सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा बिहीबार राति आगलागी हुँदा २० वटा गाई जलेर मरेका छन् भने १० वटा घाइते छन् । आगलागीपछि ३० वटा गाई हराइरहेका छन् ।
यस गाउँपालिकाको वडा नम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा फार्मको घरसहित गाईलाई खुवाउने अन्नपातसमेत जलेर नस्ट हुँदा ५० लाखभन्दा बढीको क्षति भएको फार्मका सञ्चालक मनोजकुमार साहको भनाइ छ ।
साहले ५० लाखभन्दा बढीको क्षति भएकाे दाबी गरे पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले ३१ लाखबराबरको क्षति भएको अनुमान गरेकाे छ । आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।