भेरी अस्पतालको आइसोलेसन भरिभराउ, नयाँ भर्ना बन्द

बुधबार, १ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालगन्जस्थित भेरी अस्पतालले थप कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न नसक्ने भएको छ । अस्पतालको आइसोलेसन संक्रमितले भरिएकाले भेरी अस्पतालले थप कोरोना संक्रमित राख्न नसक्ने भएको हो । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का फोकलपर्सन तेजबहादुर ओलीले भेरी अस्पतालको ६५ बेडमध्ये ६२ वटा भरिएको जानकारी दिए । ‘अब थप संक्रमित राख्न सक्ने अवस्था छैन । तीनवटा बेड जटिल खालका बिरामीका लागि भनेर छुट्याएर राखेका छौँ,’ नयाँ पत्रिकासँग उनले भने । 

३१ चैतमा एक सय १३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लोपटक पुष्टि भएका संक्रमितलाई राख्न समस्या भएको फोकलपर्सन ओलीले बताए । ‘सिकिस्त बिरामीलाई समेत आइसोलेसनमा राख्न सक्ने अवस्था छैन,’ उनले भने । 

 थप संक्रमित राख्ने अवस्था छैन : भेरी अस्पताल
भेरी अस्पतालमा कोरोना संक्रमितका लागि एक सय ४२ बेड व्यवस्थापना गरिएको छ । तर, जनशक्ति अभावका कारण ६५ वटा बेड मात्र सञ्चालनमा ल्याउन सकिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । उनले हालको जनशक्तिले थप बेड सञ्चालन गर्न नसकिने स्पष्ट पारे ।

अब आउनेले बेड नपाउने बताउँदै उनले बेड भए पनि जनशक्ति नभएकाले थप संक्रमितलाई भर्ना गर्न नसकिने स्पष्ट पारे । उनले अति गम्भीर बिरामी आए पनि भर्ना गर्न नसकिने जिकिर गरे । ‘बिरामी हेर्ने जनशक्ति नभएपछि बेड राख्नुको कुनै तुक छैन,’ उनले भने । 

उनले कोरोना संक्रमितका लागि व्यवस्थापन गरिएको बेडमा अन्य रोगका बिरामी राखिएको जानकारी दिए । कोरोनाका बिरामी हेरेर मात्र हुँदैन । अन्य बिरामीको पनि उपचार गर्नै पर्यो,’ डा. थापाले भने । उनले २४ जना कोरोना संक्रमित आइसियूमा रहेको बताए । ती बिरामीको उपचारमा २५ जना खटिँदै आएको उनको भनाइ छ । प्रदेश सरकारले भेरी अस्पताललाई चिकित्सकसहित ४२ जना जनशक्ति दिएको छ । प्रदेश सरकारले दिएको जनशक्तिले ६५ जनाभन्दा धेरै बिरामी हेर्न सक्ने अवस्था नरहेको डा. थापाले स्पष्ट पारे । 

 आइसोलेसन स्थापना गर्न डिसिसिएमसीको माग
भेरी अस्पतालको आइसोलेसन कोरोना संक्रमितले भरिएपछि डिसिसिएमसीले स्थानीय तहलाई आइसोलेसन स्थापना गर्न माग गरेको छ । आइसोलेसन अभावमा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा समस्या देखिएपछि डिसिसिएमसीले स्थानीय तहलाई आइसोलेसन स्थापना गर्न सुझाब दिएको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ सरुवा भई गएपछि कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा समस्या आएको फोकलपर्सन तेजबहादुर ओलीले बताए । उनले सरुवा भएर आउने प्रमुख जिल्ला अधिकारी आउनेबित्तिकै थप आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइने बताए । ‘२ वैशाखका दिन नयाँ प्रमुख जिल्ला अधिकारी हाजिरी हुनुहुन्छ । त्यसपछि आइसोलेसन निर्माण र सञ्चालनको व्यवस्थापन हुनेछ,’ उनले भने । 

सुझावित समाचार