अस्ट्रेलियाको न्यु साउथ वेल्समा लगातारको वर्षाका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । यस क्षेत्रमा बाढीमा फसेका १९ हजार नागरिकलाई सुरक्षित स्थानमा पुर्याइएको छ । सिड्नीलगायत दक्षिण–पूर्व क्विन्सल्यान्डका नदीको बहाव बढ्दा बाँधको जलस्तर खतरानजिक रहेको एजेन्सीहरूले जनाएका छन् ।
अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण घरविहीन बनेका र घर छाडेर गएका नागरिकलाई सरकारद्वारा आर्थिक सहयोग प्राप्त हुने घोषणा गरेका छन् । न्यु साउथ वेल्स राज्यमा लगातार मुसलधारे वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेको छ । सरकारले सुरक्षित रहन स्थानीयलाई घर छाड्न अनुरोध गरेको छ । यहाँको जनसंख्या साढे दुई करोड रहेको छ । न्यु साउथ वेल्सका प्रिमियर ग्लेडी बेरिजिक्लियनले बाढीले धेरै क्षति पुर्याए पनि नागरिक सुरक्षित रहेको जानकारी दिएका छन् ।
न्यु साउथ वेल्समा आपत्कालीन अवस्थामा सात सय ५० बचाउ अभियान सुरु गरेको उनको भनाइ छ । यो अभियानको मुख्य काम नै बाढीको चपेटामा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने हो । यसैबीच, अस्ट्रेलियाको मौसम विभागले देशका विभिन्न स्थानमा नौ सय मिमिसम्म वर्षा भएको जनाएको छ । ‘यो असाधारण वर्षा हो,’ विभागले भन्यो ।
अस्ट्रेलियन सरकारको मुख्य चिन्ताको विषय नै उत्तर र पश्चिम सिड्नीको तल्लो क्षेत्रमा पसेका नागरिकको उद्धार गर्नु नै हो । यसैगरी, मिडनर्थ क्षेत्रमा १५ हजार तथा सिड्नीमा तीन हजार व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याइएको बिबिसीले जनाएको छ । नदीको स्तर बढेका कारण धेरैजसो सडक क्षतिग्रस्त भएको छ । मध्य–उत्तर सिड्नीका एक सय ५० स्कुल वन्द भएका छन् ।
सिड्नीबाट १७ किलोमिटर टाढा रहेको विमानस्थलको रनवेमा पानी भरिएको छ । जसका कारण यहाँ कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । यसैबीच, स्लोलेन नदीको बहावले सडकका केही भागमा क्षति पु¥याएको छ । यहाँका दुई सय स्कुल बन्द भएका छन् । हास्वेस्वरी तथा नेपिएन नदीको बहाव पनि बढेको बिबिसीले उल्लेख गरेको छ । सिड्नीमा रहेको वारागम्बा ड्यामको जलस्तर पाँच वर्षपछि क्षमताभन्दा माथि पुगेको छ ।