नेपाल सुपर लिग : आठ खेलाडीलाई सर्वाधिक बोली

शनिबार, ७ चैत, २०७७
डिजिटल संस्करण

सुजल श्रेष्ठ, विशाल सुनुवार, विकास खवास, दिनेश राजवंशी, तेज तामाङ, एरिक विष्ट र दीप कार्की सर्वाधिक मूल्यमा बिक्री भएका हुन् ।

पहिलोपटक आयोजना हुन लागेको नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा आठ खेलाडी सर्वाधिक रकममा अनुबन्ध भएका छन् । सुजल श्रेष्ठ, विशाल सुनुवार, विकास खवास, दिनेश राजवंशी, तेज तामाङ, एरिक विष्ट र दीप कार्की सर्वाधिक मूल्यमा बिक्री भएका हुन् । यी आठै खेलाडीले ए क्याटागोरीका लागि तोकिएको सर्वाधिक दुई लाख रकम प्राप्त गरेका छन् । सबै खेलाडीलाई एकभन्दा बढी टोलीले दाबी गरेपछि गोलाप्रथा गरिएको थियो ।

पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी तथा १३औँ सागमा नेपालले स्वर्ण जित्दाका कप्तान सुजललाई चार टोलीको दाबी थियो । गोलाप्रथामा पोखरा थन्डर भाग्यमानी देखियो । उनले आफ्नो पूर्वक्लब मनाङ मस्र्याङ्दीका पूर्वअध्यक्ष जाम्लिङ घलेको स्वामित्वमा रहेको पोखराबाट एनएसएल खेल्नेछन् । अक्सनमा सबैभन्दा बढी दाबी तेजका लागि लागेको थियो । उनका लागि ६ टोली सर्वाधिक रकम तिर्न तयार भएका थिए । 

गोलप्रथामार्फत उनी काठमाडौं रेजर्स एफसीसँग अनुबन्ध हुन पुगे । त्रिभुवन आर्मी क्लबका रक्षक विकास खवासमाथि चार टोली सर्वाधिक रकम तिर्न तयार देखिएका थिए । उनी गोलाप्रथाबाट एफसी चितवनमा पुगे । गोलरक्षकद्वय दीप र विशाललाई तीन–तीन टोलीको दाबी थियो । गोलप्रथाबाट दीप पोखरा र विशाल चितवन पुगेका छन् । सुनील र दिनेशलाई दुई–दुई टोलीले दाबी गरेका थिए । गोलाप्रथामा सुनील विराटनगर सिटी एफसी र निदेश धनगढी एफसीमा पुगेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोग तथा नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको एनएसएल ११ वैशाखदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगितामा विभिन्न सात टोलीले सहभागिता जनाउँदै छन् । यी सबै टोलीले प्रतियोगिताका लागि शुक्रबार अक्सनमार्फत १४–१४ खेलाडी अनुबन्ध गरेका छन् । 

अक्सनअघि खेलाडीको स्तरअनुसार ए, बी र सी क्याटागोरीमा वर्गीकरण गरिएको थियो । यी तीनवटै क्याटागोरीमा गरी अक्सनमा एक सय ४९ जना खेलाडी सहभागी थिए । त्यसमध्ये ९८ जना खेलाडी मात्रै बिक्री भएका छन् । अक्सनमा सहभागीमध्ये सी क्याटागोरीका खेलाडीको आधार मूल्य २० हजार र सर्वाधिक मूल्य ७५ हजार तोकिएको थियो । यस्तै, बी क्याटागोरीका खेलाडीको आधार मूल्य ५० हजार र अधिकतम एक लाख २० हजार तथा ए क्याटागोरीका खेलाडीको आधार मूल्य एक लाख र अधिकतम दुई लाख राखिएको थियो । 

बी क्याटागोरीबाट १७ खेलाडीका लागि सर्वाधिक बोली लागेको छ । त्यसमध्ये ललितपुर एफसी भाग्यमानी ठहरियो । उसले गोलाप्रथाबाट बी क्याटागोरीका आफूले चाहेको चार खेलाडी अनुबन्ध गर्न सफल रह्यो । कल्याण गुरुङको स्वामित्वमा रहेको ललितपुरले कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्चेन तामाङ र विमल रानालाई गोलाप्रथामा जित्न सफल भएको छ । त्यसपछि पोखरा थन्डर्स र धनगढी एफसीले गोला प्रथामार्फत बी क्याटेगोरीका तीन–तीन खेलाडीलाई अनुबन्ध गर्न सफल भएको छ । 

पोखराले दीपक गुरुङ, नितिन थापा र राजेश परिवार तथा धनगढीले रुपेश केसी, विवेक बस्नेत र पुजन उपरकोटीलाई गोलाप्रथामा अनुबन्ध गरेको हो । बाँकी तीन टोलीले गोलाप्रथामार्फत दुई–दुई र एक टोलीले एकजना खेलाडीलाई गोलाप्रथामार्फत अनुबन्ध गरेको छ । विराटनगरले विजय धिमाल र हेम तामाङ, बुटवल लुम्बिनी एफसीले रविन श्रेष्ठ र अमिर श्रेष्ठ तथा चितवन एफसीले कुलदीप कार्की र टेक बुढाथोकीलाई गोलाप्रथामार्फत अनुबन्ध गरेको छ । काठमाडौंले विश्वास श्रेष्ठलाई अनुबन्ध गर्न तोकिएको सर्वाधिक रकम तिरेर पनि गोलाप्रथामा भाग्य खोज्नुपर्‍यो । 

सी क्याटागोरीतर्फ १० खेलाडीका लागि सर्वाधिक बोली लाग्यो । त्यसमा चार टोलीले दुई–दुई खेलाडीलाई गोलाप्रथामार्फत अनुबन्ध गर्न सफल भएका छन् । विराटनगरले विक्रम धिमाल र सूर्य अधिकारी, चितवनले मनीष थापा र रुपबहादुर लामा, धनगढीले युद्ध शाही र अशोक खवास तथा ललितपुरले निरोज बस्नेत र गौरव बुढाथोकीलाई गोलाप्रथामार्फत अनुबन्ध गरेको छ । काठमाडौंले विमल पाण्डे र पोखराले गौतम श्रेष्ठलाई गोलाप्रथामा अनुबन्ध गरेको छ । 

See More On

सुझावित समाचार