विराट गोल्डकप : पन्जाब पुलिस सेमिफाइनलमा

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

रात्रिकालीन समयमा आयोजना भइरहेको विराट गोल्डकप फुटबल प्रतियोगिताको आइतबार  सम्पन्न दोस्रो क्वार्टर फाइनल खेलमा मच्छिन्द्र क्लब काठमाडांैलाई पराजित गर्दै भारतको पन्जाब पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा पन्जाब पुलिसले २–० गोल अन्तरले मच्छिन्द्र क्लबलाई हराएको हो । आयोजकका अनुसार सोमबारको खेल दुई विभागीय टिम नेपाल पुलिस र सशस्त्र प्रहरी (एपिएफ)बीच हुनेछ । शनिबार सम्पन्न खेलमा भारतको पश्चिम बंगला युनाइटेड क्लब सिलिगुडीलाई पराजित गर्दै विराटनगर–११ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 

विराट गोल्ड कपको जारी सिरिजमा विजयी बन्ने टिमले १५ लाख १५ हजार र उपविजेताले सात लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ । ४ वैशाखसम्म हुने प्रतियोगिताका सबै खेल साँझमा हुनेछन् । रात्रिकालीन प्रतियोगिताका लागि विराटनगरको सहिद मैदानमा स्थायी लाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

तीन विदेशी टिमसहित १० टिमको प्रतियोगितामा सहभागिता जनाएका छन् । सहभागी सबै टिमले म्याच फी पाउनेछन् । पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वार्टर फाइनलबाट बाहिरिनेले ५० हजार र सेमिफाइनलमा पराजित टिमले ७५ हजार म्याच फी पाउने आयोजकले जनाएको छ । 

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल, हरेक खेलका म्यानअफ द म्याचले १० हजार, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, हाइस्कोरर, टिम व्यवस्थापक र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । 

सुझावित समाचार