नेपालमा वायु प्रदूषण दीर्घकालीन समस्या बन्ने जोखिम

मंगलबार, २४ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्षको तुलनामा यो वर्ष १४ गुणा बढी डढेलो लागेको छ । जसलाई वायु प्रदूषणको स्थानीय मुख्य कारण मानिएको छ । वैशाखदेखि हालसम्म दुई हजार चार सय १९ स्थानमा डढेलो लागिसकेको छ ।

नेपालका विभिन्न भागमा वायू प्रदूषण बढेपछि काठमाडाैँ संसारकै धेरै वायु प्रदूषण भएको सहरको सूचीमा पुनः पहिलो नम्बरमा परेको छ । यसअघि २१ पुसमा काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो, जुन खतराको तहभन्दा दुई गुणा बढी हो । गत साता मात्रै वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले देशभरका शैक्षिक बन्द गरेको थियो । आइतबारदेखि विद्यालय पुनः खुले पनि प्रदूषणको तह भने घटेको छैन । 

पछिल्लो समय तराईमा समेत वायु प्रदूषणको लेभल बढ्दै गइरहेको छ । भौगोलिक बनावटका कारण पुसदेखि नै काठमाडौं उपत्यका बढी प्रभावित भइरहे पनि पछिल्लो एक सातादेखि तराईका विभिन्न क्षेत्रमा समेत वायु प्रदूषणको लेभल उच्च बिन्दुमा पुगेको छ । वातावरण विभागको तथ्यांकअनुसार, सोमबार दिउँसो धनगढीको एक्युआई ४३६ पुगेको थियो । यस्तै भरतपुरमा ३३२, सौराहामा ३०८, सिमरामा ३०७ र काठमाडौंमा ३३१ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआई ५० भन्दा तल हुँदा मात्रै स्तरीय मानिन्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, पुसदेखि हालसम्म देशभरि नै वायु प्रदूषणको मात्रा बढ्दै गएको छ । प्रि–मनसुनको समय भइसके पनि पश्चिमी वायुको प्रभाव यो वर्ष न्यून रहेकाले प्रदूषणको मात्रा घट्नुको साटो उकालो लागिरहेको छ । मौसमविद्हरूका अनुसार, सुख्खा हिउँद, अत्यधिक डढेलो र पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषण सञ्चित भएर बस्दा अत्यधिक वायु प्रदूषण भएको हो । 

केही दिनअगाडि पानी पर्दा मौसम सफा देखिएको थियो, पुनः एक्युआई लेभल बढ्दै गएको छ । सामान्यतया हेर्दा प्रदूषणको समस्या क्षणिक देखिए पनि यो दीर्घकालीन समस्या हो । यही ट्रेन्डमा विकास र विनाश भइरहने हो भने केही समयपश्चात् हिउँदको समयमा काठमाडौं वायु प्रदूषणका कारण बस्नलायक ठाउँ रहँदैन । - ऋषिराम शर्मा, मौसमविद्

नेपालमा प्रि–मनसुनको समय सुरु भइसकेपछि पनि यो वर्ष एकदमै न्यून वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष नेपालभरि नै औसतभन्दा आधा प्रतिशत पनि वर्षा भएको छैन । मौसमविद्हरूका अनुसार नेपालमा प्रि मनसुन माघ अन्तिमबाट सुरु हुन्छ । नेपालमा हावाको बहाव वर्षमा दुईपटक दुईतिरबाट बहन्छ । मनसुन सुरुभएपछि बंगालको खाडीबाट नेपालतिर हावाको बहाव हुन्छ भने हिउँद सुरु भएसँगै हावाको बहाव पश्चिमबाट बग्छ, यो वर्ष पश्चिमी वायुको बहाव सक्रिय नभएकाले नेपालमा स्थानीय वायुको प्रभाव बढी छ । पश्चिमी वायुको प्रभाव न्यून हुनु र स्थानीय वायु हाबी हुनु नेपालमा प्रि–मनसुन सुरु हुनु हो । तर, चैतको लगभग अन्तिमसम्म आइपुग्दासमेत प्रि–मनसुनको प्रभाव नदेखिएकाले वायु प्रदूषण अत्यधिक बढेको विज्ञहरूले बताएका छन् । मौसमविद् ऋषिराम शर्माका अनुसार, यो समयमा दिउँसो घाम लाग्ने र साँझको समयमा आँधीबेहरीसँगै पानी र केही भूभागमा असिना पर्ने समय हो ।

पछिल्लो वर्षभन्दा १४ गुणा बढी डढेलो
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष प्रि–मनसुन पनि लगभग सुख्खा नै रहने देखिएको छ । आइतबारदेखि घाम नलागेको र हावाहुरी पनि नचलेकाले तत्काल प्रदूषण हट्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ । योसँगै कर्णाली र सुदूरपश्चिमको माथिल्लो भुभागमा बुधबार हल्का वर्षा हुने सम्भावना रहने महाशाखाले जनाएको छ । यसको असर पश्चिमी तराई भूभाग बढी प्रभावकारी हुने छ । प्रि–मनसुनपछि पनि वर्षा औसतभन्दा पनि निकै न्यून रहनेछ । अप्रिलमा काठमाडौंमा औसत ६१ मिलिमिटर पानी पर्नुपर्नेमा हालसम्म जम्मा ९ मिलिमिटर मात्रै वर्षा भएको छ । यद्यपि, प्रि–मनसुन जारी नै छ ।

हिउँदे वर्षा अभावका कारण यो वर्ष पुस महिनाअगावै डढेलो र आगलागी सुरु भएको थियो । पुसमा हिमाली जिल्लामा सुरु भएको आगलागीको क्रम चैत दोस्रो सातासम्ममा देशैभरि नै देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गत वर्षको तुलनामा यो वर्ष १४ गुणा बढी डढेलो लागेको छ । जसलाई वायु प्रदूषणको स्थानीय मुख्य कारण मानिएको छ । प्राधिकरणका अनुसार वैशाखदेखि हालसम्म दुई हजार चार सय १९ स्थानमा डढेलोसहितका भौतिक आगलागीका घटना भएका छन् । जसमा परेर ८९ जनाको मृत्यु र  तीन सय ६३ जना घाइते भएका छन् । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ । लामो समय पानी नपरेर सुख्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेकाले डढेलोका घटनाहरू बढिरहेको छ । प्राधिकरणका प्रवक्ता उद्धवप्रसाद रिजालका अनुसार नेपालमा मंसिरदेखि जेठसम्म नै डेढेलो लाग्ने भए पनि मार्च र अप्रिल महिनामा डढेलोका घटनाहरू बढी हुन्छन् । सबैभन्दा धेरै डढेलो अप्रिलमा लाग्छ । तर, यो वर्ष मार्चको तेस्रो सातादेखि नै नासाको स्याटेलाइटले नेपालको पूर्वदेखि पश्चिमसम्म आगो लागेका राताम्ये तस्बिर खिचेर पठाउन थालिसकेका थियो । यद्यपि, स्याटेलाइटले भीरमा र बादलमुनि भएका आगलागीका तस्बिर खिच्दैन । 

वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा मात्रै नेपालभर पाँच सय ३० स्थानमा डढेलो लागिरहेको छ । डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको छ । एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा छन् ।

प्रि–मनसुनसमेत समयमै सुरु नहुँदा तराई क्षेत्रसमेत जोखिममा : वातावरणविद्
काठमाडौंको भौगोलिक बनावटका कारण वायुको प्रभाव कम हुनेबित्तिकै प्रदूषणको तह ह्वात्तै बढ्न थालेको छ । प्रि–मनसुनसमेत समयमै सुरु नहुँदा तराई क्षेत्रसमेत जोखिममा छ । स्थानीय प्रदूषण अर्थात् सवारीसाधन, निर्माण स्थल र कलकारखानाबाट उत्पादिन प्रदूषणसँगै छिमेकी देशहरूबाट भित्रिने प्रदूषणले वायुमा प्रत्यक्ष प्रभाव पारिरहेको विज्ञहरू बताउँछन् ।

बढ्दो सहरीकरणले वातावरणमा पार्ने प्रत्यक्ष प्रभावको मुख्य उदाहरण वायु प्रदूषणलाई मान्न थालिएको छ, जुन समयक्रमसँगै बढ्दै जान्छ । वातावरणविद् ऋषिराम शर्मा भन्छन्, ‘केही दिनअगाडि पानी पर्दा मौसम सफा देखिएको थियो, पुनः एक्युआई लेभल बढ्दै गएको छ । सामान्यतया हेर्दा प्रदूषणको समस्या क्षणिक देखिए पनि यो दीर्घकालीन समस्या हो । यही ट्रेन्डमा विकास र विनाश भइरहने हो भने केही समयपश्चात् हिउँदको समयमा काठमाडौं वायु प्रदूषणका कारण बस्नलायक ठाउँ रहँदैन ।’

सुझावित समाचार