तस्करी नियन्त्रण नहुँदा इन्धन उद्योग संकटमा

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

पुराना टायर तथा ट्युब भारततर्फ तस्करी हुँदा फर्नेस आयल उत्पादन गर्ने उद्योगमा कच्चा पदार्थ अभाव हुन थालेको छ । कच्चा पदार्थ नहुँदा रुपन्देहीका दुईवटा उद्योगमध्ये एउटा पूर्ण रूपमा बन्द भएको छ भने अर्को पनि बन्द हुने अवस्थामा पुगेको छ । 

सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग फागुनदेखि बन्द छ । उद्योगले दैनिक २५ सय लिटर इन्धन उत्पादन गर्दै आएको थियो । तर, फागुन लागेदेखि बन्द गर्नुपर्ने अवस्था आएको उद्योगकका सञ्चालक बोनिन पियाले जानकारी दिए । साढे ४ करोड लगानी भएको उद्योगमा १० जनाले रोजगारी पाएका थिए । कच्चा पदार्थको तस्करी भारततर्फ भएकाले उद्योग बन्द गर्नुपरेको सञ्चालकहरूको भनाइ छ । 

त्यस्तै, जिल्लाको केरवानीमा रहेको स्पिड इनर्जी इन्डस्ट्रिज प्रालि पनि कच्चा पदार्थको अभावले संकटमा पुगेको छ । ‘भारत तस्करी नहुने हो भने यहीँ उपलब्ध थोत्रा टायरले उद्योगका लागि आवश्यक कच्चा पदार्थको माग पूरा हुन्छ, तस्करी नियन्त्रण हुन नसक्दा स्वदेशी उद्योग संकटमा छन्,’ उद्योगका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले भने ।

२०७२ सालदेखि सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर रहेको छ । तर, कच्चा पदार्थको अभावमा अहिले ४ हजार लिटर मात्रै उत्पादन भइरहेको उनले बताए । उद्योगले काम नलाग्ने टायर, ट्युबजस्ता रबरहरूलाई प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा विभिन्न उद्योगहरूले इन्धनका रूपमा प्रयोग गर्ने फर्नेस आयल उत्पादन गर्छ ।

त्यस्तै, कोइलाको प्रतिस्थापनका रूपमा प्रयोग हुने कार्बन र स्टिल वायरजस्ता औद्योगिक वस्तु उद्योगबाट उत्पादन हुन्छ । कच्चा पदार्थ बेलहिया, वीरगन्ज, विराटनगर, नवलपरासीको महेशपुर, कृष्णनगरलगायतका नाकाबाट तस्करी भइरहेको प्रबन्ध सञ्चालक श्रेष्ठको भनाइ छ । उनको उद्योगमा प्रतिदिन १८ देखि २० टन कच्चा पदार्थ आवश्यक पर्नेमा अहिले बढीमा १० टनसम्म प्राप्त भइरहेको छ । ‘उद्योगले चाहेअनुसारको वार्षिक २५ लाख लिटर इन्धन उत्पादन गर्छ, यस्ता उद्योग देशभर चारवटा छन्,’ श्रेष्ठले भने ।  

आन्तरिक उत्पादन बढ्दै जाँदा आवश्यक पुरानो टायर ट्युब, रबरजन्य कच्चा पदार्थको विदेशबाट भन्सार मूल्यांकनमा निःशुल्क दर समावेश गर्नुपर्ने उद्योगीको माग छ । आन्तरिक उत्पादित फर्नेस आयलको खपतलाई घटाई नपुग इन्धनमा मात्र आयातको अनुमति दिनुपर्ने उनीहरूको माग छ । हाल वार्षिक ५ करोड लिटर इन्धन आयात हुँदा ३० अर्ब रकम बाहिरिन्छ ।

यस्ता उद्योग धनगढी, विराटनगर र वीरगन्जमा एक–एकवटा छन् । उद्योगका प्रबन्ध सञ्चालक श्रेष्ठका अनुसार दुईवटा प्लान्ट सञ्चालनमा ल्याएको उद्योगको लगानी अहिले १६ करोड पुगेको छ । सवा दुई बिघा क्षेत्रफलमा रहेको उद्योगले ३० जनालाई रोजगारी दिएको छ । 

सुझावित समाचार