मिथ्या सूचनाको जालो तोड्न तथ्य जाँच

शुक्रबार, २० चैत, २०७७
डिजिटल संस्करण

जसरी संक्रमितको सम्पर्कबाट कोरोना सर्छ, त्यसरी नै मिथ्या सूचना पनि फैलिन्छ, तसर्थ मिथ्या सूचनाको सम्पर्कमै नआउनुस्

 २८ फागुनमा एआइजी हरिबहादुर पालले चारजनालाई साढे दुई किलो युरेनियमसहित पक्राउ गरेको दाबी गर्दै पत्रकार सम्मेलन गरे । तीमध्ये एकजनाको ठेगाना ‘जिल्ला रामेछाप, बागजोर नगरपालिका–४’ भएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख थियो । त्यहीअनुसार सबै मिडियामा यसै व्यहोराका समाचार आए । तर, रामेछापमा मात्र होइन, नेपालभरि नै कतै बागजोर नाम गरेको न नगरपालिका छ, न गाउँपालिका । हुँदै नभएको नगरपालिकाको नाम दिएर प्रहरीले सबैलाई झुक्यायो । 

नगरपालिकाको नाम गलत भएर त खासै तात्विक अन्तर नपर्ला । तर, सबै मिथ्या सूचनाको असर यतिमा सीमित हुँदैन । कुनै अवस्थामा त ज्यानै जानेसम्मको विषम परिस्थिति पनि सिर्जना हुन सक्छ । ०५७ सालमा देशभर चर्किएको आन्दोलनका क्रममा उत्तेजक भिडमा प्रहरीले गोली चलाउँदा पाँचजनाको मृत्यु भयो । मिथ्या सूचनाकै कारण यस्तो स्थिति निम्तिएको थियो । ‘म नेपाल र नेपालीलाई घृणा गर्छु’, भारतीय कलाकार ऋतिक रोशनले एउटा टेलिभिजन अन्तर्वार्तामा यस्तो भनेको मिथ्या सूचना फैलिएकै कारण विभिन्न स्थानमा साम्प्रदायिक हिंसासमेत भड्किएको थियो । 

त्यतिवेला नेपालमा इन्टरनेट सहज नभइसकेका कारण सामाजिक सञ्जाल हुने कुरै भएन । तर, पनि देशव्यापी रूपमा यो मिथ्या सूचना अहिलेको भाषामा भन्दा ‘भाइरल’ हुन पुगेको थियो । उतिवेला र अहिलेको परिस्थिति फरक छ । अहिले मिथ्या सूचनालाई काउन्टर दिन विश्वभर एउटा फरक र विशिष्ट विधाको अभ्यास हुने गरेको छ– तथ्य जाँच, जसलाई अंगे्रेजीमा ‘फ्याक्ट चेक’ भनिन्छ । प्रत्येक वर्ष अप्रिल २ तारिखका दिन अन्तर्राष्ट्रिय तथ्य जाँच दिवस मनाउने गरिन्छ । 

के हो मिथ्या सूचना ? : सञ्चार गर्ने क्रममा मिथ्या खबरको प्रयोग पत्रकारिता सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै भएको पाइन्छ । महाभारत युद्धमा द्रोणाचार्यलाई पराजित गर्न फैलाइएको अश्वत्थामा मृत्युको खबरदेखि रामायण कालमा सीता अपवित्र रहेको भन्दै फैलाइएको खबरसम्म अनि पछिल्लो समयमा पीत पत्रकारिता वा प्रोपोगान्डा भनिएका सबै सञ्चार सामग्रीलाई मिथ्या सूचनाका रूपमा लिन सकिन्छ ।

नेपालको परिप्रेक्ष्यमा पनि मिथ्या सूचना नयाँ होइन । पत्रपत्रिकामा समेत प्रोपोगान्डाका रूपमा अथवा पत्रकारका कमजोरीका कारण मिथ्या सूचना वेलावेलामा आउने गरेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अहिले मिथ्या सूचना फैलाउनमा यसले सघाउँदै आएको देखिन्छ । कुनै पनि सूचना मिथ्या नहुन त्यसमा प्रयोग गरिएका तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र सन्दर्भ ः सबै सही, पूर्ण र तर्कसंगत हुनु जरुरी हुन्छ । यीमध्ये कुनै एकमा प्रश्न गर्न सकिने अवस्थामा त्यो सामग्री मिथ्या सूचना हुने सम्भावना रहन्छ ।

युनेस्कोले मिथ्या सूचनालाई तीन प्रकारमा वर्गीकरण गरेको छ– ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ । कुनै सूचना गलत हुन्छ, तर फैलाउनेले त्यसलाई सही ठानेर फैलाइरहेको छ भने त्यसलाई मिसइन्फर्मेसन भनिन्छ । फैलाउनेलाई गलत हो भनेर थाहा हुन्छ, तर त्यसो हुँदाहुँदै पनि जानाजानी र नियतवश अरूलाई भ्रमित पार्न फैलाइने सूचनालाई डिसइन्फर्मेसन भनिन्छ । यी दुई प्रकारभन्दा तेस्रो प्रकार मालइन्फर्मेसन अझ घातक हुन्छ । किनभने यो देश, व्यक्ति, कुनै संस्था वा समूहप्रति हानि पुर्याउने उद्देश्यले फैलाइन्छ । 

सांसद, नेता, शिक्षक र समाजका अगुवा मात्र होइन, स्वयं प्रधानमन्त्रीले समेत मिथ्या सूचना फैलाएको हामीले पाएका छौँ । कोरोना हटाउन तातो पानी खाने, अम्बाको पातले कुल्ला गर्नेजस्ता उपाय सुझाउने प्रधानमन्त्री ओलीले अन्त्यमा खोप लगाएर सुरक्षाको उपाय रोजे ।

कोरोना भाइरसबारे मिथ्या सूचना व्यापक रूपमा फैलन थालेपछि सेन्टर फर मिडिया रिसर्च र माई–संसार ब्लगको संयुक्त प्रयासमा अघिल्लो वर्षको अन्तर्राष्ट्रिय तथ्य जाँच दिवसको अवसर पारेर नेपालमा भाइरल भएका सूचना र मिडियामा प्रकाशित समाचारको तथ्य जाँच गर्न नेपालफ्याक्टचेकडटओआरजी सुरु भएको थियो । यसबीच हामीले कुल ११५ वटा मिस इन्फर्मेसन र डिसइन्फर्मेसनको तथ्य जाँच गर्यौँँ, जुन अधिकांश जसो सामाजिक सञ्जालमा फैलिएका थिए । केही भने मूलधारका मिडिया र अनलाइन मिडियामा आएका थिए ।

तथ्य जाँचबारे देशका विभिन्न भागमा प्रशिक्षण दिने क्रममा विधायकलगायत धेरैले यसलाई रोक्न कडा कानुनको आवश्यकता रहेको बताए । तर, कानुन कडा हुँदैमा मिथ्या सूचना रोकिने होइन । सांसद, नेता, शिक्षक र समाजका अगुवा मात्र होइन, स्वयं प्रधानमन्त्रीले समेत मिथ्या सूचना फैलाएको हामीले पाएका छौँ । कोरोना हटाउन तातो पानी खाने, अम्बाको पातले कुला गर्नेजस्ता उपाय सुझाउने प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तमा खोप लगाएर सुरक्षाको उपाय रोजे । उनले कोरोनासम्बन्धी धेरै मिथ्या सूचना फैलाए । भाषणका समाचार जस्ताको तस्तै लेखेर मिडियाहरूले पनि यसलाई फैलाउन मद्दत गरे ।

यो अवधिमा हामीले केही मालइन्फर्मेसनहरूको पनि तथ्यजाँच गर्यौँ, जुन अधिकांश राजनीतिसँग सम्बन्धित थिए । प्रधानमन्त्री ओली आफैँले पनि केही मालइन्फर्मेसनहरू फैलाए । उदाहरणका लागि भीम रावलले ‘शरीरमा स्त्रीको अंग मिसिएकाले दिमागले काम गरेन’ भनेको दाबी गर्दै सामाजिक सञ्जालमा फैलियो । यसको स्रोत हामीले खोज्दा देशबाहिरबाट सञ्चालित एउटा नामै नसुनिएको ‘क्लिकबेट’बाट आम्दानी खोज्ने खालको अनलाइन थियो । उक्त अनलाइनले के उद्देश्यका साथ त्यो समाचार राख्यो, त्यो त यकिन हुन सकेन, तर पत्रकारदेखि अधिकारकर्मी र कानुन व्यवसायीले समेत रावलविरुद्ध प्रतिक्रिया सामाजिक सञ्जालमा राख्न हतार गरे । हामीले यसबारे तथ्य जाँच गरी यो गलत रहेको लेख्यौँ । तर, प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा त्यही मिथ्या सूचनालाई सार्वजनिक भाषणबाट फैलाइरहे । भन्दै नभनेको विषयलाई लिएर बदनामी गराउने उद्देश्यले गरिएको यो मालइन्फर्मेसन नै थियो । 

यसैगरी प्रचण्ड–माधव नेपाल समूहले गरेको नेपाल बन्दको क्रममा बाटोमा तरकारी फ्याँकेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो र यसैलाई लिएर प्रधानमन्त्रीले बुढीआमैको तरकारी फ्याँकेर क्रान्ति गरिएको भन्दै आलोचना गरेका थिए । हाम्रो तथ्य जाँचमा त्यो फोटो बन्दको दिन नभएर तरकारी बजार बन्द गर्न लागेको विरोधमा गरिएको केही वर्ष पुरानो भएको फेला परेको थियो । प्रधानमन्त्री आफैँ पनि मालइन्फर्मेसनको सिकार भएका छन् । स्विस बैंकमा प्रधानमन्त्री ओली र उनकी धर्मपत्नीको नाममा खाता रहेको दाबी गर्दै अनलाइनमा गरिएको प्रचार पनि प्रधानमन्त्रीको बदनामी गर्ने उद्देश्यले गरिएको मालइन्फरमेस नै थियो । किनभने त्यसको कुनै पनि प्रमाण लेख्नेसित थिएन । 

मिथ्या सूचना युद्ध : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फुट आउँदा यसका नेतादेखि कार्यकर्तासम्मले एकअर्काविरुद्ध मिथ्या सूचनाका अस्त्र निकै प्रहार गरे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको प्रोफाइलबाट जस्तो गरी उनकै फोटो र नाम राखेर आमसभा स्थगित भएको घोषणा गर्नु, आन्दोलनमा ट्याक्सी जलाउने काम सरकारपक्षीय विद्यार्थी नेताकै भएको प्रहरीले बताएको भन्दै फोटोसहित प्रचार हुनु, प्रचण्ड–माधव नेपाल समूहको जुलुसका क्रममा सहभागीले भारतीय झन्डा बोकेको फोटोको प्रचार गरिनु आदि । केही वर्षमा नेपालमा विभिन्न तहका चुनाव हुँदै छन् । त्यतिवेला यस्ता मिथ्या सूचना अझै बढ्ने निश्चित छ । 

साइन्स जर्नलमा सन् २०१८ मा प्रकाशित एउटा अध्ययनले पनि मिथ्या राजनीतिक समाचारको प्रभाव अरू खालका समाचारभन्दा बढी पर्ने देखाएको छ । तसर्थ राजनीतिक दल वा नेताबीच द्वन्द्व हुँदा मिथ्या सूचनाले समाजलाई झनै ध्रुवीकृत बनाइदिने खतरा हुन्छ । चुनावका वेला फैलिने मिथ्या सूचनाको जालोले सही उम्मेदवारका बारेमा भ्रम फैलिएर लोकतन्त्रमा नै असर पर्ने डर हुन्छ । त्यति मात्र होइन, यसले सूचनाको वातावरणलाई जानाजानी अन्योलमा पर्ने बनाइदिन्छ, सार्वजनिक सुरक्षामा चुनौती हुन सक्छ । साम्प्रदायिक सहिष्णुता र सद्भाव बिग्रिन सक्छ । सूचनाको विश्वसनीय स्रोतका रूपमा रहेको मिडिया माथि नै अविश्वास हुने स्थिति निम्त्याउन सक्छ । 

तीन वर्षअघिको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा पनि यस्तै भएको थियो । अम्बाको रुख, बम दिदीबहिनी, ओपेरा होटेलको हुँदै नभएको रुम नम्बर, भैँसी ब्याएको वेला छिमेकीले सुनेको, पक्राउ परेका आरोपित गौतम बुद्धजस्ता आदि–इत्यादि हल्लाका कारण अन्योलको वातावरण यसरी फैलियो कि अनुसन्धान बिथोलियो र आन्दोलनका कारण एकजनाको ज्यानै जाने स्थिति आइपर्यो ।

के गर्न सकिन्छ ? : मिथ्या सूचनाले दिने झुटो जानकारीका कारण नागरिकले गलत निर्णय गर्न सक्छन् । त्यसैले लोकतन्त्र बलियो बनाउन पनि मिथ्या सूचनाबाट जोगिनु र खबरदारी गर्नु आवश्यक हुन्छ । तथ्य जाँच त्यसैका लागि एक सहयोगी हो । तथ्य जाँच प्राविधिक विषय भएकाले सबैले सहजै गर्न सक्दैनन् । तर, केही यस्ता उपाय पनि छन्, जसलाई ध्यानमा राख्यौँ भने यसको कुप्रभावबाट जोगिन सकिन्छ । 

पहिलो, कुनै पनि सामग्री पढ्नेबित्तिकै तुरुन्तै विश्वास गरिनहाल्नुस्, प्रकाशित सामग्री मिथ्या पनि हुन सक्छन् भनेर सचेत हुनुहोस् । दोस्रो, समय छ भने सामग्री सही छन् कि छैनन् परीक्षण गर्नुहोस् । तेस्रो, कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् । चौथो, सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् । पाँचौँ, मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर, यसरी जानकारी गराउँदा त्यो समाचारको लिंक भने नराख्नुहोस् । बरु स्क्रिनसट राख्न सकिन्छ । 

छैटौँ, कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शंका छ भने कुनै पनि अवस्थामा ‘यो के हो भनेर सोध्नसमेत’ त्यो सामग्री सेयर नगर्नुहोस् । सही जानकारी, तथ्य जाँच सेयर गर्नुस् । 
सातौँ, कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शंका उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरू कसैले सेयर गरेको

सामग्री मिथ्या भएको थाहा भए उसलाई जानकारी गराउनुस्, तर त्यसमा रियाक्सन गर्ने वा कमेन्ट लेख्ने काम नगर्नुहोस् । त्यसो गर्दा त्यो पोस्ट झन् धेरै फैलिन सक्छ । जसरी कोरोना भाइरस संक्रमितको सम्पर्कबाट सर्छ, त्यसरी नै मिथ्या सूचना पनि फैलन्छ । तसर्थ मिथ्या सूचना वा सम्भावित मिथ्या सूचना अगाडि आए त्यससित सम्पर्कमै नआउनुस्, टाढै बस्नुस् । 

(श्रेष्ठ नेपालफ्याक्टचेकका सम्पादक हुन) 

सुझावित समाचार