एनसेलले नयाँ वर्षको अवसर पारेर डेटा प्याकको खरिदमा बोनसस्वरूप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुम दिने भएको छ । कम्पनीले यस डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम तथा ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुम दिने योजना ल्याएको हो ।
योजनाअन्तर्गत डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागू हुने जनाइएको छ । डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि १ दिनसम्मका विभिन्न डेटा प्याकमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । ग्राहकले ४ सय ९९ रुपैयाँमा ३० दिन समयसीमा रहेको १० जिबी डेटा प्याकको खरिदमा थप १० जिबी डेटा बोनसस्वरूप प्राप्त गर्ने जनाइएको छ । बोनस डेटा पनि ३० दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, १ सय ३९ रुपैयाँमा १४ दिन समयसीमा रहेको २ जिबी डेटा प्याकको खरिदमा थप २ जिबी पाउने जनाइएको छ । ३ दिन समयसीमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसीमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम प्राप्त हुने कम्पनीले जनाएको छ ।
डेटा सापटी सेवाअन्तर्गत ४० रुपैयाँमा ३०० एमबी डेटा खरिद गर्दा ६०० एमबी पाउने जनाइएको छ । यसबाहेक ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा एक दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउने जनाइएको छ । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा २०० एमबी, २ सयदेखि २ सय ९९ रुपैयाँसम्मको रिचार्जमा २०० एमबी र ३ सयदेखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ३०० एमबी डेटा बोनसका रूपमा पाउने कम्पनीले जनाएको छ ।
५ सयदेखि ९ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५०० एमबी डेटा तथा १ हजार रुपैयाँभन्दा माथिको रिचार्जमा १००० एमबी डेटा बोनसस्वरूप पाउने जनाइएको छ । योजना १४ वैशाखसम्म लागू हुने कम्पनीले जनाएको छ ।