नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रूपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रूपमा सञ्चालन भएको हो ।
यसअघि यही वैशाख १ गते नै कार्यालय धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बसेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । यस्तै, स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग केहीबेर बसेका थिए ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, संगठन विभाग प्रमुखलगायतका कार्यकक्षसहित १२ कोठा छन् । प्रधानमन्त्री ओलीले गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गरेका थिए । एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । ०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो । रासस