नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअप (नवप्रवर्तन) उद्यम–व्यवसायहरूलाई लगानी जुटाउन सहयोग गर्ने भएको छ । नवीन सोचमा आधारित बिजनेस आइडियामा लगानी गरेर उद्यमशीलता विकास गर्न महासंघले संयोजनकारी भूमिका निर्वाह गर्न लागेको हो ।
महासंघले पहिलोपटक स्टार्टअपहरूको प्रवद्र्धनमार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप एन्ड इनोभेसन समिति गठन गरेको छ । समितिका सभापति रञ्जितराज आचार्यले सोमबार महासंघ सचिवालयमा स्टार्टअपको पर्वद्धनका लागि विशेष योजना सार्वजनिक गरेका छन् ।
पृथक् ढंगले बिजनेस गर्न चाहने ५० स्टार्टअपलाई पुँजी जुटाइदिएर उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । नवउद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्न महासंघको नयाँ नेतृत्वले पहलकदमी लिएको हो । विश्वभरि नवीन सोचमा आधारित भएर उद्यम गर्न चाहनेलाई सघाउन विशेष नीति तथा कार्यक्रमहरू ल्याइए पनि नेपालमा त्यसो हुन नसकेको महासंघ अध्यक्ष शेखर गोल्छाले बताए ।
उद्यमशीलता परामर्श
स्टार्टअप उद्योग–व्यवसायहरू लगानीका लागि छनोट भइसकेपछि उनीहरूलाई लगानीकर्तामाझ पुर्याउन पहिलो तीन महिनाको मेन्टरसिप कार्यक्रममा समावेश गराइनेछ । उद्यमशीलतासम्बन्धी परामर्श दिन लामो व्यावसायिक अनुभव हासिल गरेका सफल २० जना मेन्टरहरूको सूची तयार भइसकेको छ, जसमा अनिल चित्रकार, पशुपति मुरारका, ओम राजभण्डारी, सौरभ ज्योति, आशुतोष तिवारी, रञ्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, शिक्षित भट्ट, विश्वास ढकाल, सुमना श्रेष्ठ, नीरज खनाल, आनन्द बगरिया, गगन प्रधान, निरञ्जन श्रेष्ठ, लिलिप अग्रवाल, सनम चित्राकार, योगेन्द्र शाक्य, भाष्कर ढुंगाना र सञ्जय गोल्छा छनोट भएका छन् ।
एक स्टार्टअपलाई एक मेन्टरका हिसाबले २० स्टार्टअपलाई लामो व्यावसायिक अनुभव बटुलेका मेन्टरहरूमार्फत करिब ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ । मेन्टरसिपमा सफलतापूर्वक मेन्टरिङ पूरा गरेका स्टार्टअपलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्तामाझ आफ्नो व्यवसायको प्रस्तुतिका लागि मौका प्रदान गरिने आचार्यले जानकारी गराए । जिल्लामा पनि स्टार्टअपलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराइने बताइएको छ ।
महिनाको पहिलो शुक्रबार छलफल
हरेक क्षेत्रका सफल उद्यमीसँग स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी ज्ञान बाँड्नका लागि प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार छलफल कार्यक्रम गरिनेछ । उक्त कार्यक्रम महासंघ सचिवालयमा दिउँसो ३ देखि साढे ५ बजेसम्म चल्नेछ । आचार्यका अनुसार कार्यक्रममा सफल उद्यमीहरू र सम्बन्धित विज्ञहरू सहभागी हुनेछन् । आगामी अप्रिल २ तारिखमा पहिलो कार्यक्रम आयोजना गर्ने उनले बताए । पहिलो कार्यक्रममा हिमालयन जाभाका सञ्चालक गगन प्रधानद्वारा सफल फ्रेन्चाइज बिजनेस मोडलका बारेमा अन्तक्र्रिया हुनेछ । सो कार्यक्रममा फ्रेन्चाइज बिजनेससँग सम्बन्धित स्टार्टअप उद्योग–व्यवसायलाई सहभागी गराइनेछ ।
पोलिसी इनोभेसन
नवीन सोचसहित स्टार्टअप उद्यम–व्यवसाय सुरु गरेका उद्यमीलाई वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाब तयार गरिने भएको छ । यो क्षेत्रका लागि हुनुपर्ने नीतिगत सुधारका विषयमा सुझाब पेस गरिने आचार्यले बताए । उनले भने, ‘यस क्षेत्रको विकास विस्तारका लागि आवश्यक नीति–कानुन निर्माणमा सरकारसँग सहकार्य गर्दै छौँ ।’
महासंघले आर्थिक रूपान्तरण मार्गचित्र (भिजन पेपर) मार्फत अगाडि सारेको प्रतिवर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यलाई पूरा गर्न मुलुकभित्र नवीनतम सोचसहितको उद्यमशीलता प्रवद्र्धन गर्न उद्योग मन्त्रालयअन्तर्गत रहेको लगानी प्रवद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति–निर्माणका लागि पहल गर्ने रणनीति बनाएको छ ।
महासंघ अध्यक्ष गोल्छाले स्टार्टअप प्रवद्र्धनका लागि सघाउन काम एकदमै सान्दर्भिक र शक्तिशाली भएको बताए । उनले भने, ‘यो भिजन पेपर कार्यान्वयनको महत्वपूर्ण खुड्किला बनेको छ, यो सुरुवात हो, आगामी दिनमा धेरै स्टार्टअपलाई सघाउँदै जानेछौँ ।’ महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा नवीन सोचमा आधारित उद्यमहरू बढ्दै गए पनि पुँजी उपलब्ध नहुँदा समस्यामा परेको उल्लेख गरे ।
नेपालमा पछिल्लो समय नवीनतम सोचमा आधारित उद्यम–व्यवसायमा बिस्तारै बढोत्तरी हुँदै आएको पाइन्छ । पछिल्ला ५ वर्षमा नेपालमा स्टार्टअपहरू राम्रो फस्टाएको कुरालाई विभिन्न अध्ययनहरूले समेत देखाएको छ । खासगरी महाभूकम्प र कोभिडपश्चात् नेपालमा पनि स्टार्टअप व्यवसायले गति लिन थाल्यो । प्रविधिमा आधारित साना तथा मझौला व्यवसायहरू उच्च वृद्धि भइरहेको देखिन्छ ।
विश्व इनोभेसन सूचकांकमा नेपाल १ सय २६ देशहरूमध्ये १०९औँ स्थानमा पर्छ । महासंघका अनुसार अहिले स्टार्टअप थालेका उद्यमीहरू २५ देखि ४० वर्षका युवाहरू रहेका छन्, जो विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गरी फर्किएका हुन् । स्टार्टअपको सुरुवात गरेका उद्यमीहरूका अनुसार नेपालमा पुँजीको सहज उपलब्धता, करको उच्चदर, स्टार्टअपमैत्री नीतिको अभाव, नियामक अवरोधहरू र नयाँ सुरुवात गर्न लाइसेन्सको समस्या मुख्य चुनौती रहेका छन् ।
५० लगानीकर्ता, ५० व्यवसाय
नयाँ सोचमा आधारित भएर उद्यम–व्यवसाय गरिरहेका इच्छुकहरूका लागि चैतको तेस्रो सातादेखि महासंघको वेबसाइटमार्फत अनलाइन आवेदन खुला गरिने समितिका सभापति आचार्यले बताए । आवेदन दिन चाहने स्टार्टअप उद्यम–व्यवसाय कम्तीमा एक वर्षदेखि सञ्चालनमा आएको र अडिट गरेको ब्यालेन्ससिट हुनुपर्छ । कृषि, उत्पादनमूलक, सूचना प्रविधिलगायत सबै क्षेत्रका लागि आवेदन खुला गरिएको उनले बताए । देशैभरिका स्टार्टअपहरू यस कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
अनलाइनमार्फत आवेदन दिएका स्टार्टअपमध्येबाट ५० वटा उत्कृष्ट स्टार्टअप उद्यम–व्यवसाय छनोट गरिनेछ । ५० स्टार्टअपको व्यावसायिक सफलताका लागि ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिने छ ।
आचार्यका अनुसार नवीनतम आइडियामा लगानी गर्नका लागि ५० लगानीकर्ता पनि छनोट भइसकेका छन् । जसमा महासंघका सदस्यदेखि अन्य प्रतिष्ठित उद्यमी–व्यवसायीहरू रहेका छन् । महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत छनोट भएका ५० स्टार्टअप उद्यमीलाई सम्भावित लगानीकर्तासँग भेट गराउनेछ । उनीहरूले लगानीकर्तासँग कसरी अगाडि बढ्ने भनेर आफैँ नेगोसेसन गर्न सक्नेछन् ।