छत्रकोट र रुरुमा ५० लाखको गुड–खुदो उत्पादन

बुधबार, १ बैशाख, २०७८
डिजिटल संस्करण

आठ रोपनी बारीमा उखुखेती गर्दै आएका छत्रकोट गाउँपालिका–४, दिगामका हुमनाथ पन्थले एक दशकदेखि व्यावसायिक खुदो र गुड उत्पादन तथा बिक्री गर्दै आएका छन् । हरिओम केशर मिलमार्फत दिगामसहित, छत्रकोट र रुरु क्षेत्र गाउँपालिकाका किसानसँग उनले उखु खरिद गरेर वार्षिक करिब ५० लाखबरावरको खुदो र गुडको कारोबार गर्ने गरेका छन् । यसबाट खर्च कटाएर ७ देखि १० लाख आम्दानी हुने उनको भनाइ छ । पन्थले ३ जनालाई रोजगारी पनि दिएका छन् ।  

पहिले गाउँमा गोरुमार्फत कोलमा उखु पेलेर रस निकालिन्थ्यो । यसरी परम्परागत तरिकाले काम गर्दा समय र जनशक्ति धेरै लाग्ने उनको भनाइ छ । तर, अहिले प्रविधिको विकाससँगै मेसिनबाट उखु पेल्ने र गुड–खुदो बनाउने गरिएको छ । धेरैबेर आगोमा पकाएर उखुको रसबाट गुड तथा खुदो उत्पादन गर्न सहज नहुने कामदार विष्णु मुखियाले बताए । रस बेस्सरी पाकेन र घोटिएन भने केही समयमै बिग्रिने भएकाले बिहानदेखि बेलुकासम्म आगोसँगै भिड्नुपर्ने उनले बताए । 

अहिले स्थानीयस्तरबाट खुदो प्रतिलिटर १ सय १० देखि १ सय २० रुपैयाँसम्म बिक्री हुन्छ । त्यसैगरी, सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको छ । तर, पछिल्लो समय गाउँमा युवाहरू नहुँदा दिगाम र थानपतिलाई पुर्ख्यौली पेसासँगैको पहिचान जोगाउनु चुनौतीपूर्ण हुन थालेको छ । उखु किसानले अहिले आफूले जानेको विधिबाट गुड–खुदो उत्पादन गरिरहेका छन् ।

उनीहरूमा कर्मसँगै व्यावसायिक सीपको अभाव छ । केही स्थानका व्यापारीहरूले भेली मिसाएर गुड–खुदो बेच्न थालेपछि आलोचनासमेत भइरहेको उनीहरू बताउँछन् । त्यसैले पुस्ताैँदेखि उखुको खेती गर्दै आएका कृषकलाई गुणस्तर जोगाउने र पेसालाई झन् बढी परिष्कृत एवं प्रतिस्पर्धात्मक बनाउनुपर्ने पिरलो थपिएको न्यौपाने कृषि तथा पशु फर्मकी सञ्चालक शारदा न्यौपानेले बताइन् । उनले गुड–खुदोलाई अझ गुणस्तरीय बनाउन प्रशोधन मेसिन र सीपको आवश्यक परेको बताइन् । 

रुरु क्षेत्र गाउँपालिकाले वडा नं ३ थानपति र वडा नं ४ बलेटक्सालाई उखु ब्लगका रूपमा अगाडि बढाएको छ । जहाँ करिब दुई सय परिवारले २ हजार रोपनी क्षेत्रमा उखुखेती गरिरहेका छन् । वडा नं ३ का वडाध्यक्ष शेषनारायण पौडेलका अनुसार गाउँपालिकाले गत वर्ष ५० प्रतिशत अनुदानमा २ सय क्विन्टल उखुको बिउ वितरण गरेको छ । अहिले २ हजार क्विन्टल बिउ वितरण गर्ने योजना गाउँपालिकाको छ ।

पौडेलका अनुसार थानपति र बलेटक्सारबाट मात्रै वार्षिक डेढ करोडको गुड–खुदो बिक्री हुने गरेको छ । थार्गेली खुदोको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्याउने गरेको छ । त्यस्तै, छत्रकोट गाउँपालिकामा दुईवटा उखु ब्लग छन् । दिगाम–मानकोट र हर्दिनेटा गरेर दुईवटा ब्लगमा उखुको व्यावसायिक उत्पादन भइरहेको छ । छत्रकोट गाउँपालिकाले उखु किसानलाई उखु र मेसिनहरूमा अनुदानको व्यवस्था गरेको छत्रकोट गाउँपालिका–४ का वडाध्यक्ष डिलाराम न्यौपानेले जानकारी दिए ।

पुर्ख्यौलीदेखि व्यावसायिक उखुखेतीमा लागेका स्थानीयसँग रोजगारीको अर्को अवसर छैन । उनीहरूले पहिलेदेखि नै स्थानीय रिडीको माघे संक्रान्ति मेलामा गुड व्यापार गर्थे । अहिले रिडीसँगै पाल्पा, बुटवल, पोखरा, काठमाडौंदेखि विदेशसम्म दिगाम र थानपतिको थोर्गेली गुड र खुदो प्रख्यात छन् । 

सुझावित समाचार