धागो उत्पादक संघ र युकेएडद्वारा रोजगारी सिर्जनाको पाठ्यक्रम लागू

सोमबार, ६ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले युकेएडको सहयोगमा सञ्चालित ‘सीप’ अन्तर्गत धागो उद्योगको नेतृत्वमा तयार भएका पाँच पदहरूको पाठ्यक्रमको सुरुवात गरिएको छ ।  

सीपले आयोजना गरेको एक कार्यक्रममा उपस्थित भई सीप र संघको साझेदारीले हासिल गरेको प्रभावका बारेमा छलफल भएको संघले जनाएको छ । छलफलमा धागो उद्योगको रूपान्तरण तथा दिगो रोजगारी सिर्जनाका लागि लिनुपर्ने बाटोका बारेमा पनि छलफल भएको जनाइएको छ ।

नोभेम्बर २०१९ देखि सुरु भएको संघ र सीपको बहुकारखाना साझेदारीले ४ हजार व्यक्तिहरूलाई रोजगारसँग सम्बन्धित गुणस्तरीय सीप विकास तथा रोजगारीको अवसर प्रदान गरेको संघले जनाएको छ । साथै, उक्त साझेदारीले त्रिवेणी स्पिनिङ मिल, जगदम्बा स्पिनिङ मिल, रिलायन्स स्पिनिङ मिल, ट्राइकोट इन्डस्ट्री तथा जय स्पिनिङ मिलका कारखानाको क्षमतामा सुधार ल्याएको जनाइएको छ ।  

नेपालका लागि बेलायती राजदूत पोलिटले उद्योगहरूमा रहेको श्रमशक्ति तथा उत्पादकत्वमा रहेका खाडलहरूलाई रणनीतिक रूपमा भर्न संयुक्त पहलहरू सफल भएकोमा गौरवान्वित भएको बताए । संघका अध्यक्ष गोल्यानले सीप विकासका पहलहरूलाई कारखानाको वृद्धि हासिल गर्न सक्ने गतिविधिहरूसँगको सम्मिश्रण धागो उद्योगलाई रूपान्तरण गर्ने संयुक्त प्रयासको एक अभिन्न अंग रहेको बताए । उक्त रूपान्तरण हासिल गर्नका लागि आधुनिकीकरण तथा विस्तार, सुधारिएको गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमार्फत नयाँ भौगोलिक क्षेत्रहरूमा निर्यातलाई विविधीकरण, संस्थागत क्षमतामा सुधार गरिने उनको भनाइ थियो । 

सीप कार्यक्रमका टिम लिडर बलजित भोराले उद्योगका उदीयमान कामका लागि तयार भएको श्रम शक्तिको विकास गर्नका लागि प्रशिक्षार्थीमा आधारित सीप तथा रोजगार उपलब्ध गराउने उद्योगको पहलको प्रतिबिम्ब संघ र सीपबीचको साझेदारी भएको बताए । सीप विकास गर्न पहल गर्ने अन्य उद्योगहरूले पनि यस साझेदारीबाट सिक्न सक्ने उनको भनाइ थियो । 

विशेष गरी महिला, आप्रवासनबाट फर्किएका तथा अन्य आर्थिक, सामाजिक रूपमा बाहिर पारिएका समूहलाई लक्षित गरेको जनाइएको छ । हालसम्म १३ वटा उद्योगमा युकेएडको सीपले उत्प्रेरित गर्ने तथा सहलगानी गरेको जनाइएको छ । जसबाट सन् २०२१ सम्म ४० हजार युवालाई रोजगारी–स्वरोजगारी प्रदान गर्न सक्ने वातावरण बनाउने सम्भावना रहेको जनाइएको छ । 

कार्यक्रममा रामचन्द्र संघाई, विष्णु न्यौपाने, अभिक ज्योति, अक्षय गोल्यान तथा शक्ति गोल्यानलगायतका धागो उद्योगका प्रमुख उद्योगी सहभागी रहेको जनाइएको छ । सुधार गरिएको र मानकबमोजिम बनाइएको पाठ्यक्रम कारखानाहरूको सुझाब र प्रतिक्रियामा सहविकास तथा परिष्कृत गरिएको जनाइएको थियो । 

सुझावित समाचार