४१ वर्ष भारतीय जेलमा राखिएका दुर्गाप्रसाद स्वदेश फर्किए

आइतबार, ८ चैत, २०७७
डिजिटल संस्करण

विनासुनुवाइ ४१ वर्ष भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलामको माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश आएका छन् । उनले ४१ वर्षपछि जन्मभूमि टेकेका हुन् । अहिले उनी पूर्वीनाका काँकडभिट्टा आइपुगेका छन् । 

कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधारगृह)मा रहेका तिम्सिना जेलमुक्त भएसँगै उनी नेपाल फर्किएका हुन् । उनलाई लिन भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत भारत पुगेका थिए । 

उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । 

उनी धेरै बोल्दैनन् । तर, छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया दिए । जेलबाट निस्कँदा बोल्दै नबोलेका उनी अहिले मलिन स्वरमा सोधिएका जवाफ दिन थालेका छन् । उनले पुराना भाकाको ‘रेशम फिरिरी...’ गीत बारम्बार गुनगुनाइरहन्छन् ।

यो पनि पढ्नुहोस् : २० वर्षमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षको उमेरमा खुला आकाशमा

सुझावित समाचार