‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ताको सक्रियता बढ्यो
अघिल्लो दुई सातादेखि लगातार घट्दै आएको सेयर बजारसूचक नेप्से मंगलबारबाट झिनो अंकले बढ्न थालेसँगै बुधबार र बिहीबार भने दोहोरो अंकले वृद्धि भएको छ । २ हजार ३ सय ७० को बिन्दुबाट टेवा पाएर बजार उकालो लाग्न थालेको हो ।
४० अंकले लगातार दुई दिन बजार उकालो लागेसँगै ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ताको सक्रियतामा समेत वृद्धि भएको छ । यही कारण बिहीबार कारोबार रकम बढेर ४ अर्ब ६६ करोड पुगेको छ । अघिल्ला दिनहरूमा कारोबार रकम ३ अर्बभन्दा केही बढीमा सीमित भइरहेको थियो ।
वैशाखबाट कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने र चैत अन्त्यबाटै सेयर महँगिन थाल्ने अपेक्षाले लगानीकर्ताले खरिददारी बढाएको देखिन्छ । बैंकहरूमा अधिक तरलतामा कमी आएसँगै ब्याजदर उच्च बढ्ने अनुमानविपरीत सामान्य मात्र हेरफेर भएका कारण बजारमा सुधार आउन थालेको नेपाल इभेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको दाबी छ । आर्थिक वर्षको अन्त्य हुँदै गर्दा सरकारको विकास खर्च बढ्न थाल्ने र यसले बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिने अपेक्षामा लगानीकर्तासमेत रहेको रौनियार बताउँछन् । लगानीकर्ता संरक्षणमा चौधरी भने यसलाई ‘सिजनल करेक्सन’ मानिन्छन् । उनी करेक्सन सकिएसँगै ठूला लगानीकर्ता सक्रिय हुँदा बजार पुनः वृद्धिको बाटोमा देखिएको दाबी गर्छन् ।
बिहीबार नेप्से परिसूचक ४२ दशमलव ९५ अंक अर्थात् १ दशमलव ७७ प्रतिशतले बढेर २ हजार ४ सय बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको सेयरको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १ दशमलव २६ प्रतिशतले बढेर ४ सय ४४ बिन्दुमा पुगेको छ ।
बिहीबार कारोबारमा आएका १३ समूहमध्ये टेड्रिङ समूह मात्रै घटेको छ । यो समूहमा १ दशमलव ०६ प्रतिशतले गिरावट आएको हो । होटेल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ४ दशमलव १ प्रतिशतले बढेको छ ।
२ सय १३ किसिमका धितोपत्र र ऋणपत्र कारोबारमा आउँदा १ करोड १६ लाख कित्ता–इकाइ किनबेच भएको छ । कारोबारमा आएकामध्ये युनाइडेट इदी मर्दी, आरबी हाइड्रोपावर लिमिटेड र ग्रिनलाइफ हाइड्रो पावरको १० प्रतिशतले मूल्य बढेर सर्किट लागेको छ । चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको समेत करिब १० प्रतिशतले मूल्य बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल बंगलादेश बैंक छ । सो दिन बैंकको ७७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । मर्जर हल्लाका कारण बैंकको कारोबारमा वृद्धि भएको ब्रोकरहरूले बताएका छन् ।