न्युटन अत्यन्तै धार्मिक र पवित्रशास्त्रको शाब्दिक सत्यमा विश्वास गर्ने वैज्ञानिक हुन्
शास्त्रीय विज्ञानमा, मुख्यगरी १८औँ शताब्दीअघि ब्रह्माण्ड, पृथ्वी र जीवनको व्याख्या प्रमुख रूपमा ईश्वरीय मान्यतासँग गाँसिएको थियो । आध्यात्मिक मान्यतामै रहेर जीवको पूर्वअस्तित्वको परिकल्पनासमेत गरिन्थ्यो । यसो हुनुको मुख्य कारण के थियो भने, ‘एरिस्टोटेलियन’ र विकासका अन्य ‘एपिजेनेटिक’ सिद्धान्तमा निहित क्रमिक विकासको व्याख्या गर्दा एकीकृत प्रणालीको अस्तित्व अन्यथा गाह्रो हुन्थ्यो । यद्यपि कतिपय वैज्ञानिक सिद्धान्त आध्यात्मिक मान्यतासँग जोडिए पनि अयथार्थपूर्ण भने थिएनन् । ‘क्याल्भिनिज्म’ र ‘जेन्सेनिज्म’ जहाँ प्रचलित थियो त्यहाँ अगस्टिनियन धर्मशास्त्रको कडा प्रभाव रहेको प्रमाणले देखाएका छन् । रेने डेसकार्टेस एक त्यस्ता प्रकृति विद्वान् हुन्, जसका सिद्धान्तले १७औँ शताब्दीमा पृथ्वीको सिद्धान्त र कार्टेसियन मान्यताका दुई महत्वपूर्ण परम्परा सुरु गरेको अनुमान गर्न सकिन्छ । तर, न्युटनियन प्राकृतिक दर्शनले भने जीवोत्पत्तिका सन्दर्भमा पृथ्वी सिद्धान्त र कार्टेसियन मान्यताभन्दा फरक परिणामअगाडि सारेको पाइन्छ । जीवन विकासको व्याख्याका क्रममा यो लेखमा आज यिनै विषयलाई पंक्तिकारले मूल सन्दर्भ बनाएको छ ।
चार्ल्स डार्विनलाई, प्रख्यात भूविज्ञानी सर चाल्र्स लायल (१७९७–१८७५) जो उनका समकालीन मात्र नभएर नजिकका मित्र पनि थिए, तिनमा उनको गतिलो प्रभाव परेको थियो । जीव विकासबारे आफ्नो मत राख्दै भूविज्ञानी लायलले के प्रस्ताव गरे भने, पृथ्वीको भौतिक विशेषता ठूलो भूगर्भीय प्रक्रियाको परिणाम हो, जसले समयको विशाल अवधिमा कार्य गर्छ । यसैले सृष्टिलाई केही हजार वर्षको अवधिमा मात्र तुलना गर्न मिल्दैन । आजभन्दा ३७० वर्ष पहिले प्रकृतिको ‘इतिहास’मा महत्वपूर्ण प्रतिबिम्ब बुझ्न पृथ्वी र सौर्यमण्डलको इतिहासको व्याख्याका लागि कार्टेसियन अनुमान महत्वपूर्ण प्रतितथ्यात्मक परिकल्पनाको रूपमा प्रस्तुत गरिएको थियो । वास्तवमा यो परिकल्पना गरिनुको कारण उत्पत्तिका सन्दर्भमा स्पष्ट रूपमा स्वीकार्य ईश्वरशास्त्रीय व्याख्यासँगको द्वन्द्वबाट जोगिनका लागि नै थियो । किनकि कार्टेसियन मान्यता भावना र पदार्थसँग गाँसिएको थियो । पदार्थको सार तीन आयाममा विस्तारित थियो र तेस्रो आयाम ईश्वरीय मान्यतासँग जोडिएको थियो ।
पृथ्वीको निर्माणका सन्दर्भमा रेने डेसकार्टेसको काल्पनिक वृत्तान्त सन् १६४४ मा प्रकाशित ‘दर्शनशास्त्रका सिद्धान्तहरू’ नामक पुस्तकमा प्रस्तुत गरिएको छ । उनका अनुमान मुख्य गरी दुई मान्यताजस्तै जीवित प्रजातिहरूको उत्पत्ति, पृथ्वीको निर्माण र इतिहाससँग सम्बन्धित छ । उनको प्रमुख मान्यताले सौर्यमण्डलको उत्पत्ति र विश्वलाई प्रतितथ्यात्मक परिकल्पनाको रूपमा ऐतिहासिक वर्णन प्रस्तुत गर्छ । यो पुस्तकमा उनले पहिले पृथ्वीलाई सूर्यजस्तो चिसिएको ताराबाट रचना भएको मान्यता अगाडि सारे । उनको परिकल्पनाअनुसार एक महान् आकाशीय भवरमा पृथ्वीको क्रमिक निर्माण भएको हो । कालान्तरमा सुक्खा र चर्कने प्रक्रियाले समुद्री घाटी, महादेश र हिमालका शृंखला बनेका हुन् । वास्तवमा डेसकार्टेसबाट प्रस्तावित सिद्धान्तको मुख्य आशय जीवनको उत्पत्तिसँगै प्रत्येक प्रजातिको उत्पत्तिको प्राकृतिक व्यख्यातर्फ केन्द्रित छ ।
विभिन्न भागमा प्रकाशित उनको पुस्तकको चौथो भागमा चाहिँ सामान्यतया भौतिक गुणलगायत पृथ्वीको उत्पत्तिका बारेमा व्याख्या गरिएको छ । पुस्तकको पाँचौँ र छैटौँ भागमा चुम्बकत्वको छलफलबाट जनावर र मानिससँग व्यवहार गर्ने सिद्धान्तको अनुमानित व्याख्या गरिएको छ । समष्टिमा दर्शनशास्त्रका सिद्धान्तले केवल विभिन्न इन्द्रीय र शरीर–आत्मा अन्तरक्रियाको संक्षिप्त छलफल मात्र प्रदान गर्छ भनेर धेरै विद्वान्ले औँल्याउने गरेका छन् । सन् १६६२ मा प्रकाशित पहिलो ल्याटिन संस्करण र सन् १६६२–६४ मा प्रकाशित दोस्रो फ्रान्सेली संस्करणमा समावेश गरिएका यी अनुमान मुख्यगरी ईश्वरीय कार्यद्वारा सीधा सिर्जना गरिएको काल्पनिक अवधारणामा आधारित छन् । यी सिद्धान्त वास्तवमा प्रकृतिको इतिहास बुझ्ने माध्यम शाब्दिक सत्य वर्णनका रूपमा भन्दा पनि मानव दिमागबाट परिकल्पित सीमिततामा मात्रै आधारित छन् । डेसकार्टेसले यो पुस्तकमा प्रमुख रूपमा यान्त्रिक भौतिक नियमलाई प्रस्ताव गरेका छन् ।
१८औँ शताब्दीको न्युटनियन यथार्थवादी व्याख्या वास्तवमै बहुआयामिक मात्र होइन, नवीन वैज्ञानिक मान्यताको सुरुवात पनि थियो । किनकि यसै शताब्दीमा विश्वको इतिहाससँग प्रजातिको स्थायित्व र प्राणीको सम्बन्धबारे नयाँ अवधारणाको विकास सम्भव भएको थियो ।
स्लोनलगायत धेरै विद्वान् भन्छन्– डेसकार्टेसका मान्यताले १९औँ शताब्दीमा रहेको ऐतिहासिक विज्ञानको विशुद्ध काल्पनिक पढाइको विकल्प प्रदान गर्यो । अभाव के थियो भने, यान्त्रिक प्रकृतिवादको नयाँ प्राकृतिक दर्शनमा जीवित प्राणीको एकीकरणका सम्बन्धमा यी सिद्धान्तमा समाधान भने खोजिएको थिएन । तर, डेसकार्टेसका सिद्धान्तमा प्रस्तुत प्रतिबिम्बले जीवित प्राणीहरूको उत्पत्तिबारे प्राकृतिक विवरण प्रदान गर्ने समस्यालाई भने जोड दिएको मान्न सकिन्छ । पछि गएर डेसकार्टेसको प्रतिबिम्बमा आधारित दुई परम्परा विश्वमा सुरु भएको कुरामा कुनै दुई मत छैन । सन् १६६९ मा डेनिस कार्टेसियन निकोलस स्टेनो (१६३८–१६८६)द्वारा ‘डे सोलिडो इन्ट्रा सालिडम नेचुरलिटर कन्टेन्टो’ नामक शोधपत्र प्रकाशन भएपछि नै कार्टेसियन ब्रह्माण्ड विज्ञानमा जीवित प्राणीको ऐतिहासिक उत्पत्तिका विषयवस्तुलाई आकर्षित गर्न प्रयास सुरू भएको मान्न सकिन्छ ।
अहिले जीवास्म पृथ्वीमा जीवनको इतिहास बुझ्ने एक मात्र महत्वपूर्ण कडी हो । जीवास्म एकपटक पृथ्वीमा अवस्थित जीवहरूको अवशेष हो, जुन ऐतिहासिक रूपमा गठन भएको थियो भन्ने धारणा स्टेनोको शोधपत्रमा उल्लेख छ । रुद्विकले सन् १९७२ मा प्रकाशित एक लेखमा भनेका छन्– अद्यापि कार्टेसियन सिद्धान्तमा जीवास्ममार्फत प्राणीहरूको उत्पत्तिबारे व्याख्या गर्ने कुनै प्रयास भने गरिएको छैन । त्यस्तै, दोस्रो परम्पराले १६औँ र १८औँ शताब्दीको सुरुमा प्रकाशित प्रतिबिम्बको एक शृंखलाको स्थापना गर्यो, जुन पछि गएर वैज्ञानिक– साहित्यिक आलेखमा ‘पृथ्वीका सिद्धान्तहरू’ भनेर चिनिन थाल्यो । वास्तवमा यो परम्परा सन् १६८१ मा अंग्रेज पादरी थोमस बर्नेट (१६३५–१७१५) द्वारा प्रकाशित ‘टेलुरिस थियोरिया सर्का’ अर्थात् ‘पृथ्वीको पवित्र सिद्धान्त’बाट सुरू भएको हो । जसमा प्राकृतिक नियममा आधारित जटिल स्पष्टीकरण प्रस्ताव गरिएको थियो । यसमा बर्नेटले एउटा ‘मोसिक’ परम्पराको निर्माणको धारणा प्रस्तुत गर्दै यसलाई पृथ्वीको उत्पत्तिको कार्टेसियन–व्युत्पन्न ऐतिहासिक मान्यतामा संलग्न गर्दै व्याख्या गर्ने प्रयत्न गरेका थिए ।
बर्नेटले भनेका थिए– पृथ्वी एक मौलिक अराजकताबाट सुरू भयो । उनको समयसीमा धार्मिक मान्यता अर्थात् ६००० वर्षभन्दा पर गएनन् । जीवित प्राणीको उत्पत्तिलाई व्याख्या गर्न भौगोलिक विकासलाई इंगित गर्दै उनले के अनुमान गरे भने ईश्वरीय कार्यले नै विद्यमान पृथ्वीमा क्रमशः परिवर्तनको शृंखला सुरु भएको हो । उनको मान्यतामा ‘जल प्रलय’लाई मुख्य घटनाका रूपमा समावेश गरिएको थियो । विभिन्न व्याख्यामा ‘पृथ्वीको सिद्धान्त’लाई एक परम्पराका रूपमा प्रस्ताव गरिँदै आएको पाइन्छ । जोन रे (१६२७–१७०५), जोन वुडवर्ड (१६६५–१७२८) र विलियम ह्विस्टन (१६६७–१७५२)जस्ता प्राकृतिक दार्शनिकले यसको विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका थिए । अहिलेका वैज्ञानिकहरू भन्छन्– जीवहरूको उत्पत्तिको प्राकृतिक व्याख्याका सवालमा उनीहरू असफल नै रहे । १७औँ शताब्दीमा भ्रूण उत्पत्तिका सन्दर्भमा आएको व्याख्यानले भने विशेष ध्यान केन्द्रित गर्यो । किनकि यो मान्यता प्रजातिको उत्पत्तिका बारेमा भएका अनुमानसँग करिब–करिब नजिक पुगेको थियो ।
सन् १६८७ मा पहिलोपटक र सन् १७१३–२६ मा संशोधित संस्करणसहित न्युटनको ‘फिलोसोफिया नेचुरलिस प्रिन्सिपिया मेथेमेटिका’ अर्थात् ‘प्राकृतिक दर्शनको गणितीय सिद्धान्त’ प्रकाशनमा आएपछि भने कार्टेसियनवादको मौलिक आलोचना विकसित भएको मान्न सकिन्छ । न्युटन अत्यन्तै धार्मिक र पवित्रशास्त्रको शाब्दिक सत्यमा विश्वास गर्ने वैज्ञानिक हुनम । वास्तवमा न्युटनले प्रकृतिको ‘यान्त्रिक’ नियमलाई ईश्वरीय मान्यतासँग समन्वय गरे पनि कुनै समयमा त्यस संयन्त्रमा प्रवेश र परिवर्तन गर्न सक्ने ‘शक्ति’लाई भने कायम राखे । भौतिक मान्यताको स्पष्ट व्यख्याका लागि ‘दुरीमा आकर्षण’को एक नविन अवधारणा न्यूटनले प्रस्तुत गरे । सन् १७०६ मा ल्याटिन भाषामा प्रकाशित ‘अप्टिक्स’ नामक पुस्तकमा सूक्ष्मस्तरमा ‘सक्रिय शक्ति’को अवधारणालाई विस्तार गर्दै न्युटनले जैविक छलफलमा नयाँ सोच प्रस्तुत गरे । न्युटनको यो सोच त्यसपछिका दशकमा बहसको महत्वपूर्ण विषय बन्यो । ‘सक्रिय शक्ति’को अवधारणाले जीवन–विज्ञानमा गतिशील वा आयामिक पदार्थको अवधारणा प्रस्तुत गर्यो । यसले भर्खरै सुरु भएको महत्वपूर्ण भ्रूणविज्ञानको मान्यतालाई खबरदारी मात्र गरेन प्रकृतिको गैरयान्त्रिकीय अवधारणाअन्तर्गत आन्तरिक शक्तिको एउटा मान्यतालाई समेत स्थापित गरायो । वास्तवमा न्युटनको सक्रिय सूक्ष्म बलको अवधारणाबारे अप्टिक्समा गरिएको नवीन परिचयपछि नै यसबाट सूक्ष्म–रसायनिक र विद्युतीय घटनाको व्याख्या गर्न सकिन्छ भन्ने मान्यतालाई बल पुग्यो ।
त्यस्तै, न्युटनियनको यन्त्रवत् व्याख्याले पदार्थको जड चरित्रलाई मात्र कायम राखेन कार्टेसियन जैव सम्यन्त्रका धेरै प्रमुख विशेषताको समर्थन पनि गरेको पाइन्छ । वैज्ञानिक स्कोफिल्डले सन् १९७० मा प्रकाशित एक पुस्तकमा भनेका छन्– आकर्षण र विकर्षणको सूक्ष्म बलको प्रयोगका साथ यसले गणितीय मापनको महत्वलाई समेत अभिवृद्धि गर्यो । पुनरावृत्तिको अवस्था अर्थात् व्याख्यानको यस परम्परामा एकले यन्त्रवादी पूर्वसूचनावाद र अझ कडा रूपमा भन्ने हो भने पूर्वनिर्धारित सिद्धान्तप्रति प्रतिबद्धतासमेत दर्साउँछ । न्युटनको रासायनिक तथा भौतिकलगायत प्राकृतिक तर्कलाई फ्रान्ससँगै धेरै युरोपेली राष्ट्रका औषधीय क्षेत्रका लेखकले अनुसरण गरेका थिए । विशेषगरी औषधीय क्षेत्रतर्फको व्याख्या १८औँ शताब्दीको सुरुका दशकमा विकसित भएको थियो । सन् १९८७ मा प्रकाशित गुरिनीको लेखअनुसार डच मेडिकल स्कुलमा राम्रो सम्बन्ध भएका हर्मन बोर्हाभ, आर्किबाल्ड पिटकेरन, रिचर्ड मिडलगायत अन्य न्युटनियन आइट्रोमेकानिस्टले आफ्ना औषधीय सिद्धान्तमा समावेश गरेका थिए ।
न्युटनले विश्व निर्माणका सन्दर्भमा कार्टेसियन मान्यताका विरूद्धमा तर्क आफ्नो पुस्तक अप्टिक्समा समावेश गरेका छन् । उनले के पनि दाबी गरेका छन् भने विश्व ‘प्रकृतिको नियम अराजकताबाट मात्र उत्पन्न हुन सक्छ’ र यसलाई उनले ‘अपवाद’ मानेका छन् । १८औँ शताब्दीको न्युटनियन यथार्थवादी व्याख्या वास्तवमै बहुआयामिक मात्र होइन, नवीन वैज्ञानिक मान्यताको सुरुवात पनि थियो । किनकि यसै शताब्दीमा विश्वको इतिहाससँग प्रजातिको स्थायित्व र प्राणीको सम्बन्धबारे नयाँ अवधारणाको विकास सम्भव भएको थियो ।
सँगसँगै १८औँ शताब्दीमै ध्रुवसत्य सन्यन्त्रको विघटन, पदार्थको गतिशील सिद्धान्तको नयाँ परिचय, भ्रूण गठनसँग गाँसिएका नयाँ सिद्धान्त र भौतिक संसारसँग समयको सम्बन्धलगायत अवधारणा अगाडि आएका थिए । जीवन इतिहासको ‘पतित’भन्दा पनि ‘प्रगतिशील र विकासगत’ अवधारणाको व्याख्या पनि यही अवधिमा आएको थियो । स्पष्ट रूपमा भन्ने हो भने, उल्लिखित घटनाक्रमका धेरै पक्ष १८औँ शताब्दीको सुरुवाती समयमा भएका बहसमा देखा परेको पदार्थको अधिक ‘गतिशीलता वा आयामिक’ अवधारणाको परिचयसँग जोडिएको छ ।