माओवादीबाट दलको नेतामा प्रचण्ड चयन

बुधबार, ४ चैत, २०७७
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रचण्डलाई दलको नेता, देव गुरुङलाई प्रमुख सचेतक र दीनानाथ शर्मालाई राष्ट्रिय सभाको दलको नेता चयन गरेको हो । 

प्रचण्ड तीन महिनाको अवधिमा तीनपटक दलको नेता बनेका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–माधव समूहले पुस ८ गते प्रचण्डलाई दलको नेता चयन गरेको थियो । तर, माघ ११ गते निर्वाचन आयोगले मान्यता नदिएपछि फागुन २१ गते पुनः प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई दलको नेता चयन ग¥यो । फागुन २३ गते सर्वाेच्च अदालतले साबिकको एमाले र माओवादी रहने गरी फैसला गरिदिएपछि प्रचण्ड नेकपाको तर्फबाट दलको नेता रहेनन् । त्यसपछि माओवादीले पुनः प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।

दलको बैठकपछि वर्षमान पुनले पत्रकारहरूसँग कुरा गर्दै सरकारलाई दिएको समर्थन हतारमा फिर्ता नलिने बताए । प्रधानमन्त्री ओलीलाई राजीनामा दिन अनुरोध गर्ने पनि दलको बैठकले निर्णय गरेको छ । पुनले भने, ‘हाम्रो आजको दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रूपले राजीनामा दिनुस् किनभने तपाईंले प्रतिनिधिसभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि÷निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ । हतारमा हामी अहिले समर्थन फिर्ताको निर्णयमा छैनौँ ।’ 

माओवादीबाट एमालेमा गएकाहरूलाई पनि तत्काल कारबाही गर्ने सोच नभएको पुनको भनाइ थियो । ‘उहाँहरूलाई वास्तविकता के हो, स्पष्ट गर्नुस् भनेर हामीले पत्राचार गर्ने निर्णय गरेका छौँ । फर्किनुभएन भने स्वतः राजनीतिक दलसम्बन्धी ऐनले दल सदस्य अन्त्य हुने व्यवस्था गरेको छ,’ उनले भने, ‘आजै मात्रै पार्टीको स्थायी कमिटीले उहाँहरूसँग अन्तिमपटक छलफल गर्नका लागि नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मसहितको तीनजना कमिटी बनाएको छ । उहाँहरूसँग हामीले एकपटक फेस टु फेस पनि कुरा गर्छौँ ।’

५ गतेपछि कांग्रेस, जसपा र माओवादीको गठबन्धन बन्ने पुनले बताए । ‘५ गते जसपाको बैठक छ । उहाँहरूको त्यो बैठकपछि यो सत्तासमीकरणले मूर्तरूप पाउँछ । माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादीबीचमा गठबन्धन बन्छ,’ उनले थपे, ‘किन बन्छ भने हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद् पुनस्र्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

See More On

सुझावित समाचार