मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव एमाले नेपाल समूहद्वारा फिर्ता

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

१० पुसमा तत्कालीन नेकपाका ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिइएको छ ।  २३ फागनुमा सर्वोच्चको निर्णयपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् रूपमै पार्टी सञ्चालन गर्ने भएपछि त्यसको प्रभावसँगै मंगलबार एमालेका सांसदहरूले अविश्वासको प्रस्ताव फिर्ता लिने सूचनाको पत्र बागमती प्रदेश सभामा दर्ता गराएका हुन् । एमाले माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव फिर्ता लिइएको सूचना प्रदेश सभामा दर्ता गरेका छन् । 

प्रदेश सभा सचिवालयका अनुसार सांसदहरूले दर्ता गराएको सूूचना संसद् बैठकमा पेस भएपछि मात्र औपचारिक रूपमा अविश्वासको प्रस्ताव फिर्ता हुनेछ । एमालेका सांसद अरुणप्रसाद नेपाल नै प्रस्तावक रहेर अविश्वासको प्रस्ताव दर्ता गरेका कारण १० पुसमा तत्कालीन प्रचण्ड पक्षका सांसदले फिर्ता लिएको पत्र प्रदेश सभामा दर्ता गर्नु नपर्ने भएको छ । 

१० पुसमा एमालेका २३ र माओवादी केन्द्रका २२ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि प्रदेश सभामा पेश भएको अविश्वास प्रस्तावमाथिको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको एमाले नेपाल समूहका सांसद तथा अविश्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले जानकारी दिए । तत्कालीन नेकपाले अविश्वासको प्रस्ताव राखेकोमा सर्वाेच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएकाले प्रस्ताव फिर्ता लिनुपरेको उनको भनाइ छ । 

माओवादी र एमालेका नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । बागमती सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्छ । एमाले एक्लैसँग बागमती प्रदेशमा ५७ सांसद रहेका छन् ।

सुझावित समाचार