मौसम पूर्ण रूपमा सफा हुन अझै केही समय लाग्ने

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । 

जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ ।    

तुवाँलो पूर्ण रूपमा हटी मौसम सफा हुन भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार तुवाँलो पूर्ण रूपमा हटी मौसम सुधार हुन हावाको गति बढ्नुपर्छ । बुधबार काठमाडौं उपत्यकामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।    

पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको साथै बाँकी भूभागमा बदली नरहे तापनि तुवाँलो रहेको छ ।  

बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।    

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।  

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।    रासस
 

See More On

सुझावित समाचार