कनेक्टिभिटी, व्यापार, पर्यटन र आतंकवादबारे छलफल हुने
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १७औँ मन्त्रीस्तरीय बैठक बिहीबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ । त्यसको पूर्वसन्ध्यामा आयोजित परराष्ट्रसचिवस्तरीय वरिष्ठ अधिकारीहरूको बैठकमा यो क्षेत्रको कनेक्टिभिटी, क्षेत्रीय व्यापारलगायतका एजेन्डामा छलफल भएको छ । तीन वर्षअघि काठमाडौंमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन ।
भर्चुअल बैठकमा सदस्यराष्ट्रका परराष्ट्रमन्त्रीहरू सहभागी हुनेछन् । बैठकको अध्यक्षता श्रीलंकाका परराष्ट्रमन्त्रीले गर्नेछन् भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बैठकमा बिमस्टेक कार्ययोजनाको कार्यान्वयनबारे छलफल हुनेछ । यसैगरी दुई देशबीच ग्रिड कनेक्टिभिटी, ट्रान्सपोर्ट कनेक्टिभिटीलगायतका विषयमा पनि छलफल हुनेछ । चौथो शिखर सम्मेलनमा भएका निर्णय कार्यान्वयनबारे मन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड छन् ।
बुधबार कोलम्बोबाट भिडियोमार्फत समन्वय गरिएको सचिवस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रसचिव पौड्यालले सन् २०१८ अगस्टमा काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनपछिका प्रगतिबारे बताएका थिए । उनले बिमस्टेक क्षेत्रका जनताको प्रगति र सम्पन्नताका लागि सदस्य मुलुकहरूबीच गहिरो सहकार्यमार्फत बिमस्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।
बिमस्टेक चार्टर, कनेक्टिभिटीका लागि बिमस्टेकको गुरुयोजना, बिमस्टेकका कानुनी प्रावधानलगायतका विषयमा बैठकमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेक सचिवालयको गत वर्षको बजेट समीक्षा र चालू आर्थिक वर्षको बजेटलगायतका विषयमा पनि छलफल भएको छ ।
कूटनीतिक अधिकारीका अनुसार बिमस्टेक सचिवालयको आर्थिक विषय, बिमस्टेक केन्द्रसँग समन्वय गर्ने गरी स्थायी कार्यसमिति (पर्मानेन्ट वर्किङ कमिटी) गठन गर्ने निर्णय भइसकेकोमा यसको कार्यान्वयनबारे सचिवस्तरीय बैठकमा छलफल भएको थियो । सदस्य मुलुकहरूको स्वेच्छिक योगदानका आधारमा बिमस्टेक विकास कोष गठनको सम्भावना खोज्ने निर्णय भइसकेकोमा यसबारे पनि सचिवस्तरीय बैठकमा समीक्षा भएको छ । बिमस्टेक बिजनेस फोरम र इकोनोमिक फोरमलाई सक्रिय बनाउने, बिमस्टेक भिसा सहजीकरणको मोडालिटी टुंग्याउने वातावरण तथा प्रकोप व्यवस्थापनका लागि अन्तरसरकारी विज्ञ समूह गठन गर्ने र त्यसमार्फत उपयुक्त कार्ययोजना बनाउने निर्णय भइसकेकोमा यसको कार्यान्वयनका विषयमा पनि छलफल भएको छ ।
मन्त्रीस्तरीय बैठकमा के हुँदै छ ?
बैठकमा कनेक्टिभिटी, गरिबी निवारण, व्यापार तथा लगानी, आतंकवाद नियन्त्रणदेखि बौद्ध सर्किट स्थापनालगायतका विषयमा छलफल हुनेछ । बिमस्टेक सदस्य मुलुकहरूले आर्थिक र सामाजिक विकासमा आर्थिक सम्मिलनका लागि व्यापार, लगानीमा जोड दिँदै आएका छन् । अतिकम विकसित र भूपरिवेष्टित मुलुकलक्षित क्षेत्रीय साझेदारीबारे बैठकमा छलफल हुनेछ । बंगालको खाडी क्षेत्रबाट २०३० सम्ममा गरिबी निवारण गर्ने निर्णय बिमस्टेकको चौथो शिखर सम्मेलनले गरेकोमा यसको कार्यान्वयनबारे छलफल हुनेछ । बिमस्टेक मुलुकबीच आतंकवादविरुद्ध ऐक्यबद्धता हुँदै आएकोमा यसबारे पनि छलफल हुनेछ । बिमस्टेक सम्मेलनले अपराधसँग सम्बन्धित विषयमा आपसी कानुनी सहायता महासन्धि पारित गर्ने निर्णय गरिसकेको छ ।
बिमस्टेक मुलुकबीच राजमार्ग, रेलमार्ग, पानी तथा सामुद्रिक मार्ग, हवाईमार्गको आधुनिकीकरण, विस्तार र विकासमार्फत कनेक्टिभिटी बढाउने समझदारी भइसकेकोमा यसको कार्यान्वयनबारे छलफल हुनेछ । बिमस्टेकको शिखर सम्मेलनले कोस्टल सिपिङ एग्रिमेन्ट र बिमस्टेक मोटर भेइकल एग्रिमेन्ट शीघ्र टुंग्याउन निर्देशन दिएकोमा यसबारे मन्त्रीस्तरीय बैठकमा पनि छलफल हुनेछ । यसैगरी यो क्षेत्रमा ऊर्जामा सहकार्यका लागि विज्ञहरूको अन्तरसरकारी समूहमार्फत जलविद्युत् तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतमा सहकार्य वृद्धि गर्ने निर्णय भइसकेको छ । बिमस्टेक ग्रिड इन्टरकनेक्सनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको अवस्थामा बिमस्टेक ऊर्जा केन्द्रको सञ्चालनबारे छलफल हुनेछ ।
किन महत्वपूर्ण छ बिमस्टेक क्षेत्र ?
मन्त्रीस्तरीय बैठकमा बिमस्टेकको पाँचौँ शिखर सम्मेलनबारे पनि छलफल हुने कूटनीतिक अधिकारीहरूले बताए । बिमस्टेकको चौथो शिखर सम्मेलन ०७५ भदौ १४ र १५ मा काठमाडौंमा भएको थियो । बिमस्टेकको तेस्रो शिखर सम्मेलन २०१४ मार्च ४ मा म्यानमारमा, दोस्रो २००८ नोभेम्बर १३ मा भारतमा तथा पहिलो शिखर सम्मेलन २००४ जुलाई ३१ मा थाइल्यान्डमा भएको थियो ।
बिमस्टेक क्षेत्रले पृथ्वीको कुल जमिन भूभागको ३ दशमलव ६३ प्रतिशत क्षेत्रफल ओगट्छ । यो क्षेत्रको जनसंख्या एक अर्ब ६५ करोड (विश्वको २२.३० प्रतिशत) छ । भूगोल, जनसंख्या र अर्थतन्त्रका हिसाबले सबैभन्दा ठूलो देश भारत हो । बिमस्टेक क्षेत्रको कुल ६७ प्रतिशत भूगोल र ८० प्रतिशत जनसंख्या भारतमा छ । बिमस्टेकले कुल विश्व व्यापारको ३ दशमलव ६५ प्रतिशत ओगटेको छ । भारतपछि यो क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनमा थाइल्यान्ड, भौगोलिक क्षेत्रफलमा म्यानमार, जनसंख्यामा बंगलादेश दोस्रो स्थानमा छन् । सन् २०१६ मा विश्वको कुल गार्हस्थ्य उत्पादनमा बिमस्टेकको सेयर ४ दशमलव ३ प्रतिशत थियो भने १५ वर्षअघि (सन् २००१ मा) जम्मा २ दशमलव ४ प्रतिशत मात्रै थियो ।
सन् २०१६ सम्म कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ६ ट्रिलियन अमेरिकी डलर रहेकोमा सन् २०३० मा ७ दशमलव ७ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ । युएसएडलगायतका संस्थाले अध्ययन गरेर तयार पारेको पुस्तक बिमस्टेक इनर्जी आउटलुक २०३० अनुसार यो क्षेत्रमा ६५ अर्ब टन कोल, ६ दशमलव ४ अर्ब ब्यारेल तेल, ८७ ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यास, २ सय ४३ मिलियन टन बायो ग्यास र ३ सय ९० गिगावाट ऊर्जाको सम्भावना छ । सन् २०३० सम्म ऊर्जाका लागि मात्रै एक हजार ५६ अर्ब डलर लगानी गर्नुपर्नेछ ।