एक रुपैयाँ छाप्न दुई रुपैयाँभन्दा बढी खर्च : गभर्नर अधिकारी

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

एक रुपैयाँको नोट छाप्दा सरकारको दुई रुपैयाँभन्दा बढी खर्च हुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल बैंकर्स संघ प्रदेश २ ले मंगलबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मर्चेन्टहरूलाई क्युआर कोड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विभिन्न प्रकारका नोट छाप्न राज्यको ठूलो रकम खर्च भइरहेको बताए ।

‘एक रुपैयाँको नोट छाप्न दुई रुपैयाँभन्दा बढी रकम खर्च हुन्छ,’ उनले भने,‘ एक हजारको एउटा नोट छाप्न राज्यको ३ रुपैयाँसम्म खर्च हुन्छ । त्यसकारण क्यासलेस र डिजिटल बैंकिङको अवधारणा नेपाल राष्ट्र बैंकले लिएको छ ।’

 राष्ट्र बैंकले विद्युतीय कारोबारमा जोड दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘विद्युतीय माध्यममा कारोबार भएको खण्डमा आर्थिक विकृति पनि बिस्तारै समाप्त हुँदै जान्छ । व्यापारिक कारोबार गर्न वा पैसा लेनदेन गर्न कुनै प्रकारको असुरक्षा पनि हुँदैन ।’ संसारका विकसित मुलुकहरूले विद्युतीय बैंकिङ कारोबारमा जोड दिँदै आएको गभर्नर अधिकारीको भनाइ थियो । 

देशव्यापी रूपमा ‘डिजिटल बैंकिङ’को प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुसार आयोजना गरिएको कार्यक्रममा जनकपुरका विभिन्न २७ वटा बैंकका ३ सय ६८ जना मर्चेन्टलाई क्युआर कोड वितरण गरिएको नेपाल बैंकर्स संघ प्रदेश २ का अध्यक्ष राजेश तिमल्सिनाले जानकारी दिए । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहितको सहभागिता रहेको थियो । 

सुझावित समाचार