एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले पहिलो स्थान हात पारेका हुन् ।
दुवै खेलाडीले पहिलो संस्करणको उपाधि जितेका थिए । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीचन्द्रले निर्धारित दूरी ३१ मिनेट ४४ः४९ सेकेन्डमा पूरा गरेका थिए ।
गोपीले अघिल्लो संस्करणमा आफैँले बनाएको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका हुन् । नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरेका छन् । उपाधि रक्षा गरेका गोपीचन्द्रले ६० हजार पुरस्कार पनि पाएका छन् । यसैगरी, १३औँ सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३:४४ सेकेन्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार पुरस्कार पाइन् । सन्तोषीले पहिलो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन् । रेकर्ड भंग गरेकी सन्तोषीले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।
पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डका साथ दोस्रो भएका छन् । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । यस्तै, गजेन्द्र थापा चौथो र नरेन्द्र रावत पाँचौँ भए ।
महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेन्डमा दोस्रो भइन् । एपिएफकी फूलमती रानाले ४० मिनेट ५६.० सेकेन्ड निकाली तेस्रो स्थान रक्षा गरिन् । पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौँ स्थानमा रहेका छन् । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार र पाँचौँ हुनेले पाँच हजार पुरस्कार प्राप्त गरे ।
वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वार्टर, गौरीधारा, राजदरबार उत्तर–पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो ।
विजेता खेलाडीलाई पूर्व–उपप्रधानमन्त्री एवं कांग्रेसका नेता प्रकाशमान सिंह, गणेशमान सिंह स्पोर्टस् कमिटीका संयोजक सञ्जीव तुलाधर, उपसंयोजक सुनील श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।