भारतमा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बुधबार १९ राज्यमा संकलन गरिएको नमुनामा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको जानकारी दिएको छ । नयाँ तथ्यसँगै भारतका ती राज्यमा कोरोनाको अवस्था जोखिमपूर्ण रहेको छ । कोरोना भाइरसको यो नयाँ प्रजाति बेलायत, दक्षिण अफ्रिका र ब्राजिलसँग मिल्दोजुल्दो छ ।
हालै भारतीय सार्स–सिओबी–२ कन्सोर्टियम अन जेनोमिक्सले विभिन्न १० ल्याबमा गरेको परीक्षणमा नयाँ केस देखिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले १० हजार ७८७ व्यक्तिको नमुना संकलन गरेको थियो । जसमध्ये सात सय ७१ नमुना बेलायतमा देखिएको नयाँ कोरोना भाइरससँग मिलेको छ । यसैगरी, दक्षिण अफ्रिकाको नयाँ भाइरस ३४ व्यक्तिमा देखिएको मन्त्रालयको भनाइ छ । संकलित नमुनामध्ये एकजनामा मात्र ब्राजिलियन केस देखिएको छ ।
यस सम्बन्धमा महामारी विज्ञानले अध्ययन गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिम महाराष्ट्रमा संकलन गरिएको नमुनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ देखिएको थियो । यसैबीच, भारतमा एक दिनभित्र ४७ हजार दुई सय ६२ जना संक्रमित भएका छन् । दुई सय ७५ जनाको कोरोनाका कारण निधन भएको छ ।
ब्राजिलमा एकै दिन तीन हजारभन्दा बढीको मृत्यु
ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण झनै बढिरहेको छ । २४ घन्टाभित्रमा कोरोना भाइरसका कारण तीन हजार २५१ जनाको निधन भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा भाइरसबाट दुई लाख ९८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । गत साता एकै दिन कोरोना भाइरसबाट दुई हजार ८४१ जनाको मृत्यु भएको थियो ।
मंगलबारको संख्या नै एकै दिन मृत्यु हुने सबैभन्दा बढी भएको बताइएको छ । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याका आधारमा दोस्रो प्रभावित देश हो । ब्राजिलमा २४ घन्टामा ८० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएको एजेन्सीहरूले जनाएका छन् । ब्राजिलमा अहिलेसम्ममा एक करोड २१ लाखभन्दा बढी संक्रमित भएका छन् ।
बेलायतद्वारा अनावश्यक विदेश यात्रामा प्रतिबन्ध

बेलायतले अनावश्यक रूपमा विदेश यात्रा गर्न आफ्ना नागरिकलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतले कोरोना भाइरस रोकथाम गर्न जुनसम्म नै यस्ता यात्रा नगर्न नागरिकलाई आग्रह गरेको छ । सरकारको निर्देशनविपरीत विदेश यात्रा गरेको भेटिए ती नागरिकलाई आठ लाख रुपैयाँ जरिवाना गराउने जनाइएको छ । संक्रमित संख्याका आधारमा बेलायत पाँचौँ ठूलो देश हो । बेलायतमा अहिलेसम्म ४२ लाख ९६ हजार ५८३ जना संक्रमित भएका छन् । जसमध्ये ३६ लाख ७३ हजार दुई सय ११ जना निको भएका छन् । कोरोनाका कारण यहाँ एक लाख २६ हजार १५५ जनाको निधन भएको छ ।
जर्मनीमा १८ अप्रिलसम्म लकडाउन

कोरोना भाइरसको अवस्था भयावह भएका कारण नै जर्मनीमा लकडाउन गर्नुपरेको चान्सलर एन्जेला मर्केलले बताएकी छन् । चान्सलर मर्केलका अनुसार १८ अप्रिलसम्म जर्मनीमा लकडाउन रहनेछ । ‘एक वर्षअघिको जस्तै अवस्था जर्मनीमा छ, यसमाथि नियन्त्रण लिन नै सरकारले लकडाउन थप गरेको हो,’ मर्केलले भनिन्, ‘हामीले मुख्यतः १६ राज्यमा लकडाउन कडा पारेका छौँ ।’
चान्सलर मर्केलले यसपटकको लकडाउन अघिल्लोको तुलनामा सशक्त हुने जनाएकी छन् । धार्मिक सभा, सामूहिक रूपमा हुने भेट तथा भिडभाड नगर्न भनिएको छ । लकडाउन गरिएका सबै राज्य तथा सहरका पसल बन्द रहनेछन् । सरकारले निश्चित समयका लागि खुला गरिएको समय मात्र पसल खुल्न पाउनेछन् । यसैबीच, क्रिस्टियन डेमोक्र्याटिक युनियनले सरकारले लागू गरेको लकडाउन प्रभावकारी नभएको दाबी गरेको छ । ‘अहिलेको लकडाउन खासै प्रभावकारी भएको देखिँदैन,’ युनियनले भन्यो ।
जर्मनीमा २६ लाख ७० हजार संक्रमित छन् । जसमध्ये २४ लाख १५ हजार दुई सय संक्रमणबाट मुक्त भएका छन् । जर्मनीमा कोरोनाका कारण ७५ हजार २७० जनाले ज्यान गुमाएका छन् ।