जनतालाई शत्रु मान्ने सेना

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

यांगुनको तातो सडक किनारमा गोलीको खोल भेट्दा क्याप्टेन टुन म्याट आङको मन अमिलो भयो । त्यो भर्खरै कुनै मानिसमाथि प्रयोग भएको गोलीको खोल थियो । त्यस रात उनले फेसबुक खोल्दा यांगुनमा कैयौँ नागरिक सेनाबाट मारिएको समाचार आइरहेको थियो । केही दिनपछि टुन म्यात आङ आफ्नो ७७औँ लाइट इन्फ्यान्टरी डिभिजनको आधारबाट बाहिरिए र त्यसपछि उनी आफ्नो ब्यारेक फर्किएका छैनन् । उनी अहिले भूमिगत छन् । ‘मलाई सेनाको धेरै माया लाग्छ । तर, देश र सेनाबीच छनोट गर्नुपर्यो भने सधैँ देश अगाडि आउँछ,’ टुन म्यात आङले बताए । पाँच लाख स्थायी फौज रहेको बताउने म्यानमारको सेनाको छवि त्यति राम्रो छैन । फेब्रुअरी १ को सैन्य कुपछि त झन् म्यानमारको सेना विश्वभर बदनाम भएको छ । प्रहरीले प्रजातान्त्रिक रूपान्तरणको माग गर्ने प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली हान्दा झन्डै ४२० को ज्यान गइसकेको छ । त्यस्तै, हजारौँ हिरासतमा छन् । 

शनिबार फेब्रुअरीको कुयताकै सबैभन्दा बढी मानिस मारिए । संयुक्त राष्ट्रसंघका अनुसार झन्डै सयभन्दा बढीको मृत्यु भयो । मर्नेमा सात बालबालिकासमेत थिए । हामीले अन्तर्वार्तामा सहभागी गराएका चार सैन्य अधिकृतमध्ये दुईजनाले सैन्य सेवा छाडिसके । तिनको कुराकानीबाट ६ दशक देशमाथि आधिपत्य जमाएको संस्थाको जटिल तस्बिर अगाडि आउँछ । म्यानमारको सेनामा प्रवेश गर्दाको पहिलो दिनबाटै फौजीलाई देश र धर्मको रक्षक सेना भएको पाठ पढाइन्छ । आफूहरूले नियन्त्रण छाडिदिए देश र धर्म धराशायी हुने धेरै सैनिकलाई भ्रम छ । 

म्यानमारमा सेना राज्यभित्र पनि विशेष राज्यजस्तो देखिन्छ । सेना बाँकी समाजभन्दा अलग र माथि रहे जस्तो देखिन्छ, तर सैन्य अधिकारी आफूहरू माथिकाबाट निरन्तर निगरानीमा रहेको बताउँछन् । निगरानी ब्यारेकमा मात्र होइन, फेसबुकमा समेत हुन्छ । नियमित प्रोपोगान्डाले हरेक फौजीलाई हरेक कुरामा शत्रु खोज्ने बानी परिसकेको छ । कुविरुद्ध सेनाको तप्कामा केही असन्तुष्टि भए पनि उच्च पदाधिकारीहरूले फरक मार्ग लिने सम्भावना कम छ । यसले आगामी दिन र महिना थप रक्तपात हुने देखिन्छ । 

म्यानमारको सेना राज्यभित्र पनि विशेष राज्यजस्तो देखिन्छ । सेनाले आफूलाई बाँकी समाजबाट अलग र विशिष्ट ठान्ने गर्छ, तर पनि सैन्य अधिकारी आफूहरू माथिकाबाट निरन्तर निगरानीमा रहेको बताउँछन् । निगरानी ब्यारेकमा मात्र होइन, फेसबुकमा समेत हुन्छ । 

म्यानमारको सेना सन् १९४८ मा देश स्वतन्त्र भएदेखि एकपछि अर्को युद्धमा संलग्न छ । कहिले कम्युनिस्ट छापामारविरुद्ध, कहिले जातीय विद्रोहीविरुद्ध र कहिले प्रजातन्त्र पक्षधरहरूसँग । म्यानमारको सेनाले देशको प्रमुख जाति बामरलाई अन्य जातिभन्दा उच्च रूपमा प्रस्तुत गर्ने गरेको छ । तर, सेनाले बामर जातिकै आङ सान सुकीलाई भने सधैँ घृणा गरिरह्यो । पछिल्लो कुमा पनि आङ सान सुकी कैदमा छिन् । आङ सान सुकीका पिता आङ सानले म्यानमारका सेना गठन गरेका थिए । आज म्यानमारको सेना घरेलु शत्रुसँग पुनः एकपटक आमनेसामने भएको छ । कुविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारी सेनाको गोलीको निसाना भइरहेका छन् । शनिबार सेना दिवस थियो । विशेष कार्यक्रममा सेनाका प्रमुख तथा कुका प्रमुख नायक जनरल मिन आङ ह्लाइनले ‘जनतालाई सबै खतराबाट जोगाउने’ घोषणा गर्दै थिए । तर, राजधानी नेपिडका फराकिला चौरमा सेनाको तोप तथा गाडीको परेड चलिरहँदा सुरक्षाकर्मीले कैयौँ सहरमा दमन सञ्चालन गरिरहेको थियो । देशका झन्डै ४० नगरमा प्रदर्शनकारी मात्र होइन, अवलोकनकर्तालाई पनि गोली हानिएको छ । 

‘म्यानमारका सेनालाई सेनाविरुद्ध प्रदर्शन गर्नुलाई अपराधी भनेर सिकाइएको हुन्छ,’ क्याप्टेन टुन म्यात आङले भने, ‘धेरै सेनाले जीवनमा कहिल्यै पनि लोकतन्त्रको अनुभव गर्न पाएकै छैनन् । उनीहरू अन्धकारमा बाँचिरहेका छन् ।’ कुअघिको पाँच वर्षको अवधिमा सेनाले आफ्ना केही अधिकार निर्वाचित सरकारसँग बाँडेको थियो । तर, ती दिनमा पनि यसको आफ्नै औद्योगिक प्रतिष्ठान, बैंक, अस्पताल, विद्यालय, बिमा निकाय, मोबाइल नेटवर्कदेखि खेतीसम्म थियो, जुन अझै उहीसँगै छ । सेनाले टेलिभिजन स्टेसन, प्रकाशन गृह र फिल्म उद्योगसमेत सञ्चालन गर्छ । 

अधिकांश सैन्य अधिकृत र तिनको परिवार सैन्य परिसरमै बसोवास गर्छन् र तिनको प्रत्येक कदमको निगरानी हुन्छ । ‘म यसलाई आधुनिक दासत्वको एक रूप मान्छु,’ कुपछि सेना छाडेका एक अधिकृतले भने । सेनाका उच्च अधिकृतहरूका सन्तानको तिनकै सहकर्मी अधिकृत वा सेनासँगको सम्बन्धबाट धनाढ्य भएकाहरूको सन्तानसँग बिहेवारी हुन्छ । तल्लो निकायका सेनाका छोराहरू बाबुकै पेसासँग आबद्ध हुन्छन् । राजनीतिक खुलापनको पाँच वर्षको अवधिमा संसद्को २५ प्रतिशत सिट सेनाकै मानिसका लागि सुरक्षित गरिएको थियो । 

संसद्मा अन्य विधायकसँग घुलमिल भएको नदेखिने ती विधायकको मुख्य काम निश्चित कानुनलाई रोक्ने हुन्थ्यो । नोभेम्बरको चुनावमा आङ सानको जितलाई धाँधली घोषित गरेको सेनाले देशको बहुसंख्यक बौद्धलाई आफ्नो पक्षमा लिन मुसलमान षड्यन्त्रको प्रचार गथ्र्यो । कैयौँ प्रभावशाली साधुले पनि सेना र बौद्धबीचको एकतालाई जोड दिने गर्छन् । मुसलमान षड्यन्त्रका अतिरिक्त पश्चिमी षड्यन्त्रको कुरा पनि उठ्ने गर्छ । खासमा बाह्य आक्रमणकै डरमा सेनाले समुद्री किनारनजिकको यांगुनबाट देशको माझमा रहेको नेपिडमा राजधानी सारेको बताइन्छ । ‘सेनाले देशलाई विदेशी अतिक्रमणबाट बचाउने नाममा सर्वसाधारण मारिरहेको छ,’ एक क्याप्टेनले बताए । डर देखाइएको अतिक्रमण आकाश वा समुद्रबाट मात्र होइन, विदेशी प्रभावबाट हुने बताइन्छ । सैन्य वृत्तमा अमेरिकी व्यापारी तथा दाता जर्ज सोरोसले देशभित्र पैसा बगाएर अभियन्ता र राजनीतिज्ञलाई प्रभावित पारेको चर्चा चल्ने गरेको छ । सैन्य प्रवक्ताले एक पत्रकार सम्मेलनमा कुविरुद्ध विरोध गरिरहेका विदेशी पैसा खाएर सडकमा आएको बताइरहेका छन् । 

हनाह विच ‘द न्युयोर्क टाइम्स’की दक्षिणपूर्वी एसिया प्रमुख हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

 

सुझावित समाचार