पाँच वर्षभित्र ६ सय ७७ आँखा उपचार केन्द्र स्थापना हुने

शुक्रबार, १३ चैत, २०७७
डिजिटल संस्करण

नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । 

नेत्रज्योति दिवसको अवसरमा शुक्रबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताएका हुन् ।

यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उनले बताए । मोतिबिन्दुको अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलबिन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पुनर्स्थापकीय सेवासम्बन्धी राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गरिने पनि महासचिव चन्दले बताए । यस्तै, ई–हेल्थलाई संस्थागत गर्दै पाँच वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरिने पनि बताए  । 

नेत्रज्योति संघले यस वर्ष ‘अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौँ साझेदारी’ भन्ने नाराका साथमा नेत्रज्योति दिवस मनाएको छ । संघको अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजंग शाह, अर्विस इन्टरनेसनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

कोभिड– १९ संक्रमणका कारण अहिले नै सम्मान गर्न नसकेको भन्दै अनुकूल समयमा सम्मान गरिने संघले जनाएको छ । नेपाल नेत्रज्योति संघको स्थापना वि.सं. ०३५ साल चैत्त १३ गते भएको थियो । संघले हालसम्म २१ वटा आँखा अस्पताल, एक सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पुर्याउँदै आएको छ ।

सुझावित समाचार