प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने

शुक्रबार, २० चैत, २०७७
डिजिटल संस्करण

नेपालमा पहिलोपटक सबै निकायबाट हुने अपराधको एकीकृत तथ्यांक राखिँदै

देशका सम्पूर्ण अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ । प्रहरीबाहेक अन्य निकायबाट भएका अपराध र त्यसमा संलग्न व्यक्तिहरूको समेत एकीकृत रूपमा तथ्यांक राख्न लागिएको हो ।

कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना हुन लागेको हो । नेपालमा यसरी पहिलोपटक सबै निकायबाट हुने अपराधको एकीकृत तथ्यांक राख्न लागिएको हो । यसले अपराधमा संलग्न व्यक्तिहरूको सूचना आदानप्रदानमा सहज हुने नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । 

प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभागजस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिहरूको समेत एकीकृत तथ्यांक राखिनेछ । ‘यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानको क्रममा रहेकोसमेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुन्छ,’ कुँवरले भने । यसका लागि सफ्टवेयर निर्माणको काम सम्पन्न भइसकेको उनको भनाइ छ । 

एकीकृत अभिलेख राख्दा अन्य किमिसको अपराध तथा भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिले पनि प्रहरी रिपोर्ट नपाउन सक्छन् । हाल प्रहरीले मुद्दा दायर गरेका अपराधको रेकर्डका आधारमा मात्र प्रहरी रिपोर्ट दिने गरिएको छ । गृह मन्त्रालयकै योजनाअनुसार यसरी एकीकृत अपराध सूचना केन्द्र स्थापना हुन लागेको हो ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी दीर्घकालीन रूपान्तरण अवधारणाको मार्गचित्र निर्माणबारे छलफल अघि बढाएको छ । प्रहरी समायोजन हुन लागेकाले त्यस अवस्था आउन सक्ने चुनौतीलाई आकलन मार्गचित्र बनाउन लागेको हो । नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूको सेवाप्रतिको सन्तुष्टि र कार्यसम्पादनमा पार्ने असरका बारेमा अध्ययन अनुसन्धानको कार्य सुरु गरिएको प्रवक्ता कुँवरले बताए । यसअघि जवान र हवल्दारको समस्याको अध्ययन गरिएको थियो । 

पुराना र जोखिमपूर्ण भवनमा बसेर सेवा दिँदै आएको प्रहरीले पछिल्लो वर्ष भवन निर्माणमा प्रगति गरेको छ । यो वर्ष प्रहरीले ५० भवन निर्माण सम्पन्न गर्ने उद्देश्य लिएको र त्यसमध्ये २१ वटा सम्पन्न भएको र २० वटा निर्माणको काम भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश सरकारले प्रहरीका ३१ भवन बनाइसकेको छ । ८० वटा निर्माणको क्रममा छन् भने २६ वटा टेन्डर प्रक्रियामा छन् । 

आठ महिनामा ४७ सय फरार अपराधी पक्राउ 
अदालतबाट दोषी ठहर भई फरार रहेकाविरुद्ध प्रहरीले देशव्यापी रूपमा थालेको अभियान सफल देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा चार हजार सात सय पाँचजना फरार अपराधी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा दुई हजार तीन सय ३२ मात्र पक्राउ परेका थिए । फरार अपराधीबाट २४ करोड ३५ लाख २३ हजार ५३ रुपैयाँ जरिवाना तथा दुई हजार नौ सय १० वर्ष कैद सजाय पनि भुक्तान गराएको छ ।

आठ महिनाको अवधिमा राजस्व संकलनमा प्रहरीको योगदान पनि वृद्धि भएको छ । यो अवधिमा दुई अर्ब १२ करोड ७४ लाख ५७ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा एक अर्ब ५७ करोड ५२ लाख रुपैयाँ प्रहरीबाट संकलन भएको थियो । 

See More On

सुझावित समाचार