उनीहरूको उद्देश्य इतिहासमा गुमनाम महिलाको जीवनको अध्ययन गर्नु र २१औँ शताब्दीको समस्याको समाधान खोज्नु हो
तपाईंले कहिल्यै त्यस्तो समाजको कल्पना गर्नुभएको छ, जहाँ महिलाहरूले खेतमा काम गर्छन्, घरमा गारो लागाउँछन्, विद्यालयमा पढाउँछन्, केटाकेटी हुर्काउँछन्, वस्तुभाउ र रुखबिरुवाको हेरचाह गर्छन्, जहाँ अस्पतालदेखि पसलसम्मको सबै काम उनीहरूले नै गर्छन् । तर, सबैभन्दा ठूलो विषय उनीहरूले यो सबै काम विनाकुनै पुरुष हस्तक्षेप गर्छन्, जहाँ उनीहरू स्वतन्त्र छन्, बराबर छन् र त्यहाँ सबैका लागि समान स्थान छ । उनीहरू बेखौफ छन्, सुरक्षित छन् र आत्मनिर्भर छन् । सुन्दाखेरी यस्तो ठाउँ एउटा फेमिनिस्ट युटोपियाझैँ लाग्छ । तर, पितृसत्ताको धुरीमा जेलिएर सञ्चालित यो संसारमा त्यस्तो एउटा गाउँ पनि छ, जहाँ यही सपना लिएर त्यहाँका महिलाहरू बाँचिरहेका छन्, जसको सपना विश्वभरका अनगिन्ती महिलाहरूले हेर्ने गर्छन् । ‘जिनवर’ उत्तरी सिरियामा स्थित एउटा गाउँ हो, जसलाई रोजावा (डेमोक्रेटिक फेडरेसन अफ नर्दन सिरिया) का केही कुर्दिस महिलाहरूले बसाएका छन् । कबाज पर्वतको नजिकै अवस्थित यो गाउँको निर्माण सन् २०१६ बाट सुरु भएको हो । जसलाई दुई वर्षपछि (अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका दिन) ती सबै सिरियाई महिलाका लागि खोलियो, जो गृहयुद्धबाट पीडित छन् । यहाँ पुरुषलाई निषेध गरिएको छ ।
कुर्दिस भाषामा जिनवरको अर्थ– ‘महिलाको भूमि’ भन्ने हुन्छ । अहिलेसम्म यहाँ ३० घर, एउटा विद्यालय– ‘अल–ओम अविस’, एउटा म्युजियम, एउटा क्लिनिकको निर्माण गरिसकिएको छ । यहाँ एउटा जिनवर एकेडमी पनि स्थापित गरिएको छ, जहाँ महिलाहरूलाई ‘जिनोयोलोजी’ र त्यसको विभिन्न शाखाबारे अध्ययन गराइन्छ । कुर्दिस भाषामा ‘जिन’को अर्थ महिला वा जीवनसँग सम्बन्धित छ । यो ग्रिक भाषाको शब्द लोगोससँग जोडिएर जिनियोलोजी बनेको हो, जसको अर्थ महिला वा जीवनको विज्ञान भन्ने हुन्छ । जिनियोलोजी शब्दलाई सबैभन्दा पहिले सन् २०१२ मा कुर्दिस महिलाको आन्दोलनले स्थापित गरेको थियो । यसलाई अब रोजावाको शिक्षा व्यवस्थाको अनिवार्य अंगका रूपमा सामेल गरिएको छ । जिनियोलोजीले कुनै पनि प्रकारको शोषणको व्यवस्थालाई नकार्दै समतापूर्ण समाजको स्थापनाका लागि प्रयत्न गर्छ । यो सिद्धान्तले एउटा समूहमाथि अर्को समूहको वर्चस्वको कुनै पनि सिद्धान्त र दाबीको धुर आलोचना गर्ने गर्छ । उनको सिद्धान्तले विश्व र समाजको प्रत्येक अंग अर्थात् अर्थ–व्यवस्था, पारिस्थितिकी, इतिहास, स्वास्थ्य, शिक्षा एवं राजनीतिमा समतापूर्ण एवं स्वतन्त्रता भएको व्यवस्थालाई परिभाषित गर्छ । उनीहरूको उद्देश्य इतिहासमा गुमनाम महिलाहरूको जीवनको अध्ययन गर्नु, प्रकृतिमा आधारित पुरानो अर्थव्यवस्थालाई अपनाउने र आधुनिक शिक्षाका माध्यमबाट २१औँ शताब्दीको समस्याको समाधान खोज्नु हो ।
यसको अन्तर्यमा पितृसत्ता र पुँजीवादी व्यवस्थाले सिर्जेको शोषणको अन्त्य गर्दै नयाँ व्यवस्थाको भ्रूण विकास गर्ने सपना छ ।
यसको अन्तर्यमा पितृसत्ता र पुँजीवादी व्यवस्थाले सिर्जेको शोषणको अन्त्य गर्दै नयाँ व्यवस्थाको भ्रूण विकास गर्ने सपना छ । उनीहरूका अनुसार महिलाको स्वतन्त्रताबाटै समग्र विश्वमा स्वतन्त्रता सुनिश्चित गर्न सकिन्छ । जिनवर गाउँ उनीहरूको त्यस्तै एउटा प्रोजेक्ट हो, जहाँ उनीहरू आफ्नो सिद्धान्तलाई प्रयोग गर्न चाहन्छन् । जिनवरमा महिलाहरूलाई जीवनयापनका लागि मात्रै होइन कि आत्मरक्षाका लागि पनि प्रशिक्षण दिइन्छ । जिनियोलोजीको आफ्नो छुट्टै खाले चिकित्सा विज्ञान छ, जसमा महिलाहरूलाई प्राकृतिक चिकित्सकीय परम्पराबारे अध्ययन र अनुसन्धान गराइन्छ । कला, साहित्य, पर्यावरण एवं इतिहास जिनवरको विद्यालयमा खासगरी पढाउने गरिन्छ । यहाँ शरण लिने अधिकांश महिलाहरू आइएसआइएसबाट बर्बरता, बलात्कारको सिकार भएका छन् । त्यसैले जिनवरले यस्तो कम्युनिटी सेन्टरको निर्माण गरेको छ, जहाँ उनीहरू हिंसाको मनोवैज्ञानिक उपचारका माध्यमबाट उनीहरूलाई जीवनप्रति अभिप्रेरित गर्छन् ।
त्यहाँ बस्दै गरेका महिलाहरूका अनुसार उनीहरू आफ्नो जीवनकालभरि त्यहाँबाट बाहिर जान चाहन्नन् । जिनवरको अर्थव्यवस्था सम्पूर्ण रूपमा आत्मनिर्भरतामा आधारित छ । त्यहाँ बस्ने प्रत्येक महिलाले आफ्नो जीवनयापनका लागि आवश्यक हरेक वस्तुको उत्पादन स्वयं नै गर्छन् । जिनवरको तुलना केन्याको उमोजा नामको मातृसत्तात्मक गाउँसँग गर्ने गरिएको छ । त्यहाँ हिंसाको सिकार भएकी महिला, विधवा र बिहे बिग्रेका महिलाहरू, घरबारविहीन सांबुरु महिलाले ९० को दशकमा बनाएका थिए । सांबुरु मसाई जनजातिको एउटा शाखा हो, जसमा महिलालाई जनवर र वस्तुजत्तिकै बुझ्ने गरिन्छ । उनी जेनिटल म्युटिलेसन, जबर्जस्ती बिहे, बलात्कार र घरेलु हिंसाको सिकार हुने गर्थिन् । ९० को दशकमा ब्रिटिस सैनिकद्वारा बलात्कारको सिकार हुने झन्डै १४ सय सांबुरु महिलाले आफ्ना पतिलाई छाडेर उमोजा गाउँ बसाएका थिए । त्यसपछि ती सबै महिला त्यो गाउँमा बस्न थाले, जो कुनै न कुनै प्रकारले पीडित थिए । जबकि सांबुरु समाजका पुरुषले कैयौँपटक उमोजा गाउँलाई विखण्डित गर्ने प्रयास गरे । यति मात्र नभएर उमोजा गाउँको छेवैमा पुरुषहरूको गाउँ पनि बसाइयो, तर त्यो असफल रह्यो ।
(त्रिपाठी दिल्लीमा बसेर पत्रकारिता गर्छिन्)
जनपथबाट