बुद्ध एयरले जनवरीमा ६ हजार २ सय उडानमार्फत ५६.१२ प्रतिशत हिस्सा ओगटेको छ । यही समयमा यती एयरलाइन्सको बजार हिस्सा २१.३०, श्री एयरलाइन्सको १६.४३, सौर्य एयरलाइन्सको ३.३४ प्रतिशत रहेको छ ।
विगतमा आन्तरिक उडानमा बर्चस्व रहेको यती एयरलाइन्सले पुराना जहाज र व्यवस्थापनको लापर्बाहीका कारण आफ्नो बजार हिस्सा गुमाउन थालेको छ । बुद्ध एयरले आन्तरिक उडानमा कोभिड–१९ पछि अझ राम्रो बजार बढाइरहेको छ । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण सात महिना ठप्प भएको आन्तरिक उडानले पछिल्लो समय लयमा फर्किन थाले पनि यती एयरलाइन्सका लागि भने राम्रो हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरी र फेब्रुअरी महिनामा मात्रै आन्तरिकतर्फ ११ हजार ४ सय ९६ वटा उडान÷अवतरण भएका छन् । जनवरीमा मात्रै ५ हजार २८० उडानमार्फत २ लाख २९ हजार ३ सय ८२ जना यात्रुले आन्तरिक हवाई सेवा लिएका छन् । त्यसमध्ये बुद्ध एयरले कुल १ लाख २६ हजार ३ सय यात्रुलाई सेवा दिएको छ । यो कुल यात्रुसंख्याको ५४.९३ प्रतिशत हो । यो अवधिमा यती एयरलाइन्सको भने २२.६० प्रतिशत मात्रै यात्रुलाई सेवा दिएको तथ्यांक छ । यतीले जनवरीमा ५१ हजार ८ सय ५५ यात्रुलाई सेवा दिएको छ । त्यस्तै, श्री एयरलाइन्सले ४० हजार ५ सय ६६ यात्रुलाई सेवा दिँदै बजार हिस्सा १७.६८ प्रतिशत पुर्याएको छ ।

यसैगरी, सौर्यले पनि जनवरीमा ५ हजार ७ सय ३१ जनालाई आन्तरिक उडानमा सेवा दिएको छ । उसको बजार हिस्सा यात्रुका आधारमा २.४९ प्रतिशत हो । त्यस्तै, विमानस्थलमार्फत फेब्रुअरी महिनामा ६ हजार २ सय १६ उडानमार्फत २ लाख ८६ हजार ४ सय ४८ जना यात्रुले आन्तरिक हवाईयात्रा गरेका छन् ।
बुद्धले फेब्रुअरीमा आफ्नो बजार हिस्सा बढाएर ५६.१२ प्रतिशत पुर्याएको छ । सो महिना बुद्धले १ लाख ६० हजार ७ सय ६८ यात्रुलाई सेवा दिएको थियो । यती र श्रीको बजार हिस्सा भने जनवरीको तुलनामा घटेको तथ्यांक छ । यतीले फेब्रुअरीमा ६१ हजार १५ यात्रुलाई सेवा दिएर बजार हिस्सा २१.३० मा खुम्चिएको छ । यसैगरी, जनवरीको तुलनामा श्रीको पनि फेब्रुअरीमा बजार हिस्सा घटेर १६ दशमलव ४३ प्रतिशतमा आएको छ । फेब्रुअरीमा श्रीले ४७ हजार ७४ यात्रुलाई सेवा दिएको छ ।
सौर्य एयरलाइन्सको बजार हिस्सा भने जनवरीको तुलनामा केही बढेको छ । जनवरीमा २.४९ प्रतिशत बजार हिस्सा रहेको सौर्यले फेब्रुअरीमा बढाएर ३.३४ प्रतिशत पुर्याएको छ । सौर्यले ९ हजार ५ सय ७५ फेब्रुअरीमा सेवा दिएको छ । आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, तारा, सीता, समिट र नेपाल एयरलाइन्सले फिक्स विङ सेवा दिँदै आएका छन् भने अन्य कम्पनीले हेलिकोप्टर सेवा दिँदै आएका छन् ।
यती एयरलाइन्सले १० वटा गन्तव्यमा ७ वटा जहाजमार्फत उडान गर्दै आएको छ । बुद्धले १४ वटा जहाजमार्फत १४ गन्तव्यमा उडान गरिरहेको छ । श्री एयरलाइन्सले ६ वटा जहाजमार्फत उडान गर्दै आएको छ । आन्तरिक उडान नेपाल वायुसेवा निगमको भने नगण्य हिस्सा रहेको छ ।