झन् ठूलो भिडमा नेपाली

खोप लगाउन अस्पतालमा भिड, गाउँ फर्कन बसपार्कमा भिड, विदेश जान पिसिआर गर्नेको भिड

बुधबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

खोप लगाउन अस्पतालमा भिड

चिनियाँ खोप लगाउन मंगलबार निदान र किस्ट अस्पतालमा देखिएको भिड । संक्रमणले उच्च गति लिएपछि खोप लगाउनेको भिड बढ्दा राजधानीका १९ अस्पतालको अवस्था यस्तै छ ।

निदान हस्पिटल
किस्ट हस्पिटल


गाउँ फर्कन बसपार्कमा भिड

निषेधाज्ञाबीच रोजगारी गुम्ने र जीवन जटिल हुने त्रासले जिल्ला फर्कनेको भिड बढेको छ । पछिल्लो दुई दिनमा एक लाख १० हजारले राजधानी छाडे । मंगलबार बसपार्कमा देखिएको भिड ।



विदेश जान पिसिआर गर्नेको भिड

रोजगारी खोज्दै विदेश जानेको संख्या घटेको छैन, हरेक दिन चार सय नेपाली अहिले पनि खाडी र मलेसिया जान्छन् । पिसिआर गराउन मंगलबार स्टार हस्पिटलमा देखिएको भिड ।

......

सरकारले निषेधाज्ञा लागू गर्ने घोषणा गरेपछि काठमाडांैबाट घर बाहिरिनेको संख्या अत्यधिक बढेको छ । बिहीबारबाट निषेधाज्ञा लागू गर्ने घोषणा भएसँगै यात्रुबाहक सवारीसाधनमा सिट संख्याभन्दा बढी यात्रु घर फर्किरहेका छन् । 

निषेधाज्ञापछि उद्योग–व्यवसाय बन्द हुने, रोजगारी गुम्ने र जीवन जटिल हुने डरले ठूलो संख्यामा मजदुरहरू गाउँ फर्किएका छन् । गत वर्ष पनि लकडाउन अघि गाडी र पछि पैदल गरी १२ लाख यात्रु जिल्ला फर्किएका थिए । यसपालि पनि पछिल्लो दुई दिनमा मात्रै ७७ हजार यात्रु घर फर्किएका छन् । फर्कनेमा मजदुरमात्र होइन, उच्च शिक्षा पढ्न काठमाडौं आएकाहरू पनि छन् । 

काठमाडौंको गोंगबु बसपार्क, कलंकी र जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अधिक भिड देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । नाकाहरूमा ट्राफिक प्रहरीले सवारी जाँच बढाएको छ । सिट क्षमताभन्दा धेरै यात्रु राख्ने, मास्क नलगाउनेलाई कारबाही भइरहेको ट्राफिक प्रहरीको भनाइ छ । तर, गाडी अभावमा यात्रुहरू कोचाकोच गरेर फर्किएका छन् ।

सामान्यतया औसतमा दैनिक काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधनको संख्या ७–७ हजारको हाराहारीमा हुन्छ । त्यस्तै, दैनिक औसतमा ४० हजार मानिस आउने र त्यति नै संख्या बाहिरिने गरेका छन् । तर, सोमबार बिहान ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म २४ घन्टामा ५० हजारभन्दा धेरै मानिस बाहिरिएका छन् । भित्रिने नियमित संख्यामा भने परिवर्तन आएको छैन । त्यसैगरी, मंगलबार बिहानदेखि साँझसम्म १२ घन्टामा २७ हजार ७८० यात्रु फर्किएको छ र २४ घन्टामा यो संख्या ६० हजार यात्रु बाहिरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका भनाइ छ । ‘लामो दूरीका सवारीसाधन रातमा धेरै चल्ने भएकाले बुधबार बिहानसम्ममा बाहिरिनेको संख्या निकै बढ्ने अनुमान छ,’ महाशाखाका प्रहरी हवल्दार नवराज अधिकारी भने । 

सवारी लाइसेन्सको अनलाइन आवेदन स्थगित 

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको छ । विश्वभर फैलिरहेको कोभिड–१९ को नयाँ भेरियन्टका कारण बिहीबार (१६ वैशाख, ०७८) देखि अनिश्चितकालसम्मका लागि बन्द भएको हो । ‘बिहीबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द रहनेछ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ । सवारी लाइसेन्सको अनलाइन आवेदनसँगै स्मार्ट लाइसेन्स वितरण र इम्बोस्ड नम्बरप्लेट जडान कार्यालयहरू पनि बिहीबारदेखि बन्द हुनेछन् । सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) भने बुधबार पनि सञ्चालन हुनेछ । ‘बिहीबारदेखि अवस्था सहज नहुन्जेलका लागि बन्द गरिनेछ,’ यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने । 

उड्ने र गुड्ने साधनलाई विभेद नगर्न व्यवसायीको माग

हवाई यातायातलाई सञ्चालन गर्न दिने, तर सडक सवारी यातायातलाई रोक्ने सरकारको निर्णयमा यातायात व्यवसायीले तीव्र असन्तुष्टि देखाएका छन् । ‘उड्ने र गुड्ने सवारीसाधनलाई विभेद नगर्न सरकारसँग जोडदार माग गर्छौँ,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । स्वास्थ्य सुरक्षा अपनाउने विषयलाई कडाइ गरेर सडक यातायातलाई पनि सुचारु राख्नुपर्ने व्यवसायीको माग छ । ‘आन्तरिक हवाईजहाजले पालना गर्ने सर्बै मापदण्ड पूरा गर्न तयार रहेका छौँ,’ महासंघका महासचिव सरोज सिटौलाले भने । तोकिएको सिटभन्दा बढी नचडाउने र सरकारले तोकेको सबै मापदण्डलाई पालना गरिने उनको भनाइ छ । 

लामो दूरीका सवारीसाधन सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयदेखि गृह र यातायात मन्त्रालयसम्म सुझाब दिएको जानकारी दिए । सर्वसाधारण चढ्ने साधनलाई भने हेपिएको र धनी मानिस चढ्ने हवाई यातायातलाई भने सञ्चालन गरेर अन्याय गरेको बताए । कि त सबै प्रकारका यातायातलाई बन्द गर्नुपर्ने कि त सबैलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ । यही निर्णयमा सरकार रहने हो भने निर्णयको उल्लंघन हुने महासचिव सिटौलाले भने । 

......

नेपाल ट्रान्जिट बनाउन प्रतिबन्ध, अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने 

काठमाडौं/ सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण बुधबार (१५ वैशाख) राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको जनाएको छ ।

विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरले हरेक दिन रेकर्ड तोडिरहेको वेला नयाँदिल्लीबाट नेपालमा सीधा उडानबाट दैनिक सयौँ भारतीय विनारोकतोक भित्रिरहेका थिए ।

नेपाल घुम्न आएका विदेशीभन्दा पनि भारतबाट साउदीतर्फ सीधा उडान रोकिएपछि साउदीमा काम गर्ने भारतीय नेपालको बाटोबाट साउदीतर्फ गइरहेका छन् । नेपालमा आउँदा क्वारेन्टिन र स्वास्थ्य मापदण्डमा लापरबाही गर्दा नेपालसमेत उच्च जोखिममा परेको भन्दै विरोध भइरहेको थियो । नेपालमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले दैनिक एक–एक उडान गरिरहेका छन् । दुवै उडानमा ८० प्रतिशतभन्दा बढी भारतीयले भरिने गरेका छन् । 

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुवरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयले नेपालको बाटो रोजेका थिए । 

See More On

सुझावित समाचार