अन्तिम लडाइँ लडिरहेको छ म्यानमारको नयाँ पुस्ता

४० दिन सैन्य कु भोगेका बैंकर अर्जुनको यांगुन अनुभव

शुक्रबार, २० चैत, २०७७
डिजिटल संस्करण

अहिले बर्मेली सडकमा तातो रगत बगाइरहेको पुस्ता त्यही हो, जसका हजुरबाहरू सन् १९६२ मा लडे, तर जितेनन् । सन् १९८८ मा उनीहरूका बा लडे, तर जितेनन् । अहिलेको पुस्ता फेरि त्यही लडाइँ लडिरहेका छन् । तर, यो पुस्ता यत्तिकै रोकिनेवाला छैन । त्यहाँ अहिले एउटा नारा चर्किरहेको छ, ‘कि उनीहरू मर्छन् कि उनीहरू नै मर्छन् ।

१ फेब्रुअरी बिहान ६ बजे । म्यानमारको यांगुन सहरको एक गल्लीको फ्ल्याटमा निदाइरहेका थिए अर्जुन भण्डारी (कैलाली, धनगढी) । अचानक कसैले अर्जुनको फ्ल्याटको ढोका ढकढकायो, उनलाई ब्युँझाइदियो । अर्जुनलाई लाग्यो, ‘यति बिहान ढोका ढकढकाउन को आइपुग्यो !’ १९ महिने म्यानमार बसाइमा पहिलोपटक कसैले उनी बसेको फ्ल्याटको ढोका यसरी ढकढकाएका थिए । 

उठेर ढोका खोले । छिमेकी रहेछन् म्यानमारकै स्थानीय, एउटै अफिसमा काम गर्ने उनको साथी । ढोका खुल्नसाथ हतास मुद्रामा ती बर्मेली युवा बोले, ‘बाहिर कतै ननिस्कनू । भित्रै बसिरहनू । सेनाले कु गर्यो ।’ ती बर्मेलीले थपे, ‘तिम्रो वाइफाई चलिरहेको छ साथी ?’ अर्जुनले मोबाइल चेक गरे, नेटवर्क थिएन । वाइफाइ भने चलिरहेको थियो । तर, वाइफाइ पनि १५ मिनेटपछि चल्न छाड्यो । 

म्यानमारको एक बैंकमा काम गर्न अर्जुन १९ महिनाअघि म्यानमार पुगेका थिए । उनले सन् २०१६ मा भारतबाट सिए पास गरेका हुन् । केही समय नेपालमा पनि काम गरे । अनि म्यानमारको यांगुन पुगेका थिए बैंकको म्यानेजर बनेर । दुई वर्षको कन्ट्राक्ट सकिन बाँकी थियो, तर बीचमै सेनाले कु गरिदियो । उनले चार पाँचदिनदेखि नै कुको हल्ला त सुनेका थिए । सेनाको प्रवक्ताले यसको संकेत गरिसकेका पनि थिए । तर, अर्जुनले अनुमान गरेका थिएनन्, १ फेब्रुअरीमै कु हुनेछ ।

आन्दोलनकर्मी स्वतःस्फूर्त सडकमा आइपुगेका थिए । आन्दोलन जनताले गरेका थिए, कुनै राजनीतिक पार्टीले होइन । नेपालको आन्दोलनलाई नजिकबाट देखेको मलाई त्यहाँको आन्दोलनले खुब प्रभावित पार्यो । 

सेनाले प्रजातान्त्रिक सरकार अपदस्त गरेको दोस्रो दिनबाट बर्मेली जनता सडकमा उत्रन थाले । आन्दोलन चर्कँदै गयो । अर्जुन भने फ्ल्याटको झ्यालबाट आन्दोलनका दृश्य हेरिरहन्थे । कहिलेकाहीँ तरकारी बजारसम्म जान्थे, पचास–सय मिटर परसम्म । भिपिएन एप चलाउँथे, त्यहीँबाट नेपालका साथीभाइसँग ‘कनेक्ट’ हुन्थे । तर, आन्दोलनमा भने उनले अचम्मको दृश्य देखे । अर्जुन सुनाउँछन्, ‘आन्दोलनकर्मी स्वतःस्फूर्त सडकमा आइपुगेका थिए । आन्दोलन जनताले गरेका थिए, कुनै राजनीतिक पार्टीले होइन । नेपालको आन्दोलनलाई नजिकबाट देखेको मलाई त्यहाँको आन्दोलनले खुब प्रभावित पार्यो ।’ 

उनका अनुसार आन्दोलनकर्मी सडकमा निस्केर नाराबाजी गर्थे । सुरक्षकर्मी आएर तितरवितर पाथ्र्यो । बन्दुक पड्काउन थाल्थ्यो । आन्दोलनकर्मी भाग्थे । मूल सडक छाडेर गल्लीतिर जान्थे । गल्लीका घरहरूका गेट खोलेर घरबेटीले आन्दोलनकर्मीलाई घरभित्र छिराउँथे । र गेट बन्द गर्थे । आर्मीको गोलीबाट जोगाउँथे । अर्जुनले आफ्नो फ्ल्याटको झ्यालबाट तल गल्लीमा देख्थे, रातिराति ठुल्ठूला डेक्चीमा खाना पाकिरहेको हुन्थ्यो । बिहानै खाना गाडीमा हालेर आन्दोलनकर्मी भएठाउँमा पुर्याइन्थ्यो । आन्दोलनकर्मीलाई पानी, अन्डा, खानाको व्यवस्था हुन्थ्यो । ‘ती दृश्यले साह्रै प्रभावित गर्यो । जनताको परिवर्तनप्रतिको त्यस्तो चाहना र संलग्नता मैले कतै देखेको थिएन,’ अर्जुन सुनाउँछन्, ‘त्यो खासमा परिवर्तनको भोक थियो । न्यायको खोज थियो ।’ 

बिहानको १ बजेदेखि ९ बजेसम्म हरेक दिन इन्टरनेट बन्द हुन्थ्यो । त्यसपछि भने चल्थ्यो । फाइनान्सियल सिस्टम सुचारु गर्न सैनिक सरकार इन्टरनेट ‘अन’ गर्न बाध्य भएको अर्जुन बताउँछन् । सामाजिक सञ्जाल सबै बन्द गरिदिएका थिए । त्यसकारण अर्जुनले पनि भिपिएन एप प्रयोग गरे ।

अर्जुनको फ्ल्याटनजिकै किराना पसल थियो । एक साँझ ८ बजेतिर अन्डा किन्न पसल जान बाहिरिएका थिए । अचानक बाहिर सबैतिर बत्ती निभ्यो । ढोका ढकढकाउने त्यही छिमेकीले देखेछन्, अर्जुनको कोठामा त बत्ती बलिरहेको छ । हतारहतार ती बर्मेली युवा आएर अर्जुनलाई भने, ‘गएर छिटो बत्ती अफ गर ।’ अनि पो अर्जुन आत्तिए ! हतारहतार गएर बत्ती निभाए । अर्जुनलाई थाहा थिएन, बत्तीहरू अचानक किन निभे ? पछि पत्तो पाए, आर्मीले जहाँ बत्ती देख्यो, त्यहीँ बन्दुक हान्ने रहेछ । ‘जता जता बत्ती बलेको देख्यो, त्यहीँ त्यहीँ गोली हान्ने रहेछन् । धन्न जोगिएँ म,’ अर्जुन सुनाउँछन्, ‘त्यसरात अँध्यारोमै बसेँ । बिस्कुट खाएर सुतेँ ।’

कु भएपछिका ४० दिन यांगुनमै बसे अर्जुन । सर्वसाधारणका घरका झ्याल ताकेर आर्मीले गोली हान्थे । पर्किङ गरिएका गाडीका सिसाहरूमा गोली ठोक्थे । अर्जुनकाअनुसार जनतालाई त्रसित बनाउन पटाका पड्किएजसरी गोलीका आवाजहरू आइरहन्थे । तर पनि २० देखि ३० वर्षका युवाहरू सडक छोपिनेगरी सडकमा उत्रन्थे । गोली पड्किरहेकै हुन्थ्यो । कहिले ती युवाको छातीमा, कहिले टाउकोमा, कहिले खुट्टामा दागिन्थे गोलीहरू । तर, आन्दोलन रोकिने कुनै छाँटकाँट थिएन । अर्जुनले काम गर्ने बैंकमा कार्यरत स्टाफहरू पनि आन्दोलनमै होमिएका थिए । 

म्यानमारको जस्तो अवस्था र परिवेशमा जोकोही भए पनि सडकमा उत्रन्थ्यो नै । त्यहाँ यस्तो अवस्था छ, जहाँ जीवनको होइन, स्वतन्त्रता र प्रजातन्त्रको मात्रै मतलब छ । जीवनभन्दा महत्वपूर्ण स्वतन्त्रता हुँदो रहेछ भन्ने त्यहीँ बुझेँ, देखेँ मैले ।

‘अहिले बर्मेली सडकमा तातो रगत बगाइरहेको पुस्ता त्यही हो, जसको हजुरबाहरू सन् १९६२ मा लडे, तर जितेनन् । उनीहरूका बा सन् १९८८ मा लडे, उनीहरूले पनि जितेनन्,’ अर्जुन सुनाउँछन्, ‘अहिलेको पुस्ता फेरि त्यही लडाइँ लडिरहेका छन् । तर, मैले देखेको यत्ति हो, यो पुस्ता यत्तिकै रोकिनेवाला छैन । त्यहाँ अहिले एउटा नारा चर्किरहेको छ, ‘कि उनीहरू मर्छन् कि उनीहरू नै मर्छन् ।’ सन् १९८८ मा भने यही पुस्ताको बा पुस्ताले भन्थे कि उनीहरू मर्छन्, कि हामी मर्छौँ ।’ 

अर्जुनले आन्दोलनकर्मीको अनुहारमा देखेको एउटै दृश्य थियो– एकदमै आशाविहीनता, भविष्यप्रतिको भय । २० देखि ३० वर्षमा हिँडेको पुस्ताले १० वर्ष आंशिक भए पनि प्रजातन्त्र महसुस गरे । सामाजिक सञ्जालबाटै भए पनि दुनियाँ देख्न पाए । दुनियाँमा हुने अभ्यास, बोल्ने र बाँच्ने स्वतन्त्रता देखे । तर, सेनाको कुपछि त्यही अँध्यारो संसारमा फर्के, जुन संसारमा उनीहरूको हजुरबा र बा पुस्ता बाँच्न बाध्य भएका थिए । ‘त्यो अवस्था र परिवेशमा जोकोही भए पनि सडकमा उत्रन्थ्यो नै । त्यहाँ यस्तो अवस्था छ, जहाँ जीवनको होइन, स्वतन्त्रता र प्रजातन्त्रको मात्रै मतलब छ । जीवनभन्दा महत्वपूर्ण स्वतन्त्रता हुँदो रहेछ भन्ने त्यहीँ बुझेँ, देखेँ मैले ।’ 

अर्जुनले गत ८ मार्चमै रााजीनामा बुझाइसकेका थिए । १२ मार्चमा नेपाल फर्के । बर्मातिरै रहने एक नेपाली साथीले मलेसियाको क्लालालम्पुरसम्मको टिकट मिलाइदिए । क्लालालम्पुरबाट नेपालको एयरपोर्टमा झरे । अब फेरि म्यानमार नजाने सोचमा छन् उनी ।

कालिकास्थानको हिमालयन कफी बिन्समा कफीसँग अर्जुनको म्यानमार अनुभव सुनिरहँदा अचानक उनले बर्मेली साथी सम्झिए । अर्जुन त नेपाल फिरे । तर, उनका बर्मेली दोस्त उतै थिए, आन्दोलनमै थिए । अहिलेसम्म पाँच सय बढी आन्दोलनकर्मीको जीवन गोलीले उडाइसकेको छ । अर्जुनको एक दिनअघि मात्रै ती बर्मेली साथीसँग कुराकानी भएको रहेछ । उनका अनुसार ती साथीले भनिरहेका थिए रे, ‘सेना हामीलाई बन्दुकको भरमा डर सिर्जना गरेर शासन गर्न खोजिरहेछ । टाउकोमा ताकेर गोली ठोकिरहेको छ । तर, हामी रोकिनेवाला छैनौँ । हाम्रो हजुरबा, बा पुस्ता प्रजातन्त्रको असफल लडाइँ लडिसके । तर, यो लडाइँ त्यस्तो हुनेवाला छैन । यो हाम्रो पुस्ताले लड्ने अन्तिम लडाइँ होे ।’

सुझावित समाचार