लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरू कमजोर हुँदै छन् : प्रधानमन्त्री

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरू कमजोर हुँदै गएको बताएका छन् । शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्ति कमजोर हुँदै गएको बताएका हुन् ।

नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरू दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरू कमजोर हुँदै गएको बताए । उनले भने ‘लोकतन्त्र सुदृढ हुँदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरू दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरू कमजोर हुँदै गएका छन् ।  विभिन्न प्रकारले देश, जनता , विकास, समृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लीन तत्वहरू छटपटाइरहेका छन् ।’

धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ–आफ्ना घरमा साँझ दीपावली गर्न सबैलाई आह्वान गरे । पुनर्निर्माणका काममा कोभिडले केही असर गरे पनि आवश्यक सर्तकता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिइएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निमाण सम्पन्न भएको उनको तर्क थियो । 
उनले भूकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचनाभित्र काम गर्न पाउने गरी प्रतिपरिवार एकजनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे । 

वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियानअन्तर्गत कोही पनि भोकै नरहने गरी नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिबद्धता जनाए । उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रका रूपमा उभ्याउनुपर्ने आवश्यकता औँल्याए । 

उनले भने, ‘देश हामीले बनाउने हो र हामी बनाउन सक्छौँ । नेपाली जाति भिख माग्ने होइन, दाता जाति हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ । हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रका रूपमा उभ्याउनुपर्छ ।’ आफूलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादन आफैँले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्ने उल्लेख गर्दै उनले त्यही बाटोमा सरकार अघि बढेको बताए ।

सरकारले २०७८ सालभित्र काठमाडौंको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउनु पर्ने दोहोर्याए । उनले तीन सय ९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाडौं आएको, तराईमा सिँचाइका कामलगायत विकास निर्माणका काम भइरहेको पनि बताए । 

सुझावित समाचार