सम्पर्कविहीन भएका सात बालिकालाई भारतबाट नेपाल ल्याइयो

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

प्रहरी भन्छ– घटना गम्भीर प्रकृतिको देखिन्छ, बालिका कसरी त्यहाँ पुगे भन्ने अनुसन्धानपछि मात्र खुल्छ

महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुर पासवान टोलका सात बालिका बुधबार भारतको सीतामढीस्थित रेल्वे स्टेसनमा फेला परेका छन् । भारतीय रेल्वे पुलिसले उद्धार गरी नेपाली सुरक्षा टोलीलाई बुझाएको छ । भारतमा आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई बुधबार राति नै नेपाल ल्याइएको छ ।

उद्धार गरिएकामा १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया अर्चना पासवान, १४ वर्षीया रञ्जना पासवान, १५ वर्षीया रिया पासवान, १८ वर्षीया नगिना पासवान र १० वर्षीया सीमा पासवान छन् । मंगलबार दिउँसो घाँस काट्न भनी घरबाट निस्किएका उनीहरू सम्पर्कविहीन भएका थिए । 

घाँस काटेर सातैजना घरपरिवारको सम्पर्कमा नआएपछि मंगलबार राति प्रहरीलाई खबर गरिएको थियो । एउटै गाउँका सात बालिका हराएको खबर पाएपछि प्रहरी, स्थानीय तथा भंगहा नगरपालिकाका प्रमुख सञ्जीव साहसमेतको टोलीले रातभरि खोजीकार्य गरेको थियो । 

सातजना बालिका एकैचोटि भारत पुगेको घटना गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धानपछि मात्र परिवारको जिम्मा लगाउने वा के गर्ने भन्ने भन्न मिल्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज कोइरालाले जानकारी दिए । ‘गम्भीर प्रकृतिको घटना भएकाले सत्यतथ्य बाहिर ल्याउनैपर्ने हुन्छ । सोहीअनुरूप प्रहरीले अनुसन्धान थालेको छ,’ उनले भने ।

भंगहा नगरपालिका–८ धर्मपुर पासवान टोलका उनीहरू वडा नम्बर ९ अजगेवा चौँरी क्षेत्रमा घाँस काट्न गएका थिए । बालिकाहरू सम्पर्कविहीन भएपछि परिवारमा रुवाबासी चलेको थियो । सांसद मञ्जु यादव, शारदा थापा, भंगहा नगर प्रमुख सञ्जीव साह, एसपी दिनेश आचार्यलगायत बस्तीमै पुगेर परिवारलाई सम्झाएका थिए । 

मानव बेचबिखनको प्रयास हुन सक्ने
महोत्तरीबाट बेपत्ता भएका बालिकाहरू भारतको सीतामढी रेल्वे स्टेसनमा भेटिनुले मानव बेचबिखनको प्रयास भएको र यसमा गिरोह नै सक्रिय हुन सक्ने स्थानीयले आशंका गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

बालबालिकाको क्षेत्रमा क्रियाशील ओरेक नेपालले उद्धार गरिएका बालिकाहरूलाई तत्काल काउन्सिलिङ गर्ने र अनुसन्धानपछि मात्र कुनै निर्णयमा पुग्नुपर्ने जनाएको छ । ओरेक नेपाल महोत्तरीका कार्यक्रम अधिकृत लीला दियालीले बालिका भारत पुग्नु सामान्य घटना नभएको बताइन् । 

See More On

सुझावित समाचार