‘एसियन शताब्दी’ आइसकेको हो ?

आइतबार, २२ चैत, २०७७
डिजिटल संस्करण

एसिया अहिले प्रमुख विश्वशक्ति हो, तर एकीकृत, सामूहिक नेतृत्वको विकास गर्न सक्यो भने मात्र २१औँ शताब्दी एसियाको शताब्दी हुनेछ 

कोभिड–१९ महामारी पश्चिमका लागि दुःस्वप्न साबित भयो । अधिकांश पश्चिमी सरकार प्राणघातक प्रकोप नियन्त्रण गर्न असफल भए, जसकारण अभूतपूर्व आर्थिक क्षति भयो । आत्मकेन्द्रित तथा संरक्षणवादी नीति पछ्याएकाले पश्चिमले कोरोनाविरुद्धको अन्तर्राष्ट्रिय अभियानमा पनि प्रभावकारी योगदान गर्न सकेन । यस पृष्ठभूमिमा केहीले वर्तमान संकट एसियाको पुनरोदयका लागि निर्णायक बिन्दु साबित भएको मानेका छन् । यस्तो दाबी गर्नेले एसियाली राष्ट्रले पश्चिमले भन्दा महामारीविरुद्ध राम्रो काम गरेको दलिल पेस गर्छन् । साथै, एसियाली देशले विगत आधा शताब्दीदेखि जुन बलियो र निरन्तरको आर्थिक प्रगति गरिरहेका छन्, त्यसबाट यस क्षेत्रको प्रशासन प्रणालीको उच्चता प्रमाणित भएको तर्क पनि गरिन्छ । 

तर, यथार्थ यति सहज छैन । यो क्षेत्रले एकीकृत तथा सामूहिक नेतृत्व विकास गर्न सक्यो भने मात्र २१औँ शताब्दी एसियाको हुनेछ । एसिया अहिले पनि प्रमुख विश्वशक्ति हो । विश्वको ६० प्रतिशत जनसंख्या यहीँ बसोवास गर्छन् । पर्चेजिङ पावर प्यारिटी (पिपिपी)का आधारमा विश्वको कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत हिस्सा यो क्षेत्रमा पर्छ । विश्वका सबैभन्दा घना १५ राष्ट्रमध्ये आठवटा (चीन, भारत, इन्डोनेसिया, पाकिस्तान, बंगलादेश, जापान, फिलिपिन्स र भियतनाम) यही महादेशमा छन् । एकथरीले एसिया भनेर मुख्यतः चीनलाई मात्र बुझ्छन्, उल्लेखित राष्ट्रको नामले यसलाई गलत साबित गर्छ । 

पिपिपीका आधारमा विश्वका तेस्रो र चौथो ठूलो अर्थतन्त्र क्रमशः भारत र जापान पनि आर्थिक महाशक्ति हुन् । ५० वर्षको अवधिमा जापान, सिंगापुर, दक्षिण कोरिया र ताइवानको प्रतिव्यक्ति आयमा तीव्र वृद्धि भएर पश्चिमी राष्ट्रको हाराहारीमा पुग्यो । चीन, भारत, इन्डोनेसिया र भियतनामले उही मार्ग पछ्याइरहेका छन् । आगामी दशकमा समेत एसियाको विकास सबल हुने प्रक्षेपण छ । म्याक्किन्से एन्ड कम्पनीका अनुसार सन् २०४० सम्म एसियाले विश्वको कुल गार्हस्थ्य उत्पादनको आधा हिस्सा ओगट्नेछ । साथै, विश्वको ४० प्रतिशत उपभोग यही क्षेत्रमा हुनेछ । 

आलोचकहरू कैयौँ घरेलु चुनौतीका कारण यस क्षेत्रको दिगो विकासमा अवरोध आउन सक्ने भविष्यवाणी गर्छन् । पूर्वी एसियाका चीन, जापान र दक्षिण कोरियाको जनसंख्या तीव्र गतिमा बूढो भइरहेको छ । यस प्रक्रियाबाट जनसंख्या खुम्चने भएकाले विगतमा बलियो आर्थिक वृद्धि थेग्ने युवा जनसंख्याको कमी हुन सक्छ । आलोचकहरू यस क्षेत्रको बढ्दो असमानताले सामाजिक तथा राजनीतिक अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिन्छन् । अधिनायकवादी सरकार भएका एसियाली देशले आफ्नो जनसंख्याको उच्च जीवनस्तर र प्रजातन्त्रको बढ्दो माग पूरा गराउन सकेनन् भने राजनीतिक प्रतिरोध उत्पन्न हुन सक्छ । 

तर, विगतमा एसियाली नीतिनिर्माताले सबल तथा दिगो विकासका सामु आएका अवरोधहरूलाई सफलतापूर्वक सम्बोधन गरेका छन् । पूर्वी एसियाका सरकारहरू विशेषतः व्यावहारिक तथा तुलनात्मक रूपमा कम भ्रष्ट देखिन्छन् । धेरैले शिक्षा, स्वास्थ्य सेवा र सूचना तथा सञ्चार प्रविधि सम्बन्धमा गरेका वाचालाई पूरा गरेका छन् । सुशासनले बजारको प्रभावकारी कार्यसम्पादनमा सघाउ पु¥याएको छ । एसियाली मुलुकहरूले प्रतिस्पर्धी निजी क्षेत्रको प्रत्याभूत गरेका छन् । शिक्षित तथा सीपयुक्त श्रमशक्ति तथा उचित आर्थिक नीतिका कारण त्यस क्षेत्रमा बलियो निर्यात उद्योग विकास भएको हो । एसियाली फर्मले चालेका कदम सन् २००८ को विश्व वित्तीय संकट तथा कोभिड–१९ महामारीविरुद्ध प्रभावकारी ठहरियो । 

तर, अहिलेकै सन्दर्भमा एसियाली शताब्दी सुदूर सम्भावनाजस्तो देखिन्छ । एकताको अभाव यसको प्रमुख कारण हो । निश्चित रूपमा चीन आर्थिक तथा सैन्य महाशक्ति हो, तर यस क्षेत्रका प्रजातान्त्रिक मुलुकलाई यसको अधिनायकवादी शैलीले आकर्षित गर्दैन । जापान र भारत आफैँमा प्रमुख क्षेत्रीय तथा विश्व खेलाडी हुन् । हुन त आर्थिक तथा राजनीतिक भिन्नता समाधानका लागि आसियान र इस्ट एसिया समिटजस्ता समूह गठन भएका छन् । तर, एसियाली नेतामाझ अझै क्षेत्रीय एकता तथा सहकार्यको साझा दृष्टिकोण पाइँदैन । साउथ चाइना सी, कोरियाली प्रयाद्वीप तथा चीन–भारत सिमानामा भूराजनीतिक विवाद देखिएको छ । जसले युद्धको सम्भावना पनि बढाएको छ । भोलि युद्ध भड्किहाल्यो भने त्यसले क्षेत्रीय शान्ति र समृद्धिको उद्देश्यमा गम्भीर अवरोध सिर्जना हुनेछ । 

एसियाको निर्यात अमेरिका र युरोपेली संघमाथि निर्भर छ । कोभिड–१९ ले विश्वव्यापी सप्लाई चेनमा अवरोध पु¥याएको परिप्रेक्षमा उद्योगहरूले आफ्ना उत्पादन सञ्जाललाई स्थानीयकरण र क्षेत्रीयकरण गर्न रुचाउने सम्भावना छ । यो परिवर्तनले एसियाली देशबीचको व्यापारिक सम्बन्धलाई सघन बनाउन सक्छ । बढ्दो मध्यम वर्गले उत्पादनको माग सिर्जना गर्नेछ । तर, अमेरिका र युरोपेली संघलगायत अफ्रिका र ल्याटिन अमेरिकाका उदाउँदो बजार एसियाको महत्वपूर्ण व्यापारिक सहयात्री रहिरहनेछन् । एसियाको भविष्य विश्वस्तरको व्यापार संरक्षणवादलाई कसरी रोक्न र अमेरिका–चीनबीचको रणनीतिक प्रतिस्पर्धालाई न्यूनीकरण गर्न यसले लिने पहलकदमीमा निर्भर हुन्छ ।  चीन र अमेरिकाबीचको सहकार्य र सम्झौताबाट मात्र एकीकृत एसियाली नेतृत्व उदाउन सम्भव छ ।

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य
एसियाली विकास बैंकका पूर्वप्रमुख अर्थशास्त्री ली जोङ–व्ह कोरिया विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । 
 

सुझावित समाचार