चिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार आउँदै

आइतबार, १५ चैत, २०७७
डिजिटल संस्करण

चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार बिहान चीन जाँदै छ । अनुदानको सो खोप बेइजिङमा तयार अवस्थामा छ । १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

अहिलेसम्म जम्मा २३ लाख डोज खोप आयो

- भारतबाट प्राप्त अनुदान : १० लाख 
- कोभ्याक्स सुविधामार्पmत : २२ लाख घोषणा भएकोमा ३ लाख ४८ हजार प्राप्त
- सिरमसँग सरकारले खरिद गरेको : २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेकोमा १० लाख मात्र प्राप्त
- हालसम्म प्राप्त जम्मा : २३ लाख ४८ हजार
- अहिलेसम्म प्रयोग भएको : १६ लाख ७३ हजार
- बाँकी खोप : ६ लाख ७४ हजार
- आउन बाँकी : चिनियाँ अनुदान ८ लाख डोज

नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा १२ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ ।

विमानस्थलमा तीन करोड लागतमा हेल्थ डेस्क बन्ने
सरकारले त्रिभुवन विमानस्थलमा सघन उपचार कक्षसहितको हेल्थ डेक्स बनाउने प्रक्रिया छिटै सुरु गर्ने भएको छ । हेल्थ डेस्क रहने भवनका लागि जग्गा उपलब्ध भइसकेकाले टेन्डर निकाल्ने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

अघिल्लो वर्ष माघमा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले विमानस्थलमा सुविधासम्पन्न हेल्थ डेस्क बनाउने निर्णय गरी बजेटमा समावेश गरेको थियो । तर, विमानस्थलले जग्गा नदिएपछि काम अगाडि बढ्न पाएको थिएन । विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्रिभुवन विमानस्थलले जग्गा दिएको छ । अब चाँडै टेन्डर भई काम अगाडि बढ्छ ।’

कोरोनाको दोस्रो लहर विश्वसँगै छिमेकी भारतमा पनि देखिएपछि सरकारले तत्काल हेल्थ डेस्क बनाउने निर्णय गरेको हो । हेल्थ डेस्कका लागि १८ जनाको दरबन्दी स्वास्थ्य मन्त्रालयबाट हालै स्वीकृत भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ६–७ हजार मानिस नेपाल भित्रिने गरेका छन् ।

See More On

सुझावित समाचार