कांग्रेस नेता तथा पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा थालेको घरदैलो अभियानलाई उनको परिवारले निरन्तरता दिने भएको छ । जोशीले कोरोना रोकथाम तथा जनचेतनाका लागि थालेको अभियानलाई धर्मपत्नी सपना जोशीले निरन्तरता दिने भएकी हुन् ।
नेता जोशीले गत कात्तिकमा कोरोना रोकथाम तथा जनचेतनाका लागि मास्क र स्यानिटाइजरसहित काठमाडौं– ८ मा घरदैलो अभियान थालेका थिए । अभियानकै क्रममा मस्तिष्कघात भई अस्पताल भर्ना भएका जोशीको गत १३ चैतमा ५७ वर्षको उमेरमा दुःखद निधन भएको थियो । उनको निधनपछि अभियान रोकिएको थियो।
बुधबार उनको परिवारले स्वायम्भूनाथ मन्दिरमा एक सय आठ दीप प्रज्ज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो । उनको निधन भएको महिना दिनपछि श्रीमती जोशीले आफ्नो श्रीमान्को असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई निरन्तरता दिने बताएकी हुन् ।
‘यो अभियान कुनै राजनीतिक होइन, यो विशुद्ध समाजसेवा मात्रै हो,’ उनले भनिन् । उनले नवीन्द्रराजको सपना पूरा गर्न अभियानलाई निरन्तरता दिएको बताइन् । नवीन्द्रको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमिका रहेको र बाँकी जीवन उनको सपना पूरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ ।
सपनाले फेरि कोरोनाको दोस्रो लहर सुरु भएकाले नवीन्द्रराजको अभियानलाई आफूले निरन्तरता दिएको स्पष्ट पारिन् । बिहीबार स्वयम्भू मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान स्यानिटाइजर वितरण गरिएको छ ।