देउवाले भने– ओलीविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण
देउवाले भने– ओलीविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन

फाइल तस्बिर

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार बन्ने वातावरण बनिनसकेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले कांग्रेसले अहिले सरकारको नेतृत्व लिने वातावरण बनिनसकेको स्पष्ट पारेका हुन् । कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभामा सहभागी हुन र धरानमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन देउवा मोरङ आएका हुन् । 

पूर्वप्रधानमन्त्री देउवाले तत्काल प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्नो पार्टीले अविश्वासको प्रस्तावसमेत नल्याउने बताए । विमानस्थलमा देउवा र पत्रकारहरूबीच सवालजवाफ चलेको थियो । पत्रकारहरूले सरकार कहिले बनाउने, किन नबनाएको ? देशलाई अनिर्णयको बन्दी किन बनाएको ? प्रतिगमनको नाइकेलाई किन नहटाएको ? ओलीसँग मिलेर सरकार बनाएर चुनावमा किन नगएको भनेर पत्रकारहरूले निरन्तर प्रश्न सोधेपछि देउवा आक्रोशित बनेका थिए । जवाफमा उनले कांग्रेस विपक्षी पार्टी भएको बताउँदै सरकार बन्ने अवस्था नरहेको बताए । 

कांग्रेसको नेतृत्वमा सरकार कहिले बन्छ भनेर सोधेको प्रश्नमा देउवाले आफूहरू विपक्षी पार्टी भएकाले अहिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने वातावरण बनिनसकेको स्पष्ट पारे । सरकारको अपजसको भार टाउकोमा लिन आफूहरू तयार नभएको उनको भनाइ थियो ।

‘अहिले सरकारको नेतृत्व लिने वातावरण बनिसकेको छैन । प्रतिगमनको नाइके केपी ओली हो र ? तपाईहरूलाई थाहा होला,’ देउवाले भने । तर, पत्रकारहरूको प्रश्न त्यतिमै रोकिएन । उनीहरूले निरन्तर प्रश्न गर्दै अविश्वासको प्रस्ताव कहिले ल्याउने भनेर सोधेको सोध्यै गरेपछि भने देउवा जंगिए । आक्रोशित हँुदै उनले भने, ‘हामी विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, सुन्नु भएन ल जानोस् ।’ अदालतको फैसलापछि देश झन् अनिर्णयको बन्दी बन्यो नि भनेर पत्रकारले सोधेको प्रश्नको देउवाले भने, ‘के ठीक, के बेठीक, त्यो अदालतले भनिसकेको छ ।’ 

कांग्रेसलाई दुःख दिनेलाई छोड्दैनौँ’
कांग्रेस सभापति देउवाले उपसभापति विजय गच्छदारलाई फसाउने काम भएको भन्दै न्याय पाउने विश्वास लिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले सुनसरीको धरानमा मंगलबार आयोजना गरेको ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन समारोहमा उनले भने, ‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।’

उनले कम्युनिस्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले कांग्रेसका कार्यकर्तालाई दुःख दिएको भन्दै आक्रोश पोखे । ‘जनताको करबाट तलब खाएर पार्टीको काम गर्ने ?’ झोक्किँदै देउवाले भने, ‘हाम्रो पार्टीको साथीलाई दुःख दिनेलाई छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’ देउवाले आफूले चाहेर पनि प्रधानमन्त्री बन्ने अवस्था नरहेकोसमेत बताए । उनले भने, ‘शेरबहादुरले प्रधानमन्त्री खाएन–खाएन भन्ने हल्ला छ, तर त्यस्तो होइन, सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र दुइटा पार्टी भए, अहिले बहुमतको सरकार छ । बहुमतको सरकार हुँदाहुँदै मैले चाहेर प्रधानमन्त्री हुने हो र ? त्यसैले मैले चाहेर पनि हुँदैन । शेरबहादुरले प्रधानमन्त्री खाँदै खाएन भन्ने हल्ला छ । खान्छु भनेर मात्रै भएन नि ।’

See More On

सुझावित समाचार