लोकसेवा आयोग चैत दोस्रो साता पदाधिकारीविहीन हुने भएपछि सामान्य प्रशासन मन्त्रालय बढुवामा केन्द्रित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी बढुवा सिफारिसमा केन्द्रित भएको छ । लोकसेवा आयोग पदाधिकारीविहीन भएमा बढुवा, नयाँ विज्ञापन, परीक्षा, नतिजा प्रकाशनका काम ठप्प हुने भएपछि मन्त्रालयले १० चैतअघि नै बढुवा सिफारिसको काम सक्ने गरी काम थालेको हो ।
मन्त्रालयको बढुवा सिफारिस समितिले विभिन्न सेवा समूहमा सहसचिव, उपसचिव र शाखा अधिकृतमा बढुवा सिफारिसको काम गरिरहेको छ । उपसचिवमा बढुवाका लागि तीन सय १० जनाले दरखास्त दिएकामा दुई सय ६१ उम्मेदवार कायम भएका थिए । तीमध्ये एक सय २६ जना बढुवाका लागि सिफारिस भइसकेका छन् । समितिले २३ फागुनयता मात्र उपसचिवमा बढुवा सिफारिस थालेको हो ।
‘उपसचिवमा बढुवा सिफारिसको काम लगभग सकियो, आयोग पदाधिकारीविहीन हुन लागेकाले चाँडोचाँडो सक्नुपर्ने अवस्था छ,’ कर्मचारी प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलले भने । यो वर्ष आन्तरिकतर्फ बढुवाका लागि लोकसेवा आयोगले उपसचिव र सहसचिवमा दुई सय ९६ सिटका लागि विज्ञापन गरेको थियो ।
शाखा अधिकृतमा बढुवा सिफारिसको तयारी
समितिले शाखा अधिकृतमा बढुवा सिफारिसको तयारी थालेको छ । मन्त्रालयले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन, भौगोलिक, शैक्षिक योग्यता र कार्यक्षमता समावेश गरेर आवेदन आह्वान गरिसकेकामा अब बढुवा तयारी थालेको हो । यो वर्ष शाखा अधिकृतमा बढ्वाका लागि चार सय २७ सिट छ ।
अचेल हरेक दिनजसो बढुवा समितिको बैठक बस्ने गरेको छ । २३, २८, २९ फागुन र १ चैतमा बढुवा समितिको बैठक बसेको थियो । लोकसेवा आयोगका सदस्यको अध्यक्षतामा बढुवा समितिको बैठक बस्छ । सहसचिव बढुवा समितिमा मुख्यसचिव पनि सदस्य रहन्छन् । शाखा अधिकृत र उपसचिवको नियुक्ति मन्त्रालयबाट हुने भए पनि सहसचिवको मन्त्रिपरिषद्बाट हुन्छ ।
उपसचिवमा बढुवा लगभग सकिए पनि सहसचिवमा बढुवा सिफारिसको काम बाँकी नै छ । यसअघि दुईजना मात्र सिफारिस भएका थिए । महाशाखा प्रमुख पोखरेलका अनुसार अदालतमा मुद्दा परेका कारण सहसचिव बढुवामा केही ढिलाइ भएको हो । लोकसेवाले यसअघि परराष्ट्रतर्फ पाँच सहसचिव बढुवाका लागि विज्ञापन गरेकामा सर्वाेच्च अदालतमा मुद्दा परेको थियो ।
सर्वोच्चले कर्मचारीको दाबी सदर गरेपछि लोकसेवाले सहसचिवसरह राजपत्रांकित प्रथमका पाँच पद र उपसचिवसरह द्वितीय श्रेणीको तीन पदमा बढुवा गर्ने विज्ञापन रद्द गरेको थियो । यससँगै आयोगले नयाँ विज्ञापन आह्वान गरिसकेको छ । जसअनुसार सहसचिवमा सात र उपसचिवमा ६ सिटका लागि विज्ञापन आह्वान गरेसँगै संघीय मामिलाले काम अगाडि बढाएको छ ।
यसबाहेक अन्य मुद्दामा भएका फैसलाका आधारमा पनि बढुवा प्रक्रिया अगाडि बढाइएको पोखरेलले बताए । नायब सुब्बा तहसम्मको बढुवा भने जिल्ला प्रशासन कार्यालयमातहत रहेको बढुवा समितिले गर्छ ।