक सोध आलेख प्रकाशित गरे । आलेख छापिएको समय निकै उपयुक्त रह्यो । पहिलो विश्वयुद्धका दुवै युद्धरत पक्षले एकअर्काविरुद्ध विशाक्त ग्यासको प्रयोग गरेका थिए । हाल्डेनले विषालु ग्यासको आक्रमण भोगेका सेनालाई अक्सिजन दिने उपकरण विकास गरे । लामो परीक्षणपछि ब्रिटेनले सेनाको प्रयोगका लागि सजिलै ओसार–पसार गर्न सकिने उपकरण विकास गर्यो । विश्वयुद्धमा सफल प्रयोगपछि पनि चिकित्सकीय क्षेत्रले अक्सिजनलाई स्विकारेन । यसका लागि अर्को ५० वर्ष कुर्नुपर्यो ।
धेरैपछिसम्म अधिकांश डाक्टरले अक्सिजनको प्रयोगले बिरामीलाई हानि गर्ने बताइरहे । हुन त केही चिकित्सकले बिरामीलाई समय–समय बिराएर अक्सिजन दिने गर्थे । हाल्डेनले यस्तो प्रक्रियाले फाइदाभन्दा हानि गर्ने र फाइदाका लागि निरन्तर अक्सिजन दिनुपर्ने पक्षमा आवाज उठाइरहे । सन् १९६२ मा आएर चिकित्सकीय अनुसन्धानदाताले अन्ततः हाल्डेनको दाबीलाई समर्थन जनायो । बिस्तारै निरन्तर अक्सिजन दिने थेरापीलाई थप डाक्टरले स्विकार्दै गए ।
अक्सिजनको प्रयोगले कोभिड–१९ का बिरामीलाई निकै सकारात्मक असर पारेको देखिन्छ । महामारीको सुरुका दिनमा विभिन्न देशको अक्सिजन दिने फरक तरिकाले जीवन–मृत्युमै भिन्नता ल्याएको देखाएको छ । अन्य अध्ययनमा बिरामीलाई सुरुमै अक्सिजन दिएमा भेन्टिलेटरमा राख्नु नपर्ने देखिएको छ । यो सजिलो उपचारमाध्यम हामीमाझ तीन शताब्दीदेखि नै उपलब्ध थियो र यो युद्ध मैदानदेखि अस्पतालसम्म विभिन्न प्रयोजनका निम्ति प्रयोग गर्न सकिन्छ ।
(स्टेफेन मिह्म जर्जिया विश्वविद्यालयका इतिहासका एसोसिएट प्रोफेसर हुन्)
ब्लुम्बर्गबाट