यमनको समस्या चुलिँदै गएको छ र यमनीहरू मरिरहेका छन्, अझ दुःखद पक्ष अन्तर्राष्ट्रिय समुदायले यमनीको मृत्युलाई बेवास्ता गरिरहेका छन्
विध्वंसकारी द्वन्द्वको ६ वर्षपछि यमन थप ठूलो संकटको सँघारमा छ । यमनी नागरिक निरुपाय युद्ध खेपिरहेका छन् । यमन डाटा प्रोजेक्टको तथ्यांकअनुसार मार्च २०१५ देखि यमन युद्धमा १८ हजार ५०० भन्दा बढी यमनीको ज्यान गइसकेको छ भने ३६ लाख मानिस विस्थापित भएका छन् । देशको ८० प्रतिशतभन्दा बढी जनसंख्यालाई तत्काल मानवीय सहायताको आवश्यकता देखिन्छ । युद्धरत पक्ष युद्ध अन्त्य गर्न सहमत नहुँदासम्म यमनको मानवीय संकट कायम रहनेछ ।
युद्धबाट यमनको स्वास्थ्य प्रणाली लगभग निष्प्रभावी बनेको छ । सन् २०१८ मै हामीले यमनको स्थलगल भ्रमण गर्दा नै पूर्वाधारमा ठूलो क्षति, औषधि उपचारमा कमी, बालबालिकामा चरम कुपोषण हैजाजस्ता रोकथाम गर्न सकिने रोगको प्रकोप देखेका थियौँ । अहिले तीन वर्षपछि पाँच वर्षमुनिका आधा बालबालिका कुपोषणको जोखिममा परेका छन् । आर्थिक विध्वंस, युद्ध र मानवीय सहयताको सशस्त्रीकरणले यमनमा चाँडै भोकमरी सुरु हुन सक्छ ।
युद्धले प्रभावित यमनी स्वास्थ्य प्रणालीमा कोभिड–१९ ले थप धक्का दियो । द्वन्द्वले चिकित्सकीय समुदायमा पनि हताहती गराएको थियो । युद्धबाट उम्कन कैयौँ चिकित्सकीय पेसाकर्मी विदेश पलायन भए । युद्धका कारण चिकित्सकीय शिक्षा अवरुद्ध हुँदा देशमा सीपमूलक चिकित्सकीय पेसाकर्मीको अभाव उत्पन्न भएको छ । देशका १८ प्रतिशत जिल्लामा एकजना डक्टर पनि छैनन् ।
यमनमा प्रतिदश हजार नागरिकका लागि दश स्वास्थ्यकर्मी उपलब्ध छन् । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा आधा हो । अगस्ट २०२० यता कोभिड–१९ प्रकोपले सय स्वास्थ्यकर्मीको ज्यान लिइसकेको छ । यमनमा एकजना चिकित्सकीय पेसाकर्मीको ज्यान जाँदा त्यसबाट समग्र समुदायमा ठूलो प्रभाव पर्ने स्थिति छ ।
यमनको मानवीय संकट थप गहिरिएको छ, तर यस अवधिमा मानवीय सहायताको अनुदान रकम भने प्रत्येक वर्ष घटिरहेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले ‘अनुदान कटौतीलाई मृत्युदण्डको सजाय’को संज्ञा दिएका छन् ।
सहायता तथा स्वास्थ्यकर्मीमाथिको सुरक्षित तथा बेरोकतोक पहुँचको अभावले यमनको मानवीय संकट थप गहिरिएको छ । मानवीय सहयोगका लागि दिइने रकम भने प्रत्येक वर्ष घटिरहेको छ । यो महिनाको सुरुमा संयुक्त राष्ट्र संघले यमनका लागि दाता सम्मेलन आयोजना गर्यो । सम्मेलनमा उठेको १.७ अर्ब डलर रकम भोकमरी टार्न आवश्यक रकमको आधा पनि होइन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले ‘अनुदान कटौतीलाई मृत्युदण्डको सजाय’ को संज्ञा दिएका छन् । अनुदान अभावका कारण ९० लाख मानिसलाई दिइने खाद्य सहायता आधाले कटौती भएको छ । खाद्य सहायतासँगै कैयौँ स्थानमा स्वास्थ्य सेवालाई दिइने सहायतासमेत अवरुद्ध भएको छ ।
अमेरिकी सरकारले हालै यमनका सम्पूर्ण क्षेत्रमा मानवीय सहायता सुचारु गर्ने घोषणा गरेको छ । यो महत्वपूर्ण कदम हो । इन्धनको अभावमा स्वास्थ्य निकाय बन्द भएका समाचार आइरहेका छन् । अस्पताल सञ्चालन गर्न मात्र होइन, खाद्य सहायताको ढुवानीका लागि पनि यातायात महत्वपूर्ण हुन्छ । भोकमरी टार्ने हो भने पहिले यमनमा आउने इन्धनमाथिको अवरोध हटाउनुपर्छ ।
मरिबमा पछिल्लो समय संघर्ष बढेको छ, जसबाट हजारौँ मानिसको ज्यान जोखिममा पुगेको छ । मरिब क्षेत्र हालसम्म आन्तरिक रूपमा विस्थापित यमनीहरूका लागि सुरक्षित आश्रयस्थल मानिँदै आएको थियो । पछिल्लो हिंसाले तिनलाई थप विस्थापित बनाउन सक्छ । युद्धबाट विस्थापितमध्ये पनि महिला, बालबालिकाहरू उच्च जोखिममा छन् ।
मरिब गर्भनेटको अनुभवले मानवीय सहायताले यमनको समाधान नगर्ने देखाएको छ । यमन समस्या राजनीतिबाट मात्र समाधान हुन सम्भव छ । युद्धरत सम्पूर्ण पक्ष आपसी शत्रुता थाती राखेर युद्ध अन्त्य गर्न तयार हुनुपर्छ । उनीहरूले अन्तर्राष्ट्रिय मानवीय तथा मानवअधिकार कानुनलाई सम्मान गर्दै यमनमा आउने सहायता संगठनलाई अवरोध पुर्याउन छाड्नुपर्छ । यमन युद्ध अन्त्यका लागि सम्बद्ध सबै देशले सम्पूर्ण कूटनीतिक बल लगाउनुपर्छ । शक्ति राष्ट्रले युद्धरत पक्षलाई दिइरहेको हतियार आपूर्ति बन्द गरेर यसको सुरुवात गर्न सक्छन् । युद्ध अन्त्य भएपछि सार्वजनिक स्वास्थ्य समस्यालाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न सकिन्छ । यमनको समस्या चुलिँदै गएको छ र यमनीहरू मरिरहेका छन् । अझ दुःखद पक्ष अन्तर्राष्ट्रिय राष्ट्रले यमनीको मृत्युलाई बेवास्ता गरिरहेका छन् ।
(टोर्बे सहायता समूह ‘प्रोजेक्ट होप’का अध्यक्ष हुन् भने सहलोल मानवीय सहायता संस्था ‘मेड–ग्लोबल’का अध्यक्ष हुन्)
अलजजिराबाट