एमालेको खनाल–नेपालनिकट युवा संघले देशभरका स्थानीय तहसम्मै युवा कमिटी बनाउने

मंगलबार, २४ चैत, २०७७
डिजिटल संस्करण

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालनिकट युवा संघ नेपालले देशभरका स्थानीय तहसम्मै युवा कमिटी निर्माण गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षता र इन्चार्ज रघुजी पन्तको प्रमुख आतिथ्यतामा काभ्रेको धुलिखेलमा मंगलबार बसेको बैठकमा देशव्यापी युवा कमिटी गठन गरेर पार्टीलाई नयाँ ढंगले निर्माण गर्ने विषयमा छलफल भएको प्रवक्ता सञ्जीव राईले जानकारी दिए । 

बैठकमा पार्टीभित्रको चर्को आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको उनले बताए । वर्तमान अवस्थामा युवाका समस्या, अवस्था र भविष्यका विषयमा पनि बैठकमा छलफल भएको थियो । 

‘वर्तमान अन्योलग्रस्त राजनीतिलाई चिरेर युवाहरूले कसरी प्रतिनिधित्व गर्ने, आमकार्यकर्ताहरूलाई सही राजनीतिक संस्कार नदिँदा उत्पन्न अराजकता र राजनीतिक वितृष्णालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भयो,’ राईले भने । पार्टीका वरिष्ठ नेताहरूलाई एकपक्षीय ढंगले गरेको कारबाही र पार्टीभित्र भ्रष्ट र अराजक तत्वको संरक्षणले पार्टी फुटको दिशामा गइरहेको निष्कर्ष बैठकको छ ।

सुझावित समाचार