लगातार दोस्रो जितसँगै फाइनलतर्फ नेपाल

मंगलबार, ७ बैशाख, २०७८
डिजिटल संस्करण
लगातार दोस्रो जितसँगै फाइनलतर्फ नेपाल

ब्याटिङ गर्दै नेपालका खेलाडी कुशल भुर्तेल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

कुशल र आसिफको अर्काे उत्कृष्ट ब्याटिङ, मलेसिया ९ विकेटले पराजित, प्रारम्भिक ब्याट्सम्यानको खडेरी अन्त्य भएको सन्देश

कुशल भुर्तेल र आसिफ शेखको अर्काे उत्कृष्ट ब्याटिङमा नेपालले त्रिदेशीय शृंखलाअन्तर्गत लगातार दोस्रो जित हात पारेको छ । नेपालले सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

लगातार दोस्रो ९ विकेटको जितसँगै नेपाल प्रतियोगिताको फाइनलतर्फ अग्रसर भएको छ । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई पनि ९ विकेटले नै पराजित गरेको थियो । दोहोरो राउन्ड रोविन प्रणालीअन्तर्गत नेपालले अझै नेदरल्यान्ड्स र मलेसियासँग एक–एक खेल खेल्नेछ । दुईमध्ये एक खेलको जितले नेपालको फाइनल यात्रा निश्चित हुनेछ । नेदरल्यान्ड्ससँग मंगलबार हुने प्रतिस्पर्धाले नेपालको फाइनल यात्रा निश्चित गर्नेछ । त्यसका लागि नेपालले नेदरल्यान्डस्लाई जित्नै पर्नेछ । 

खेलाडीले उच्चस्तरको खेल प्रदर्शन गरेका छन् : प्रशिक्षक 
नेपाली टोलीको लगातारको सफलतापछि मुख्य प्रशिक्षक देव वाटमोरले खुसी व्यक्त गरेका छन् । ‘हामीसँग उपलब्ध सुविधाअनुसार तयारी राम्रो भएको थियो । यद्यपि, प्रतियोगिता नखेलेसम्म तयारी कस्तो छ भन्ने थाहा हुँदैन,’ प्रशिक्षक देवले भने, ‘यी दुई खेलमा खेलाडीले साँच्चिकै उच्चस्तरको प्रदर्शन दिएका छन् ।’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशल र आसिफको उत्कृष्ट ब्याटिङको अर्काे नमुना पेस गर्दा नेपालले एक सय १० रनको सामान्य विजयी लक्ष्य १२.१ ओभरमा मात्रै एक विकेट खर्चिएर भेट्टाएको हो । नेपाललाई सहज जित दिलाउने क्रममा कुशलले अविजित ६१ रनको योगदान दिए ।

कुशलले ४१ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । जारी प्रतियोगितामा कुशलको यो दोस्रो कीर्तिमानी अर्धशतक हो । नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि उनले ६२ रन प्रहार गरेका थिए । यससँगै उनी अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । 

मलेसियाविरुद्ध उनले २६ बलमै अर्धशतक पूरा गरेका थिए । सुरुवातबाटै एकपछि अर्काे ‘क्लिन सट्’ खेलेका कुशलले छैटौँ ओभरमा दुई छक्का र एक चौका गरी एकै ओभरबाट १९ रन जोडेका थिए ।

कीर्तिमानी प्रदर्शनपछि कुशलले पनि खुसी व्यक्त गरे । ‘व्यक्तिगत रूपमा मैले लामो समयदेखि तयारी गरेको थिएँ । त्यो देखाउन पाएको छु । प्रशिक्षकले दिनुभएको जिम्मेवारीअनुसार खेल्ने प्रयास गरिरहेको छु,’ कुशलले भने, ‘टोलीको जितमा योगदान पुर्‍याउन पाउँदा खुसी लागेको छ ।’

प्रारम्भिक ब्याट्सम्यानको खडेरी अन्त्य भएको सन्देश
कुशलपछि अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफले २९ बलमा ४२ रनको महत्वपूर्ण योगदान दिए । कुशलले अर्धशतक पूरा गरेपछि क्रिजमा एउटा रमाइलो दृश्य पनि देखियो । कुशलले ५० रन पूरा गर्दा आसिफ २१ रनमा खेल्दै थिए । नेपाललाई जितका लागि मात्रै ३९ रन आवश्यक थियो । त्यस वेलासम्म १४ ओभरको खेल बाँकी थियो भने नेपालसँग १० विकेट पूरै बाँकी थियो ।

त्यसैले पनि हो कुशल आफ्ना ‘ओपनिङ पार्टनर’ आसिफलाई अर्धशतक पूरा गर्न सहयोग गरिरहेका थिए । उनले आसिफलाई स्ट्राइकिङ इन्डमा अवसर दिइरहेका थिए । दुर्भाग्यबस आसिफ ११.१ ओभरमा भिरन्दीप सिंहको बलमा ठूलो सट् खेल्ने प्रयास गर्दा कभरमा अन्वार रहमानद्वारा क्याचआउट हुन पुगे । 

त्यसका बाबजुद कुशल र आसिफले पछिल्लो दुई खेलको प्रदर्शनबाट नेपाली राष्ट्रिय टोलीले लामो समयदेखि व्यहोर्दै आइरहेको प्रारम्भिक ब्याट्सम्यानको खडेरी अन्त्य भएको सन्देश दिएका छन् । 

यसअघिका प्रतियोगितामा प्रारम्भिक ब्याट्सम्यान चाँडै आउट हुँदा मिडल र लोअर मिडल अर्डरका ब्याट्सम्यानमाथि ठूलो दबाब पर्ने गरेको देखिएको थियो । यसपटक प्रारम्भिक ब्याट्सम्यानहरूले आवश्यक रन जोड्दा टोलीले सहजै जित भेट्टाएको छ ।

प्रशिक्षक देवले पनि कुशल र आसिफको प्रारम्भिक जोडीको प्रशंसा गरेका छन् । ‘सुरुवातमा लागेको थियो कि यी दुई खेलाडीमध्ये एक मात्रै टोलीमा रहनेछन् । प्रशिक्षण अघि बढेसँगै दुवै खेलाडी राम्रा रहेछन् भन्ने थाहा पाएँ । त्यसैले उनीहरू दुवै टोलीमा छन्,’ प्रशिक्षक देवले भने, ‘उनीहरू प्लेइङ ११ मा पर्ने कुराचाहिँ अन्तिम अभ्यास खेलमा पारस खड्का घाइते भएपछि मात्रै निश्चित भएको हो । उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् ।’ 

करणको उत्कृष्ट बलिङ
टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको मलेसियाविरुद्ध नेपाली बलरहरूले सशक्त प्रदर्शन गरे । नेपाली बलिङसामु मलेसिया १६.५ ओभरमा मात्रै एक सय नौ रनको सामान्य योगफलमा रोकियो । मलेसियालाई सस्तो योगफलमा रोक्न करण केसीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । 

सोमबार सम्पन्न त्रिदेशीय श्रृंखलामा मलेसियाविरुद्ध विकेट लिएपछि करण केसीलाई बधाई दिँदै कप्तान ज्ञानेन्द्र मल्ल ।

तीन ओभर बलिङ गरेका करणले मात्रै १७ रन दिएर तीन विकेट लिए । यही प्रदर्शनका आधारमा उनी म्यान अफ दी म्याच चुनिए । मलेसियाका लागि मात्रै तीन खेलाडीले दोहोरो अंकमा रन जोडे । त्यसमध्ये २० रनमा खेलिरहेका सर्भिन मुनिएन्द्रीलाई करणले नै आउट गराएका हुन् । २७ रन बनाएका सेद अजिजलाई दीपेन्द्र र १५ रन बनाएका सफिक सारिफलाई सन्दीप लामिछानेले आउट गराए । मलेसियाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइमरसहित सात बलर प्रयोग गरे । त्यसमध्ये ६ बलरले विकेट लिए । 

करणपछि सन्दीपले दुई विकेट लिए भने दीपेन्द्र, सोमपाल कामी, साहब आलम र कुशल मल्लले एक–एक विकेट लिए । मलेसियाका आठ खेलाडी दोहोरो अंकमा रन जोड्नुअघि नै पभेलियन फर्किए । बलरहरूले मलेसियालाई सहज योगफलमै रोकेपछि नेपाली ब्याट्सम्यानलाई जितसम्म डोहो¥याउन खासै समस्या देखिएन ।

प्रशिक्षक देवले नेदरल्यान्ड्सविरुद्ध हुने मंगलबारको खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरेको बताए । ‘नेदरल्यान्ड्ले यो प्रतियोगिताका लागि खासै तयारी गर्न पाएको छैन । खासमा उनीहरू प्रतियोगिताका लागि नेपाल आउँदा त्यहाँ हिउँ परिरहेको थियो,’ प्रशिक्षक देवले भने, ‘त्यसैले उनीहरूले अहिले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन् । मैले मंगलबार उनीहरूबाट त्यो खेलको अपेक्षा गरेको छु । यो खेल साँच्चिकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।’

मंगलबारदेखिका खेलमा दर्शक निषेध
मंगलबारको खेलमा दर्शकले प्रवेश नपाउने भएका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलने जोखिम रहेको भन्दै रंगशाला बन्द गर्ने निर्णय गरेको छ । 

सरकारको उक्त निर्णय आएपछि त्रिदेशीय शृंखलाको आयोजक क्यानले प्रतियोगिताका बाँकी खेलहरू विनादर्शक खेलाउने निर्णय गरेको हो । ‘सरकारको निर्णयअनुसार मंगलबारदेखिको बाँकी खेलमा दर्शकलाई प्रवेश नदिने निर्णय भएको छ,’ क्यानले विज्ञप्तिमार्फत भनेको छ, ‘यो निर्णयबाट दर्शकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्छाैं ।’ सोमबार भने सरकारको निर्णय आउनुअघि नै दर्शक मैदान प्रवेश गरिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिएको क्यानको भनाइ छ । 

See More On

सुझावित समाचार