स्वयम्भू, नयाँ बानेश्वर, त्रिपुरेश्वर, मंगलबजार र पाटनढोकामा अत्याधुनिक शौचालय निर्माण, क्याफेदेखि स्यानिटरी प्याडसम्मको सुविधा
सीता कँडेलले स्वयम्भू एरियामा फुटपाथमा व्यापार गर्दे आएको आठ वर्ष भयो । वर्षौंदेखि स्वयम्भूमा रहेर व्यवसाय गर्दा शौचालयको समस्याले उनी आजित भइसकेकी थिइन् । दिनभरि व्यापारका लागि सडकमा बस्नुपर्ने भएकाले नजिकै व्यवस्थित शौचालय नहुँदा शौचका लागि कहाँ जाने भन्ने पिर पर्थ्यो ।
एरोसन ट्वाइलेट हबले स्वयम्भूमै स्मार्ट ट्वाइलेट (अत्याधुनिक शौचालय) बनाएपछि भने उनलाई निकै सजिलो भएको छ । भन्छिन्, ‘शौचका लागि जंगल चहार्नुपर्ने थियो, त्यसमाथि जंगलभरि फोहोरै फोहोर । स्मार्ट शौचालय बनेपछि यो क्षेत्र निकै सफा भएको छ । खासगरी महिनावारीको समयमा हुने समस्याका लागि निकै सहज भएको छ ।’
स्वयम्भूमै वर्षौंदेखि फुटपाथमा व्यवसाय गर्दै आएकी सीता लामिछाने स्मार्ट शौचालय बनेपछि निकै खुसी लागेको बताउँछिन् । भन्छिन्, ‘फुटपाथमा पसल छाडेर टाढा शौचका लागि जाँदा पसल नै बन्द गर्नुपर्ने अवस्था थियो । ट्वाइलेट बनेपछि यहीँ खाजा खान पाइन्छ, ढुक्कसँग ट्वाइलेट प्रयोग गर्न पाइन्छ ।’
चार वर्षअघि चुनावी घोषणापत्रमा हालका काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले स्मार्ट ट्वाइलेट बनाउने उल्लेख गरेका थिए । तर, अहिलेसम्म त्यो घोषणा कार्यान्वयनमा आउन सकेको छैन । महानगरपालिकाले नबनाए पनि ‘एरोसन ट्वाइलेट हब’ को सक्रियतामा स्मार्ट ट्वाइलेट निर्माण भइरहेको छ । एरोसनले तीनवटा स्मार्ट शौचालय बनाएर प्रयोगमा ल्याइसकेको छ भने दुईवटा निर्माणाधीन अवस्थामा छ ।
एरोसनले काठमाडाैँ महानगरपालिकाको सहकार्यमा आधारभूत सेवासहित स्वयम्भू, बानेश्वर, त्रिपुरेश्वर, मंगलबजार र पाटनढोकामा गरी अत्याधुनिक शौचालय निर्माण गरेपछि स्थानीय र पैदलयात्रीलाई धेरै ठूलो राहत भएको छ । सार्वजनिक शौचालयका संरचना आवश्यकभन्दा बढी भए पनि व्यवस्थित नहुँदा उपभोक्ताले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै एरोसनले काठमाडौं महनगरको सहकार्यमा स्मार्ट शौचालय निर्माण गरिरहेको हो ।
स्वयम्भू, नयाँबानेश्वर र मंगलबजारमा स्मार्ट शौचालय प्रयोगमा आइसकेको छ । त्रिपुरेश्वर र पाटनढोकामा निर्माणको क्रममा छन् । बानेश्वर र मंगलबजारमा पुरानै शौचालयलाई पुनर्निर्माण गरी अत्याधुनिक बनाइएको हो । जसका लागि झन्डै ३० लाख रुपैयाँ खर्च भएको छ । स्वयम्भूमा बनाइएको स्मार्ट शौचालयमा झन्डै एक करोड लागत लागेको एरोसन स्मार्ट शौचालय प्रमुख प्रकाश अमात्यले जानकारी दिए । एरोसनले व्यवस्थित शौचालयका लागि ‘इको ल’को अवधारणाअन्तर्गत शौचालय निर्माण गरिरहेको छ ।
काठमाडौं महानगरभित्र सःशुल्क र निःशुल्क गरी एक सय ५१ वटा सार्वजनिक शौचालय छन् । जसभित्र सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन, २०७५ भित्र समेटिएका धार्मिकस्थल, सरकारी भवन, पार्क, पेट्रोलपम्प, मल तथा व्यावसायिक भवन र अस्पतालहरूमा भएका शौचालय पनि पर्छन् । महानगरभित्र सार्वजनिक स्थानमा मात्रै ३७ वटा शौचालय छन्, जसमध्ये पाँचवटा शौचालय ठेक्कामा सञ्चालन भइरहेका छन् । जसबाट काठमाडौं महानगरले प्रत्येक महिना आठ लाख ६० हजारभन्दा बढी रकम राजस्व संकलन गर्छ । तर, ती शौचालय सफा, अपांगमैत्री र महिलामैत्री भने छैनन् ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डअनुसार जनसंख्याको चापअनुसार भिडभाड रहने सहरी क्षेत्रमा प्रत्येक तीन सय मिटरको दूरीमा शौचालय हुन आवश्यक छ । काठमाडौं महानगरभित्र धेरैजसो स्थानमा ५० मिटरको दूरीमै सार्वजनिक शौचालयहरू त छन्, तर निःशुल्क शौचालयहरूमा सरसफाइको अभाव, अपांगमैत्री र महिलामैत्री नहँुदा प्रयोग गर्नै समस्या देखिन्छ । शौचालयको प्रभावकारी व्यवस्थापन र उपयोग नहुनु र सहरको कुन कुनामा शौचालय छ भन्ने सेवाग्राहीलाई थाहा नहुनु, महिला र अपांगमैत्री शौचालय नहुनुले समस्या थपिएको छ ।
महिला र वातावरणमैत्री शौचालय
भिडभाड बढी हुने स्थानमा बनाइएका यी स्मार्ट शौचालयहरूले शौचको समस्यालाई मात्र समाधान गरेका छैनन्, सफा र व्यवस्थित हुँदा महिलाले सार्वजनिक स्थानमा शौचालयका लागि भोग्नुपर्ने समस्याको विकल्प पनि बनेका छन् । शौचालयमा प्याडका लागि भेन्टर, प्रयोगमा आइसकेको प्याड डिस्पोज गर्ने मेसिन, शौचालयभित्रै झोला वा सामान राख्ने स्थान, बच्चाको डाइपर फेर्ने स्थानसमेत छुट्टै बनाइएको छ । शौचालय दुर्गन्धित हुन नदिन सेन्सरको आधारमा आफै फ्लस हुने व्यवस्था गरिएको छ ।
आधारभूत संरचनाका आधारमा बनाइएको शौचालय विशेषगरी महिलामैत्री छन् । वातावरणसँगै स्मार्ट ट्वाइलेटको अवधारणामा ‘वाटर एन्ड वुमेन’ (पानी र महिला) मुख्य प्राथमिकतामा राखिएको छ । सरसफाइको क्षेत्रमा काम गर्ने महिलाले स्मार्ट ट्वाइलेटमा रोजगारी पाएका छन् । प्रत्येक शौचालयमा तीनजनाले पालैपालो शौचालय व्यवस्थापनमा सहयोग गरिरहेका हुन्छन् । एरोसनले शौचालयबाट हुने आम्दानी स्टाफ मातहत नै राखिदिएको छ, जसबाट उनीहरूले शौचालय सरसफाइ र व्यवस्थित बनाइरहेका छन् । एरोसन प्रमुख अमात्यका अनुसार शौचालयमा कार्यरत महिला सरसफाइ क्षेत्रमै आबद्ध अनुभव प्राप्त हुन् ।
‘अधिकांश प्रविधि सेन्सरको आधारमा स्वचालित रहने हुँदा हरेकपटक सफा गरिरहनुपर्ने झन्झट छैन । हरेक स्टाफले ड्युटीमा रहँदा ड्रेस लगाएर बस्ने व्यवस्था गरेका छौँ । शौचालयको बीचमा किचेन राख्ने र यहाँ रहेका स्टाफलाई ड्रेसमा राख्नुको उद्देश्य पनि सार्वजनिक शौचालयमा काम गर्नेप्रतिको भेदभावलाई हटाउनु हो,’ उनी भन्छन्, ‘स्मार्ट शौचालयको यो अवधारणाले आममानिसको शौचालयमा काम गर्नेहरूप्रतिको सोचमा बिस्तारै परिवर्तन ल्याइरहेको छ ।’ महिलामैत्री, अपागंमैत्री, पानी र सरसफाइको अभावमा सहरभित्रका शौचालयहरू प्रयोग लायक नहँुदा हुने समस्या कम गर्न व्यवस्थित गर्ने योजनाअनुसार स्मार्ट शौचालयको अवधारणा ल्याएको अमात्य बताउँछन् ।
ढलरहित र बायोग्यासको प्रयोग
शौचालयले अकासेपानीको प्रयोग र पानी पुनप्र्रयोग गरेर पानीको व्यवस्थापन गरिरहेको छ । पानी संरक्षणका लागि वर्षाको पानी जम्मा गर्ने ट्यांकी र फिल्टर मेसिन राखिएको छ । वर्षाको पानी फिल्टर गरेर ट्वाइलेट र वरिपरिको बोटबिरुवालाई सिँचाइ गर्न मिल्छ । ट्वाइलेटबाट निस्केको ढलबाट बायोग्यास उत्पादन गरिएको छ । शौचालयबाट निस्किएको दिसापिसाब ढलमा मिसाइँदैन, यसबाट बायोग्यास उत्पादन गरेर खाना पकाउने गरिएको छ । पानी संरक्षक अभियन्तासमेत रहेका अमात्यका अनुसार ढल व्यवस्थित नहुँदा आउने दुर्गन्ध कम गर्न र फोहोर व्यवस्थापनका लागि शौचालयबाट निस्कने फोहोरको सदुपयोग गरिएको छ । ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै दुर्गन्धित, अव्यवस्थित भन्ने बुझिन्छ । स्मार्ट शौचालय सार्वजनिक शौचालय पनि दुर्गन्धरहित, सफा र व्यवस्थित हुन सक्छन् भन्ने उदाहरण हुन्,’ उनले भने ।
बायोग्यासबाट शौचालय भवनमै क्याफे राखेर चिया र खाजासमेत बनाएर बेच्ने गरिएको छ । शौचालय सफा र दुर्गन्धरहित हुँदा स्वयम्भू क्षेत्रमा स्थानीयलाई खाजा खाने स्थान पनि बनेको छ । सार्वजनिक शौचालय पनि सफा राख्न सकिन्छ भन्ने उदाहरणका लागि शौचालयकै छेउमा क्याफे राखिएको अमात्य बताउँछन् ।
स्मार्ट शौचालयले मानिसको सोचमा परिवर्तन ल्याउनेछ : प्रकाश अमात्य, प्रमुख, एरोसन ट्वाइलेट हब
अधिकांश प्रविधि सेन्सरको आधारमा स्वचालित रहने हुँदा हरेकपटक सफा गरिरहनुपर्ने झन्झट छैन । हरेक स्टाफले ड्युटीमा रहँदा ड्रेस लगाएर बस्ने व्यवस्था गरेका छौँ । शौचालयको बीचमा किचेन राख्ने र यहाँ रहेका स्टाफलाई ड्रेसमा राख्नुको उद्देश्य पनि सार्वजनिक शौचालयमा काम गर्नेप्रतिको भेदभावलाई हटाउनु हो । स्मार्ट शौचालयको यो अवधारणाले आममानिसको शौचालयमा काम गर्नेहरूप्रतिको सोचमा बिस्तारै परिवर्तन ल्याइरहेको छ ।
स्मार्ट शौचालयको विशेषता
-स्वचालित बत्ती
-सिसिटिभी क्यामेरा जडान
-हात सुकाउने मेसिन
-स्यानिटरी प्याड
-प्याड डिस्पोज गर्ने मेसिन
-झोला वा सामान राख्ने स्थान
-बच्चाको डाइपर फेर्ने स्थान
-सेन्सरको आधारमा आफैँ फ्लस हुने व्यवस्था