लुम्बिनीमा माओवादी केन्द्रका दुई प्रदेश सांसदको पद गुम्यो

बुधबार, २५ चैत, २०७७
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाका माओवादी केन्द्रका दुई सांसदको पद गुमेको छ । पार्टीले कारबाही गरी संसदीय दलको सदस्यबाट हटाएको दल त्यागसम्बन्धी सूचना प्रदेश सभा बैठकमा जानकारी गराएसँगै सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको पद गुमेको हो । न्यौपाने र पन्थी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको हो । 

माओवादी केन्द्रले कारबाही गरेको जानकारीसहितको पत्र आइतबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो । सोमबारको बैठकमै सोसम्बन्धी जानकारी गराउने कार्यसूची बने पनि बैठक सुरु भएपछि सभामुखले हेरफेर गरी कार्यसूचीबाट हटाइएका थिए । मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले सांसदद्वय न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको व्यहोराको पत्र संसदमा आएको भन्दै दल त्यागसम्बन्धी सूचना जानकारी गराएका थिए ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार माओवादी केन्द्रले आइतबार संसदमा पार्टीले कारबाही गरेको पत्र र पार्टी संसदीय दलले गरेको निर्णय दर्ता गराएको थियो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ अनुसार सो पत्र दर्ता भएको थियो । प्रदेश सभा नियमावली २०७४ को नियम १९० मा दल त्यागसम्बन्धी व्यवस्था प्रचलित कानुनअनुसार हुनेछ भन्ने उल्लेख छ ।

संसदमा पत्र दर्ता भएपछि प्रदेश सभाका सचिव मगरले सभामुख घर्तीसमक्ष निर्णयार्थ पेस गरेका थिए । नियम १९१ बमोजिम प्रदेश सभालाई जानकारी गराउने गरी कार्यसूची बनेको थियो । सभामुखले जानकारी गराएपछि नियमावली १९२ बमोजिम उनीहरू पदमुक्त हुने व्यवस्था छ । राजनीतिक दलसम्बन्धी दफा ३६ मा पद रिक्त भएमा १५ दिनभित्र निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने व्यवस्था छ । 

न्यौपाने रूपन्देही १ (ख) बाट निर्वाचित भएका थिए । उनी प्रदेश संसदमा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति छन् । पन्थी गुल्मी २ (ख) बाट निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेकोमा माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएसँगै सो संख्या घटेको छ । अब ८५ सदस्यीय प्रदेश सभामा एमालेका ४१, माओवादी केन्द्रका १८, कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन् । 

सुझावित समाचार