उमेशकुमार चौधरी : जसलाई सात करोड ९२ लाख कर छलीको मुद्दा

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर नगरपालिका– १० का ४० वर्षीय उमेशकुमार चौधरीको सम्पत्तिको नाममा दुई कट्ठा जमिन छ । सानो घरमा तीनजना दाजुभाइ जसोतसो गुजारा चलाएर बसेका छन् । तर, उनको नाममा राज्यलाई तिर्नुपर्ने सात करोड ९२ लाख १६ हजार नाै सय ५२ रुपैयाँ छ । 

चौधरीको नाममा ०७३ वैशाख १५ गते कम्पनीमा दर्ता भएको सोनु ट्रेड कन्सर्न नामको कम्पनीको नाममा कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीविरुद्ध मुद्दा दायर गरेको छ । उनी विरुद्ध मुद्दा दर्ता भएको भए पनि उनलाई सो विषयमा कुनै जानकारी छैन । बाराको जगदम्बा इन्टरप्राइजेजमा मासिक अठार हजार तलबमा लेबर काम गर्ने चौधरीलाई आफ्नो नाममा त्यति ठूलो रकम कर छली गरेको विषयमा कुनै जानकारी नै छैन ।

दुई छोरी र एक छोराका बाबु उमेशकुमार चौधरी चार वर्षअघि आफूसँगै जगदम्बामा काम गर्ने बाराका दशरथ हजारा र कलैयाका अजय गुप्ताले घुम्न काठमाडाैं जाउँ, सानो काम छ भनेर काठमाडौं लगे । पहिला भन्सारबाट सामान छुटाउनका लागि केही कागज बनाउनुपर्ने भन्दै सुन्धाराको होटेलमा राखे ।

दुई दिनको काठमाडौं बसाइमा उनलाई फोटो खिच्न लगियो, कम्पनी दर्ता गर्ने अफिसमा लगियो अनि बैंकमा लगेर खाता खोल्न लगाइयो र तीन हजार नगद दिएर घर पठाइयो । आफूसँगै काम गर्ने दशरथले काठमाडाैं जाउँ भनेर उमेशकुमार चौधरीलाई लगेका थिए ।  

सामान्य लेखपढ गर्न मात्र जानेका चौधरीको नाममा राजस्व छलीको मुद्दाका विषयमा उनलाई खासै जानकारीसमेत छैन । उनकोमा कुनै चिठीपत्रसमेत राजस्व विभागको आएको छैन । होली मनाउन जितपुरस्थित जगदम्बा कम्पनीबाट घर आउनुभन्दा पहिला ठगहरूले आफ्नो नाममा कम्पनी खोलेको विषयमा 

हल्ला चलेको र आफूले दशरथलाई के हो भनेर बुझ्दा  चिन्ता लिनुपर्दैन, सबै मिल्छ भनेकाले आफू ढुक्क रहेको उमेशकुमारको भनाइ रहेको छ । 

महिनाको १८ हजार कमाउने चौधरीलाई करोडौँको राजस्व छली गरेको आरोप लागेपछि यतिवेला उनी अन्याेलमा छन् । अब के गर्ने भन्ने विषयमा समेत उनले सोच्न सकेका छैनन् । उनलाई यो अप्ठ्यारोबाट निकाल्नका लागि सबैको सहयोगको आवश्यकता रहेको चन्द्रपुर नगरपालिका– १० का वडाध्यक्ष जयराम चौधरीको भनाइ रहेको छ । 

सुझावित समाचार