जवाफ दिने विषयमा खनाल–नेपाल पक्षमा जुटेन सहमति

बिहिबार, १२ चैत, २०७७
डिजिटल संस्करण

अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने विषयमा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष अलमलमा देखिएको छ । ओलीले सोधेको स्पष्टीकरणको जवाफ के दिने भन्ने विषयमा छलफल गर्न बुधबार बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेताहरूबीच साझा रूपमा वा एक्लाएक्लै जवाफ दिने भन्नेमा नै सहमति जुट्न सकेन ।

खनाल–नेपाल समूहको यसअघिको बैठकले ओलीले सोधेका स्पष्टीकरणको सामूहिक रूपमा जवाफ सार्वजनिक गर्ने भन्ने निष्कर्षमा पुगेको थियो । तर, ओलीले ‘गुटसँग डिल नगर्ने र व्यक्तिगत रूपमा छलफल गर्न आउनुपर्ने’ बताएका थिए । यसको मतलब छुट्टाछुट्टै सोधिएका स्पष्टीकरणको जवाफ पनि छुट्टाछुट्टै चाहिन्छ भन्ने हो । यस्तो अवस्थामा खनाल–नेपाल समूह के गर्ने भन्ने अप्ठेरोमा परेको छ । 

ओलीले छुट्टाछुट्टै सोधेको स्पष्टीकरणको जवाफ सामूहिक रूपमा दिने हो भने कारबाहीको डन्डा चलाउन नसक्ने खतरालाई खनाल–नेपाल समूहले बुझेको नै छ । तर, व्यक्तिगत रूपमा छुट्टाछुट्टै जवाफ पठाउने हो भने ओलीले २८ फागुनपछि गरेका पार्टीसम्बन्धी सम्पूर्ण गतिविधिलाई अवैधानिक भन्दै आएको कुरालाई खण्डन गरेको ठहरिनेछ । यसअघि शीर्ष नेताहरूदेखि उपमहासचिव घनश्याम भुसालले पनि ओलीले सोधेका प्रश्नको सामूहिक रूपमा जवाफ सार्वजनिक गर्ने र प्रतिप्रश्न गर्ने बताएका थिए । तर, ओलीले त्यसरी दिएको जवाफलाई नमान्ने र विवाद थप चर्किने सम्भावना देखेपछि खनाल–नेपाल समूह अलमलमा परेको छ ।

बुधबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटीमा स्पष्टीकरणको जवाफ दिने विषयमा के निर्णय गर्नुभयो भन्ने प्रश्नमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गोेलमटोल जवाफ दिए । ‘हामीले ओलीलाई जवाफ दिनेभन्दा पनि जनतालाई प्रस्ट पार्नुपर्नेछ । हामी त्यो त पार्छौँ नै, तर ओलीले आफूले चालेका स्वेच्छाचारी कदमको जवाफ पनि आमजनता र राष्ट्रलाई दिनुपर्नेछ,’ उनले भने, ‘हामी पनि उनलाई प्रश्न गछौँ ।’ 

उनले जवाफ के दिने र कस्तो खालका प्रतिप्रश्न गर्ने भन्ने खाका आफूहरूसँग तयार रहेको र छलफल चलिरहेको बताए । ‘ओलीजीका कदमले मुलुकको संविधान, लोकतन्त्र, सिंगो कम्युनिस्ट आन्दोलन र एमाले पार्टीलाई ध्वस्त बनाउन खोजेको प्रस्ट भएको छ । उनले सोधेका प्रश्नको जवाफ दिनेभन्दा पनि उनीबाट जनताका प्रश्नको जवाफ खोज्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘के जवाफ दिने र के प्रश्न सोध्ने भन्नेमा हामी स्पष्ट छौँ ।’

यस्तै, बुधबार बसेको बैठकले वर्तमान अवस्थामा ओलीका क्रियाकलापले उनीसँगै पार्टीमा रहन अप्ठेरो परेको निचोडमा खनाल–नेपाल समूह पुगेको छ । यद्यपि, अन्तिम निर्णयमा नै पुगिसकेको भने छैन । उपलब्ध स्थायी कमिटी सदस्यहरू बसेको बैठकमा स्पष्टीकरणको जवाफ दिने कि नदिने, दिए संयुक्त दिने कि एक्लाएक्लै दिने वा पार्टी एकता कायम राख्ने वा अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको थियो । करिब सात घन्टा लामो चलेको उक्त बैठक बिहीबार पुनः बस्ने गरी सकिएको छ । 

बैठकमा बोलेका अधिकांश नेताहरूले यस्तो अवस्थामा एमाले पार्टी नै पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए । ओलीले जसरी जिम्मेवारी हेरफेर, नेताहरूलाई स्पष्टीकरण र मनपरी कारबाहीलगायतका विषयमा कदम चालिरहेका छन् यसले सँगै बस्न सक्ने अवस्था नै नरहेको धारणा उनीहरूको थियो । तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य गोकर्ण विष्ट, रघुजी पन्त, अमृत बोहरालगायतले भने पार्टीभित्रै रहेर ओलीविरुद्ध संघर्ष गर्नुपर्ने धारणा राखेका थिए । स्पष्टीकरणको जवाफ र पार्टी एकता कायम राख्ने वा अघि बढ्ने भन्ने विषयमा बिहीबार बस्ने बैठकमा पनि छलफल हुने सहभागी एक नेताले जानकारी दिए ।

आरोप–प्रत्यारोप र समानान्तर गतिविधिबीच एमाले अध्यक्ष ओलीले ८ चैतमा महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहित खनाल–नेपाल समूहका चारजना नेतालाई स्पष्टीकरणपत्र पठाएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई तीन दिनभित्र लिखित जवाफ पठाउन र नपठाए कारबाही गर्ने चेतावनीसहितको स्पष्टीकरणपत्र ओली समूहले पठाएको थियो । 

स्पष्टीकरण सोधिएका चारजना नेताले भने ओलीसँग स्पष्टीकरण सोध्ने वैधानिक अधिकार नभएको प्रतिक्रिया दिएका थिए । स्पष्टीकरणपत्रमा नेताहरूलाई दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यका रूपमा सम्बोधन गरिएको थियो । जब कि खनाल–नेपाल समूहले भने केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको २८ फागुनको बैठकलाई अवैधानिक भन्दै २ जेठ ०७५ अघिको अवस्थामा पार्टी कमिटीलाई लैजानुपर्ने बताउँदै आएका छन् ।

धुम्बाराहीबाट एमाले पार्टी कार्यालय थापाथली सर्ने

एमालेको धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्ने भएको छ । सर्न लागेको भवनको अध्यक्ष केपी ओलीलगायत पदाधिकारीले बुधबार निरीक्षण गरेका छन् । 

धुम्बाराहीको कार्यालय थापाथली सार्ने निर्णय भएको सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए । दुगडका अनुसार अहिलेसम्म उक्त भवनको भाडा कति हुने भन्नेबारेमा कुनै सहमति भइसकेको छैन । यद्यपि, पाँच वर्षसम्मको सम्झौता भएको उनले जानकारी दिए । अब कार्यालय सर्न लागेको उक्त भवन दुगडका आफन्त सञ्जय अग्रवालको हो । 

‘मेरै आफन्तको घर हो । भाडा कति दिने भन्ने निश्चित भइसकेको छैन । तर, उहाँले पार्टीले दिने पैसा लिन्छु भन्नुभएको छ । पाँच वर्षका लागि सम्झौता भएको छ । १ वैशाखदेखि कार्यालय सर्ने तयारी भइरहेको छ,’ दुगडले भने । 

एमालेको अहिले सर्ने साढे दुई तलाको भवनमा १३ वटा कोठा छन् भने २५ वटासम्म चारपांग्रे गाडी पार्किङ गर्न मिल्ने ठाउँ छ । धुम्बाराहीस्थित पार्टी कार्यालय रहेको ठाउँनजिक चक्रपथको सडक विस्तार हुने भएपछि आवतजावतमा अप्ठेरो नहोस् भन्नका लागि कार्यालय सार्न लागिएको एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । 

‘चक्रपथ विस्तार भएपछि कार्यक्रम हुँदा बाहिरपट्टि पार्किङ गर्ने ठाउँ रहँदैन । भित्र दुई–तीनवटाभन्दा बढी गाडी अट्दैनन् । धेरै नै साँघुरो हुने अवस्था आउँछ । त्यसैले सर्न खोजेका हौँ,’ रिजालले भने । उनले धुम्बाराहीको भवन पनि अस्थायी रूपमा प्रयोग गरेको र अबको भवनसमेत अस्थायी प्रयोजनका लागि नै भाडामा लिन लागेको बताए । रिजालका अनुसार करिब चार रोपनी क्षेत्रफलमा बनेको भवनमा बल्खुको पार्टी कार्यालय निर्माण नहुन्जेलसम्म कार्यालय रहनेछ । 

करिब पाँच वर्षअघि बल्खुस्थित मदननगरमा रहेको पार्टी कार्यालय भूकम्पका कारण भत्किएपछि अस्थायी प्रयोजनका लागि धुम्बाराहीस्थित पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भवनमा सारिएको थियो । बल्खुमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले आगामी ९ वैशाखमा नयाँ भवनको शिलान्यास गर्ने घोषणा गरेका छन् । पार्टीभित्र विवाद चर्किएका वेला ओली पक्षले कार्यालय सार्ने र बल्खुमा भवन निर्माण गर्ने निर्णय गरेको छ । गत ५ पुसको संसद् विघटनको घटनापछि एमालेभित्र जारी विवाद पार्टी विभाजनको संघारमा पुगेको छ । ओली पक्षले एकलौटी निर्णय गर्दै माधव नेपाललगायत नेतालाई स्पष्टीकरण सोधेको छ । 

खनाल–नेपाल पक्षले पनि २८ फागुनपछि ओली पक्षले गरेका सबै निर्णय खारेज हुनुपर्ने भन्दै देशभर समानान्तर गतिविधि जारी राखेको छ । यद्यपि, ओली पक्षले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेला र सम्मेलन गर्दै आएको छ भने खनाल–नेपाल पक्षले होटेल र सार्वजनिक स्थानमा आफूपक्षीय भेला र कार्यक्रम गर्दै आएको छ ।

सुझावित समाचार