भाडा वृद्धि नगरे सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीको धम्की
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि गर्दै लगेको छ । जसकारण बजारभाउमा चाप बढेको छ । चालू आर्थिक वर्षको ९ महिनामा निगमले ११ पटक मूल्य समायोजन गरिसकेको छ । जसमध्ये दुईपटक डिजेलको मात्र भाउ बढाएको छ भने अन्य समायोजनमा सबै पेट्रोलियमको मूल्यवृद्धि गरिएको छ । मंसिरयता भने इन्धनको मूल्यवृद्धि तीव्र रूपमा अघि बढेको छ । आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य बढेर आएको जनाउँदै निरन्तर मूल्यवृद्धि गरिरहेको हो । मंसिरयता मात्र पेट्रोल र डिजेलको मूल्य समान १० रुपैयाँ प्रतिलिटर बढेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको दाबी गरे ।
‘अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागिरहेको छ । हामीले खरिद गर्ने तेलको भाउ पनि बढेको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘हामीले किनेको दरमा ठूलो वृद्धि भइरहको छ । तर, नेपाली बजारमा सोहीअनुसार मूल्यवृद्धि नगरी उपभोक्तालाई सहज बनाइरहेका छौँ ।’
आयल निगमले पछिल्लो समय ३ चैतमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ बढाएको थियो । जसकारण काठमाडौं उपत्यकामा पेट्रोल १ सय १८, डिजेल तथा मट्टीतेलमा समान १ सय १ रुपैयाँ र आन्तरिक विमानले प्रयोग गर्ने हवाई इन्धन ७४ रुपैयाँ पुगेको छ ।
आइओसीबाट पछिल्लो समय प्रतिलिटर ४ रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेर आउने गरेको निगमको भनाइ छ । जसकारण सोही दरमा नेपाली बजारमा मूल्य नबढाउँदा आयल निगमले घाटा व्यापार गर्दै आएको तर्क निगमको छ । निगमले एक विज्ञप्तिमार्फत ३ चैतमा मूल्यवृद्धि गर्दासमेत त्यसपछिको १५ दिनसम्म सोही मूल्यमा इन्धन बिक्री गर्दा १ अर्ब २७ करोड ७० लाख रुपैयाँबराबरको नोक्सान हुने दाबी गरेको छ । अहिले मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलमा ९.३५ र डिजेलमा ५.८० रुपैयाँ प्रतिलिटर नोक्सान रहेको विज्ञप्तिमा उल्लेख छ ।
हवाई इन्धनको मूल्य निरन्तर वृद्धि
आयल निगमले हवाई इन्धन बिक्रीमा निरन्तर नाफा राख्दै आएको छ । पछिल्लो समय मूल्यमा चाप बढ्न थालेपछि निगमले हवाई इन्धनको समेत मूल्य बढाएको छ । आयल निगमले लामो समयसम्म प्रतिलिटर ६५ रुपैयाँमा बिक्री गरिरहेको हवाई इन्धन ४ फागुनमा २ रुपैयाँ बढाएर प्रतिलिटर ६७ रुपैयाँ कायम गरेको थियो ।
त्यसपछि हवाई इन्धनको मूल्य बढाउन थालिएको छ । त्यसपछि १७ फागुनमा आन्तरिक वायुसेवा कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य ५ रुपैयाँ बढाएर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीका लागि २५ डलर बढाएर ८ सय ९३ प्रतिकिलोलिटर कायम गरिएको थियो । मूल्य निरन्तर बढाउने क्रममा ३ चैतमा निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएर ७४ रुपैयाँ कायम गरेको छ ।
वैज्ञानिक भाडादर समायोजन गर्ने यातायातमन्त्रीको आश्वासन

दुई हप्ताभित्र सार्वजनिक सवारीसाधनको भाडा वृद्धि नगरे यातायात सेवा नै बन्द गर्ने व्यवसायीले चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी चैत तेस्रो हप्ताभित्र अनिवार्य भाडा समायोजन गर्न आग्रह गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘तोकिएको समयावधिभित्र भाडा समायोजन नभएमा बाध्य भई सम्पूर्ण सार्वजनिक सवारीका साधनलाई घर ग्यारेजमा थन्क्याउन बाध्य हुनेछाैँ,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने ।
व्यवसायीको चेतावनीपछि यातायातमन्त्री नेम्वाङले वैज्ञानिक भाडा समायोजन गर्ने आश्वासन दिएका छन् । ‘चैत ५ मा भएको भेटमा वैज्ञानिक भाडा समायोजनको फाइल अघि बढाउँछु भन्नुभयो,’ महासंघका अध्यक्ष कर्माचार्यले भने । मन्त्रीले यातायात व्यवस्था विभागका महानिर्देशकलाई बोलाएर वैज्ञानिक भाडा समायोजन प्रक्रियालाई अघि बढाउने तयारीमा रहेको मन्त्रालय स्रोतको भनाइ छ । ‘त्यसो हुनेबित्तिकै हामी यातायात सुचारु राख्छौँ,’ महासंघका अध्यक्ष कर्माचार्यले भने । वैज्ञानिक भाडा समायोजन नगरे सवारी ठप्प पार्नु बाध्यता भएको व्यवसायीहरूको भनाइ छ । ‘किस्ता तिर्न सक्ने अवस्था छैन, कर्मचारीलाई तलब खुवाउन सकिएको छैन, कोभिडको प्रभावले अझै असर गरिरहेको छ । यसकारण भाडा समायोजन गरेर मात्र यो क्षेत्र बच्छ,’ उनीहरूको भनाइ छ ।
व्यवसायीका अनुसार ०६९ देखि सरकारले सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन गरेको छैन । पछिल्लोपटक ७ असोज ०७५ मा सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरिएको थियो । त्यतिवेला पेट्रोलियम पदार्थको अंश ३५ प्रतिशतलाई आधार मानेर भाडा समायोजन भएको थियो ।
त्यसवेला सरकारले यातायात व्यवस्था विभागको प्राविधिक शाखाका निर्देशकको संयोजकत्वमा एक समिति गठन गरेर विस्तृत अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो । त्यसकै आधारमा २९ मंसिर ०७५ सम्ममा सार्वजनिक यातायात सेवाको वैज्ञानिक भाडादर समायोजन यातायात व्यवस्था विभागले गर्ने विभाग र यातायात व्यवसायीबीच सहमति भएको थियो । तर, प्राविधिक समितिले विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाएको छैन ।
१२ वर्षअघिको नीति कार्यान्वयन भएन
सरकारले पहिलोपटक १३ फागुन ०६५ मा वैज्ञानिक भाडादर कार्यान्वयनमा ल्याएको थियो । त्यसवेला सार्वजनिक सवारीसाधनको भाडादर कायम गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर कायम गर्ने व्यवस्था कायम गरेको हो । तर, ०६९ देखि पेट्रोलियम पदार्थलाई मात्र आधार मानेर भाडादर निर्धारण हुँदै आएको अध्यक्ष कर्माचार्यले बताए ।
पेट्रोलियम पदार्थबाहेक अन्य सूचकअन्तर्गत आर्थिक वर्षको सुरुमा बजारमा भएको मूल्य परिवर्तनलाई बजार सर्वेक्षण गरी प्राप्त प्रतिफललाई फर्मुलामा राखी भाडादर समायोजन गरिने भनिएको छ । अन्य सूचकहरूमा कर, मूल्य ह्रास, ब्याजदर, वार्षिक बिमा प्रिमियम, ब्याट्री, सवारीसाधनमा काम गर्ने स्टाफको तलब सुविधा, टायर, लुब्रिकेन्टलगायत छन् ।
२० वर्ष पुराना सवारीको यान्त्रिक जाँच
यातायात व्यवसायीले २० वर्ष कटेका सार्वजनिक सवारीसाधनलाई हटाउने सरकारको नीतिको विरोध गरेका छन् । उनीहरूले सवारीसाधनलाई उमेरका आधारमा हटाउन नहुने तर्क गरेका छन् । बरु, यान्त्रिक जाँच गरेर असफल देखिएमा मात्र हटाउनुपर्ने हाम्रो माग हो,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । भर्खरै विश्वव्यापी संक्रमणबाट तंग्रिदै गरेको अवस्थामा २० वर्ष पुगेका सवारीसाधन हटाउने हो भने ती सवारीसाधनमा रोजगारी र उनको परिवार कठिनाइमा पर्ने व्यवसायीहरूको तर्क छ । तर, सरकार पनि २० वर्ष कटेका सवारीसाधन हटाउने अडानमा छ ।
हवाई भाडा पुनः बढ्यो
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारबाट लागू हुने गरी हवाई भाडा वृद्धि गरेको जानकारी दिएको छ । निगमले ३ चैतबाट लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको थियो । हवाई इन्धनको मूल्य जेजति घटबढ हुन्छ, सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको संघले जनाएको छ ।
संघका अनुसार हवाई गन्तव्यमा साबिकको मूल्यमा सबैभन्दा बढी ९० रुपैयाँ र कम्तीमा छोटो दूरीमा ५ रुपैयाँ भाडा बढेको छ । काठमाडौं–धनगढी गन्तव्यमा ९० रुपैयाँ, काठमाडौं–भद्रपुरमा ६० रुपैयाँ भाडा बढेको छ भने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निगमले हालै मात्र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको थियो । बढेको इन्धन मूल्यअनुसारको भाडादरमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतिसमेत प्राप्त भएको संघले जनाएको छ ।